२०८२ असोज २३ गते बिहिवार / Oct 09 , 2025 , Thursday
२०८२ असोज २३ गते बिहिवार
Ads

बाटो नसुधारी आउँदैनन् पर्यटक

shivam cement
मध्यान्ह
२०८२ असोज २१ गते ०८:१६
बाटो नसुधारी आउँदैनन् पर्यटक

– पोमनारायण श्रेष्ठ
पर्यटन आधुनिक विश्वको तीव्र रूपमा बढ्दै गएको आर्थिक र सामाजिक गतिविधिको एक प्रमुख अंग हो । नेपालको जस्तो प्राकृतिक सुन्दरता, सांस्कृतिक विविधता, धार्मिक सम्पदा र जैविक विविधताले भरिएको मुलुकका लागि पर्यटन एउटा महत्वपूर्ण सम्भावना बोकेको क्षेत्र हो । तर यस्ता अपार सम्भावनाका बाबजुद नेपालको पर्यटन विकासमा बाधा पु‍¥याउने थुप्रै कारण छन् । तीमध्ये प्रमुख एक हो—अपर्याप्त र असहज पूर्वाधार, विशेषतः बाटोको अवस्था ।

पर्यटकहरू, चाहे आन्तरिक हुन् वा बाह्य, उनीहरू कुनै गन्तव्यमा पुग्नुअघि यातायातको सुविधा र बाटोको अवस्थालाई मूल्यांकन गर्छन् । बाटो भनेको कुनै पनि स्थानसम्म पुग्ने प्रमुख माध्यम हो । यदि बाटो सहज छैन भने, त्यो स्थानप्रतिको आकर्षण स्वतः घट्छ । चाहे त्यो स्थान विश्व प्रसिद्ध पर्यटकीय गन्तव्य नै किन नहोस्, त्यहाँ पुग्न सकिने बाटो नराम्ररी बिग्रिएको छ भने पर्यटकहरूले वैकल्पिक गन्तव्य रोज्छन् । पर्यटकहरू साहसिक अनुभव खोजिरहेका हुन्छन् । भने पनि, त्यो अनुभवको पूर्वाधार न्यूनतम सुविधासम्पन्न हुन आवश्यक हुन्छ ।

नेपालको सन्दर्भमा हेर्दा, थुप्रै पर्यटकीय स्थल पुग्न यात्रा अत्यन्तै कठिन र जोखिमपूर्ण छ । कच्ची सडक, नियमित मर्मत नपाएको अवस्थाका कारण पर्यटकको सुरक्षामा प्रश्न उठ्छ । साहसिक पर्यटन गर्न चाहने पर्यटकहरू पहाड, हिमाल, ताल, जंगल आदिको यात्रा गर्न इच्छुक हुन्छन् । तर उनीहरूलाई त्यहाँसम्म पुग्ने बाटो उपयुक्त नभएपछि उनीहरूलाई त्यो साहसिकताभन्दा जोखिम अधिक महसुस हुन्छ । पर्यटकको जीवन सुरक्षासँग सीधा जोडिएको विषय भएकाले, सवारी मार्गको स्तरीकरण पर्यटनको पूर्वसर्त बन्न पुग्छ ।

पर्यटन विकासका लागि सडक पूर्वाधार सबैभन्दा आधारभूत आवश्यकता हो । उदाहरणका लागि, मुस्ताङ, मनाङ, दोलखा, सोलुखुम्बु, रोल्पा, डोल्पा, हुम्लाजस्ता ठाउँहरू पर्यटकीय दृष्टिले अत्यन्त महत्वपूर्ण छन् । तर यी स्थानहरूमा पुग्न अझैसम्म उचित सडक सुविधा छैन । हवाईमार्ग पनि सधैं भरपर्दोे छैन, मौसमले बाधा पु‍¥याउने सम्भावना धेरै हुन्छ । यस्तो अवस्थामा सडक नै भरपर्दो माध्यम बन्ने हो, जुन अहिले कमजोर अवस्थामा रहेको छ । यदि यी क्षेत्रहरूमा पहुँच सहज बनाइयो भने पर्यटकको संख्या उल्लेखनीय रूपमा वृद्धि हुने निश्चित छ ।

