– अच्युतप्रसाद पौडेल ‘चिन्तन’
संसारको निर्माण पन्च तत्वबाट भएको हो– माटो, पानी, वायु, शब्द र आकाश । मानव शरीर निर्माणको क्रम पनि यही हो । पृथ्वीमा धेरै देशहरू छन् । हाम्रो देशको इतिहास लामो छ । कलिको नेतृत्व पाएको पनि यो वर्ष २०८२ आरम्भ भएसँगै ५ हजार १२६ वर्ष भइसकेको छ । त्यसो त पृथ्वीको उदय भएको भनौँ सृष्टि सुरू भएको १ अर्ब ९५ करोड, ५८ लाख, ८५ हजार १ सय २६ वर्ष व्यतीत भइसकेको छ ।
गत वर्षको ग्रह मण्डलका राजा मंगल र मन्त्री शनि थिए, देशमा भारी संकट आयो, मानौँ उथलपुथल नै भयो । प्रकृतिले धेरै बगायो र मान्छेहरू पनि अप्रत्याशित रूपमा कोही हतकडीमा परे भने कोही लामो जेल जीवनमा । शासक र जनताबिचको दूरी आकाश र पाताल समान रह्यो । मंगल र शनि आफैँमा क्रूर र कष्टकर ग्रह रहेका थिए । हामीसँग भित्रिइरहेको २०८२ साल विगतभन्दा सौम्य होला, कामना गरौँ । सौर्य मण्डलका राजा सूर्य र मन्त्री चन्द्र छन् ।
हाम्रो नेतृत्व वाक्युद्धमा छ, विकसित देशहरू व्यापार युद्धमा छन् । ट्रम्पको उदयले संसारै हतासिएको छ । चीनलाई समेत करिब १५० प्रतिशत भन्सारको आँट गर्ने अमेरिकाले आप्रवास नीतिमा कठोर भएको छ । धमाधम आप्रवासीहरू लखेट्ने काम गरिरहेको छ । अब मुद्दा गएर आदेश भएपछि मात्रै आप्रवासी हटाइने कुरा पनि आएको छ । यतिसम्म भयो कि भारतीय र नेपालीलाई खुट्टामा चेन र हातमा हतकडीमा पनि फिर्ता गराइयो ।
लाजै नमानी अर्काको देश छिर्ने र आफ्नो देशलाई माया नगर्ने अनि कसरी देशको समृद्धि हुन्छ, कुरो ठिकै पनि हो । तर, हामीकहाँबाट निर्यात भएको जनशक्ति खान, लाउन नपाएर पनि हो । अब खाडीलगायतका अरू देशले ट्रम्पकै नीति लिएर नेपालीहरू सबै डिपोर्ट गर्छु भन्यो भने ती घरको न घाटको हुनेवाला छन् । नेतृत्व सत्ता मोहमा लाग्यो । युवा शक्तिलाई देशमा राख्नै चाहेन । कामै दिएन उसले । आफन्तलाई मात्रै रोजगारी दिने लोकतन्त्र र गणतन्त्रको आनीबानी सबै नेपालीहरूले अहिले चाल पाएर यसप्रति निर्मम प्रहार गर्न थालेका हुन् । सम्भवतः यही हिसाबले यहाँको संघीयता, लोकतन्त्र र गणतन्त्र लामो समय नजाला भन्ने देखिन्छ । सबै संरचनामा आमूल परिवर्तन खोजेको छ देशले ।
