काठमाडौं : नेपाल वैदेशिक रोजगार व्यवसायी संघको नवनिर्वाचित कार्यसमितिले पदबहाली गरेको छ । नयाँ वर्ष २०८२ को पहिलो दिन १ वैशाख सोमबार संघका निवर्तमान अध्यक्ष राजेन्द्र भण्डारीले नवनिर्वाचित अध्यक्ष भुवनसिंह गुरुङलाई संघको निर्णय पुस्तिका हस्तान्तरण गरे ।
गत २९ चैतमा सम्पन्न संघको साधारणसभाले गुरुङ म्यानेजमेन्ट प्रा. लि.का संचालक भुवनसिंह गुरुङलाई संघको अध्यक्षमा निर्वाचित गरेको थियो । उनले निर्वाचनमा खसेको ८१३ मध्ये ४२८ मत प्राप्त गरेका थिए ।
गुरुङ संघको पूर्वद्वितीय उपाध्यक्ष भइसकेका व्यवसायी हुन् । उनले आगामी २ वर्ष संघलाई नेतृत्व प्रदान गर्ने छन् ।
पदबहालीपछि अध्यक्ष गुरुङको अध्यक्षतामा संघ कार्यसमितिको पहिलो बैठक पनि बसेको छ । बैठकले संघको कार्यसमितिको निर्वाचनका लागि उत्साहजनक रूपमा सहभागी भई मतदान गरेको भन्दै मतदाता र सफलतापूर्वक निर्वाचन सम्पन्न गराएको भन्दै निवर्तमान कार्यसमितिलाई आभार तथा धन्यवाद व्यक्त गर्ने निर्णय गरेको महासचिव महेशकुमार बस्नेतले जानकारी दिए ।
संघका नवनिर्वाचित अध्यक्ष गुरुङले वैदेशिक रोजगार ऐन तथा नियमावलीमा परिवर्तन र सेवा शुल्क परिमार्जन जस्ता दीर्घकालीन सुधारका कामहरू भए पनि तत्कालका लागि व्यवसायीको इजाजत नवीकरणसँग प्रत्यक्ष जोडिएको संख्या सय समस्याको समाधान आफ्नो पहिलो प्राथमिकतामा रहेको बताएका छन् ।
उनले निर्वाचनको प्रतिस्पर्धालाई बिर्सेर संघले सबै व्यवसायीलाई अभिभावकत्व प्रदान गर्ने प्रतिबद्धता पनि जनाएका छन् ।
पदबहाली कार्यक्रममा प्रथम उपाध्यक्ष सुजितकुमार श्रेष्ठ, द्वितीय उपाध्यक्ष देवकुमार खोखाली, तृतीय उपाध्यक्ष बैकुण्ठप्रसाद पौडेल, महासचिव महेशकुमार बस्नेत, सचिव कुन्छा दोर्जे डिमडोङ र कोषाध्यक्ष धनमाया सिँजाली तथा कार्यसमिति सदस्यहरू रेखा शर्मा, कृष्ण ढकाल, भरत सापकोटा, रामकाजी भोलान, सुवर्ण लामा, हिमा गुरुङ, रमा खड्का, देवीप्रसाद गिरी, सुमनराज पाण्डे र विद्यालक्ष्मी बज्राचार्यको उपस्थिति थियो ।