सडक सुधारले स्थानीय जनताको जीवनस्तर पनि प्रत्यक्ष रूपमा सुधार हुन्छ । जब पर्यटकहरू कुनै स्थानमा पुग्छन् । उनीहरूले त्यहाँ बसोबास, खाना, गाइड सेवा, यातायात सेवा आदि आवश्यक पर्छ । यसले गर्दा स्थानीयलाई रोजगारी सिर्जना हुन्छ, उत्पादन र सेवामा माग बढ्छ र आर्थिक चलायमान हुन्छ । तर यदि बाटो नै नभए, पर्यटकको आगमन सम्भव हुँदैन । यसले गर्दा स्थानीय जनता पर्यटकबाट प्राप्त हुन सक्ने आर्थिक लाभबाट वञ्चित हुन्छन् ।  उदाहरणका लागि, पदयात्रा गन्तव्यहरूमा साना होटल, होमस्टे, गाइड सेवा, घोडा सवारीलगायत पर्यटकबाट सञ्चालन भइरहेका छन् । तर जब ती स्थानहरूमा पुग्न कठिन हुन्छ, पर्यटक नआउँदा ती व्यवसाय बन्द हुन्छन् र त्यसले जनताको जीविकोपार्जनमा असर पु‍¥याउँछ ।

सडक सुधारले पर्यटनसँगै अन्य विकासका सम्भावना पनि खुला गर्छ । एकपटक जब राम्रो सडक बन्छ, त्यहाँ न केवल पर्यटक तर अन्य व्यावसायिक गतिविधि पनि जान्छन् । उत्पादन सजिलै बजारमा पु‍¥याउन सकिन्छ । वस्तु तथा सेवाको मूल्यमा स्थिरता आउँछ । यो सब मिलेर त्यस क्षेत्रलाई स्थायी रूपमा विकासमा लैजान सहयोग पु‍¥याउँछ । तर जब बाटो राम्रो छैन, तिनै सम्भावना बन्द हुन्छन् । त्यसैले पर्यटन मात्र होइन, समग्र क्षेत्रीय विकासका लागि पनि सडक पूर्वाधारको सुधार अपरिहार्य हुन्छ ।

नेपालको भूगोल हेर्दा, यहाँ अधिकांश पर्यटकीय गन्तव्य पहाडी र हिमाली भेगमा पर्छन् । यी ठाउँहरूमा बाटो बनाउने काम सजिलो छैन भन्ने बुझ्न सकिन्छ । तर प्राविधिक चुनौतीका बाबजुद, सरकार र सम्बन्धित निकायले यसलाई प्राथमिकतामा राख्नुपर्छ । किनभने संसारका धेरै हिमाली देशहरूले आफ्नो भूगोलअनुसार प्राविधिक उपाय अपनाएर राम्रो सडक पूर्वाधार विकास गरेका छन् । स्विट्जरल्यान्ड, नर्वे, भुटानजस्ता देशहरूले कठिन भूगोलबीच उत्कृष्ट सडक सञ्जाल विकास गरी पर्यटनलाई तीव्र रूपमा बढाएका छन् । नेपालले पनि यस्तै मोडलहरूबाट सिक्न सक्छ ।

अर्को महत्वपूर्ण पक्ष भनेको सडक मर्मतको निरन्तरता हो । नेपालमा धेरै ठाउँमा सडक बनाइए पनि, त्यसको नियमित मर्मत हुँदैन । केही समयपछि बाटो फेरि बिग्रिन्छ अनि त्यो बाटो प्रयोगमा आउन सक्दैन । यसले पर्यटकलाई एकपटक त यात्रा गर्न बाध्य पार्छ तर अर्कोपटक फर्केर आउन नदिने बनाउँछ । त्यसैले बाटो मात्र बनाउनु पर्याप्त छैन, त्यसको दिगोपन कायम राख्नु आवश्यक हुन्छ । मर्मतका लागि स्पष्ट नीति, पर्याप्त बजेट र निगरानी प्रणाली आवश्यक छ ।

