डोल्पा : डोल्पाको मुड्केचुलामा अध्यक्ष कप खेलकुद प्रतियोगिताको उद्घाटन गरिएको छ । सोमबार नयाँ वर्षको अवसर पारेर गाउँपालिकाको आयोजना तथा खेलकुद विकास समितिको व्यवस्थापनमा आयोजित अध्यक्ष कप खेलकुद प्रतियोगिताको उद्घाटन गरिएको हो । गाउँपालिकाका उपाध्यक्ष दुदा रोकायाको प्रमुख आतिथ्यता तथा प्रमुख प्रशासकीय अधिकृत रेशम महताराको सभाध्यक्षतामा प्रतियोगिता उद्घाटन गरिएको गाउँपालिकाका अध्यक्ष दत्त बहादुर शाहीले जानकारी दिए ।
आफू काम विशेषले प्रतियोगिताको उद्घाटनमा उपस्थित हुन नपाएको बताउँदै सम्पूर्ण खेलाडीहरुलाई अनुशासनमा रही अध्यक्ष कप खेलकुद प्रतियोगिता भव्य रूपमा सफल पार्नको लागि मद्दत गरिदिन अध्यक्ष शाहीले आग्रह गरेका छन् ।
कार्यक्रममा गाउँपालिकाका शिक्षा शाखा प्रमुख टिकाराम आचार्यले स्वागत मन्तव्य राख्दै खेल अनुशासनमा रहेर खेल्न सहभागी खेलाडीहरूलाई आग्रह गर्नुका साथै प्रतियोगितामा भाग लिने सबै टोलीलाई सफलताको शुभकामना दिएका थिए ।
उद्घाटनको दिन नयाँ वर्ष परेको हुँदा खेलाडीहरू टाढा-टाढा रहेका कारण भोलिदेखि औपचारिक रुपमा खेलहरु खेलाइने प्रमुख प्रशासकीय अधिकृत महताराले जानकारी दिए ।
गाउँपालिकाको आयोजनामा हुने अध्यक्ष कप खेलकुद प्रतियोगितामा खुला वडास्तरीय पुरुष भलिबल, खुला ब्याडमिन्टन एकल र खुला ब्याडमिन्टन डबल, वडा स्तरीय फुटबल प्रतियोगिताका खेलहरु खेलाइने छ ।
प्रतियोगितामा पुरुष भलिबलतर्फ प्रथम स्थान हासिल हुने टिमले नगद रु. एक लाख, द्वितीय हुने टिमले नगद रु. ५० हजारसँगै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । दुवै खेलका विधामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरुलाई समेत पुरस्कारको व्यवस्था गरिएको छ ।
त्यस्तै खुला ब्याडमिन्टन एकलतर्फ प्रथम हुनेले २० हजार, द्वितीय हुनेले दश हजारसँगै ट्रफी, खुला ब्याडमिन्टन डबलतर्फ प्रथम हुनेले नगद रु. ५० हजार द्वितीय हुनेले नगद रु. २५ हजारसँगै ट्रफी, मेडल र प्रमाणपत्र, वडा स्तरीय फुटबल प्रतियोगितामा प्रथम हुनेले नगद रु. ४० हजार, द्वितीय हुनेले नगद रु. २० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक गाउँपालिकाले जानकारी दिएको छ ।