तर, देश हाँकेको राम्रो भएन भनेर उठेका माथि निर्मम प्रहार भएको छ । यी सबै गाडी चलाउन नजान्ने तर, चालक बन्न खोज्ने भनेर नयाँ वर्षकै सन्दर्भमा नेतृत्वले वाक वाणी प्रहार गरेको छ । हुन पनि बालेन्द्र साह ‘वालेन’, रवि लामिछाने, हर्क साम्पाङ र गोपाल हमाल जस्ता पात्र असफल बनाइएका छन् । यहाँ कुलमान घिसिङ पनि असफल भएका छन् । अन्य असफल र कसिङ्गर बन्नु सामान्य कुरा हो । बेलैमा तह नलगाए २०८४ आउन कठिन हुने पक्का पक्की सम्झिसकेको छ हालको नेतृत्वले । बालुवाटार, खुमल्टार, बालकोट वा बुढानीलकण्ठ जहाँ लोकतन्त्र बसेको छ, तिनका लागि यी पात्रहरू कच्चा छन्, नयाँ छन् ।
लोकतन्त्रमा नजरबन्द, हतकडी र निषेधाज्ञा सर्वत्र अचम्मको छ हाम्रो देशमा । विद्यालयका शिक्षकहरू अब थापाथलीमा भजन कीर्तन र नृत्यमा छन्, त्यहाँ पनि अलिक बल प्रयोग हुने हो भने निषेधित क्षेत्र भइहाल्छ । टुँडिखेल निषेधित गरेको थिएन पहिलेको व्यवस्थाले, अहिले नयाँ व्यवस्थामा पुरानै होइन झन् बिग्रेको अवस्था छ । कोसँग गुहार माग्ने, न शैक्षिक विधेयक देशमा उडेर आउँछ, न निजामती विधेयक, न गुडेर लोकतन्त्र वा गणतन्त्र राजमार्गतिर वा काठमाडौं बाहिर जान्छ । त्यहाँको अवस्था कति दयनीय छ, उसले देख्दैन । धारामा पानी नआउँदा वा अघोषित लोडसेडिङ दिनमा १२ पल्ट बत्ती आउने जाने गर्दा सेवाग्राहीको उपभोक्ता संरक्षण ऐनले कामै गरेको छैन । अब उपभोक्ता अदालत पनि आयो देशमा कानुनको कुनै अभाव छैन तर, लोकतन्त्रले सही कार्यान्वयनको बाटो खोज्दैन । जलवायु संकट, प्रदूषणको संकट, भारी ऋण र व्यापार घाटाको संकट, युवा पलायन नरोक्ने संकट हाम्रो लोकतन्त्रको आदर्श भएको छ ।
कोही सडकमा आउँदा हजारौँ हजारको स्वागत भीड छ, कोही सडकमा आउँदा दर्जनौँ पहरेदार, सुरक्षाकर्मी लिएर आउँदा पनि ढुङ्गा खाने डर छ, देशमा किन होला ? सत्ताको मोह, आफन्तको प्रवेश, काण्डहरूको ढाकछोप, सुशासनको पूर्णतः अभाव, पारदर्शिता र जिम्मेवारी बोधको अभाव र पारिवारिक लोकतन्त्रमा हुने कथा र व्यथा यस्तै हो । उत्पादन नहुने, सबै वस्तु आयात र श्रम निर्यात गरेर त्यसको रकमले यहाँ सुविधा लिने गर्नाले र देशलाई मोहियानी हक सरह सुरक्षित गरिरहनेले नेतृत्वबाट जनता निराश छन् । सत्ययुगमा हिरण्यकश्यपले संसार मेरो भनेका थिए, त्रेतामा रावणहरूले र द्वापरमा कंस, दुर्योधनहरूले । सत्य युगमा देव दानव अलगै बस्थे । देवता स्वर्गमा र दानव पातालमा । त्रेतामा देव र दानव एकै लोकमा बस्न थाले राम र रावण उही लोकमा । द्वापरमा देव र दानव एकै परिवारमा बस्न थाले, युधिष्ठिर र दुर्योधन । कलिमा त झन् नजिक एकै शरीरमा छन् दुवै, त्यसको प्रतिफल देशले पाएको छ, धर्मलाई सिध्याएर । धर्म सिध्याएकै कारण देश अनियन्त्रित अपराध र काण्डहरूको जालोमा फसेको छ ।