पर्यटकहरूको प्राथमिकता सदैव आराम, सहजता, सुरक्षा र अनुभव हुन्छ । जब पर्यटक कुनै देशमा आउँछन् । उनीहरू त्यहाँको सेवा, सुविधा र समग्र व्यवस्थापनबाट प्रभावित हुन्छन् । उनीहरूले बाटो बिग्रिएको, धुलो र हिलोले भरिएको, ट्राफिक अव्यवस्थित, संकेत प्रणाली नरहेको अनुभव गरे भने उनीहरू नकारात्मक सन्देश लिएर जान्छन् । यस्ता नकारात्मक अनुभवहरूले सामाजिक सञ्जाल र अनलाइन रिभ्युमार्फत विश्वभर फैलिन्छ । यसले दीर्घकालीन असर पु‍¥याउँछ र अन्य पर्यटकलाई पनि त्यहाँ जान नचाहने बनाउँछ । यस अर्थमा, बाटोको सुधार भनेको मात्र यातायातको सुविधा होइन, देशको अन्तर्राष्ट्रिय छवि निर्माणको पनि माध्यम हो ।
नेपालमा धार्मिक, सांस्कृतिक र प्राकृतिक तीनै किसिमका पर्यटकीय स्थल प्रशस्त छन् । तर धेरैजसो स्थानमा पर्यटक पुग्न नसक्ने अवस्थामा छन् । उदाहरणका लागि, धार्मिक पर्यटकीय स्थल गोसाइँकुण्ड, पाथिभरा, हलेसी, राराताल, बदिमालिका, खप्तड, अपी (सैपाल, लाङटाङ जस्ता ठाउँहरूमा यातायातको राम्रो सुविधा छैन । यस्ता स्थानमा सडक पुग्न सके, देशभरका आन्तरिक पर्यटकका साथै बाह्य पर्यटक पनि सहजै यात्रा गर्न सक्नेछन् । यसले पर्यटकीय गन्तव्यको क्षेत्रीय विविधता पनि बढाउँछ, जसले गर्दा काठमाडौं, पोखरा, चितवनजस्ता केन्द्रित पर्यटकीय स्थलबाट पर्यटक वितरण गर्न सकिन्छ ।

सरकारले हालैका वर्षहरूमा सडक निर्माण र सुधारमा केही ध्यान दिएको देखिन्छ । तर अझैसम्म यो प्रयास पर्यटनको मागअनुसार पर्याप्त छैन । निजी क्षेत्रको साझेदारी, विदेशी लगानी, पर्यटन करको प्रयोग, र समुदायको सहभागितामार्फत सडक सुधारमा तीव्रता ल्याउन सकिन्छ । पर्यटनमैत्री पूर्वाधार बनाउने कुरा केवल फाइभ स्टार होटल वा विमानस्थल मात्र होइन, एउटा राम्रो, सुरक्षित र व्यवस्थित बाटो पनि हो भन्ने बुझ्न जरुरी छ ।

निष्कर्षमा भन्नुपर्दा, ‘बाटो नसुधारी पर्यटक आउँदैनन्’ भन्ने केवल भनाइ मात्र होइन, विकासको कठोर यथार्थ हो । बाटो भनेको पर्यटकलाई गन्तव्यसम्म पु‍¥याउने माध्यम मात्र होइन, त्यो अनुभवको एउटा अनिवार्य अंग हो । यदि बाटो बिग्रिएको छ भने त्यो अनुभव बिग्रिन्छ । र एकपटक पर्यटकको अनुभव बिग्रियो भने, त्यो देशले आफ्नो पर्यटन ब्रान्ड गुमाउने खतरा बेहोर्नुपर्छ । त्यसैले अब समय आएको छ, नेपालको पर्यटन विकासको सपना साकार पार्न, सबैभन्दा पहिले बाटोलाई सुधार्ने अभियानलाई प्राथमिकता दिनु आवश्यक छ । बाटो सुधारेर मात्रै हामी विश्व पर्यटन नक्सामा स्थायी रूपमा उभिन सक्छौं ।
(लेखक श्रेष्ठ, पर्यटन व्यवसायी हुन् ।)
 

ADV

सम्बन्धित खबर

Advertise