२०८२ असोज २३ गते बिहिवार / Oct 09 , 2025 , Thursday
२०८२ असोज २३ गते बिहिवार
Ads

दलहरूको अहंकार र जेनजी आन्दोलन

shivam cement
गोविन्द विक
२०८२ असोज २३ गते ०६:०५
दलहरूको अहंकार र जेनजी आन्दोलन

भ्रष्टाचारको अन्त्यसहित सुशासनको अभ्यास व्यवहारमा आम नागरिकले अनुभव गर्नेगरी देखिनु पर्दछ भन्ने मूल अपेक्षा लिएर भएको जेनजी आन्दोलनले करिब २७ घण्टामा बलियो दुई तिहाई नजिकको सत्तालाई घुँडा टेकायो । सामान्य बुझाइभन्दा बाहिरबाट सत्ता बहिर्गमन भयो । यद्यपि, यो आन्दोलन यत्तिकै उत्पन्न भएको थिएन । विगतदेखि रहेको जनआक्रोश जेनजी आन्दोलनको रूपमा विस्फोट भएको थियो । धेरैले यो परिस्थितिलाई आफ्नो आफ्नै शैलीबाट विश्लेषण गरेका छन् । तर, यसको गहिराइलाई हेर्दा दलहरूकै भूमिका मुख्य देखिन्छ । 

हरेक कुरा शून्यताबाट सुरू हुन्छ भनेजस्तै, अहिले पनि मुलुक शून्यताबाट विस्तारै उठ्न खोजिरहेको छ । मुलुक अहिले इतिहासको एक गम्भीर मोडमा रहेको छ । सुशासनका लागि लडेका ७४ भन्दा बढी युवाले शहादत प्राप्त गरे भने कयौं घाइतेहरू उपचाररत छन् । अरबौंको संरचना नष्ट भएका छन् । धेरैको बुझाइअनुसार यो छोटो समयको असन्तुष्टि होइन, यो धेरै लामो समयदेखि पाकेको असन्तुष्टि एकैचोटी विष्फोट भएको हो । शासन सत्तामा बस्नेहरूले सच्चिनका लागि आवश्यक नठान्ने परिणामको रूपमा यो आन्दोलन आएको हो । अहिलेको जेनजी आन्दोलनलाई उपलब्धि भन्नेहरू पनि छन्, यसलाई इतिहासको क्रान्ति भन्ने मौसम पनि छ भने यसलाई प्रतिगमन र यथास्थितीवादको प्रतिक्रिया भन्ने मौसम पनि छ । जे भनिए तापनि यो एउटा स्वतःस्फूर्त रूपमा जन्मिएको जनआक्रोश थियो, जुन अहिले पोखियो ।

अहिलेको यो परिवर्तनलाई मुलुकमा शासन सञ्चालन गरिरहेका पुराना दलहरूलाई स्वीकार गर्न निकै कठिनाइ भइरहेको छ । अहिलेको अन्तरिम सरकार संविधान बाहिरबाट आएको हो भन्ने भनाइ पनि उनीहरूमा देखिन्छ । सुशीला कार्कीको नेतृत्वमा गठन भएको अन्तरिम सरकार भनेको चुनावको लागि मात्रै हो, यसले अन्य कुरामा ध्यान दिनु आवश्यक छैन भन्ने एउटा दृष्टिकोण बनाइएको छ । जेनजीका युवाहरूको अपेक्षा भनेको अन्तरिम सरकारले भ्रष्टाचारको अन्त्य गर्ने सुरूवात गर्नु पर्छ । यससँगै सुशासन कायम गर्दै युवाको अपेक्षालाई मर्न दिनु हुँदैन ।

तर, पछिल्लो समयको चहलपहलले यस कुरालाई ओझेलमा पार्न खोजेको देखिन्छ । मुलुकलाई यो अवस्थामा ल्याउन अथवा आम नागरिकलाई स्वतन्त्रताको ग्यारेन्टी दिने व्यवस्था ल्याउनमा दलहरूको भूमिकालाई बिर्सनु गल्ती हुनेछ । राजनीतिक दलहरूले अगुवाई गरे र जनताको साथ पाए, लोकतान्त्रिक गणतन्त्रको अभ्यास मुलुकले संस्थागत गर्ने प्रक्रियामा थियो र छ पनि । तर, लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने नाममा दलहरूको मार्ग भ्रष्ट भएको परिणाम अहिले छरपष्ट भएको हो । समयअनुसार दलहरूले आफूलाई परिमार्जित र परिस्कृत गर्न नसक्नु एक अर्को दुर्भाग्य बन्यो र मुलुकमा होनहार युवाहरूले शहादत प्राप्त गर्नुपर्ने परिवेश निर्माण भयो ।

अन्तरिम सरकार बनेर यसले कामको लय टिप्न चाहिरहेको सन्दर्भमा दलहरूले आफ्नो अहंकार ओकल्न सुरू गरेका छन् । दलहरूले विभिन्न वक्तव्य जारी गर्दै तत्कालीन संसद पुनःस्थापित गर्नुपर्ने भन्दैछन् । तत्कालीन सत्तामा रहेका केही दलहरूले त अहिलेको अवस्था आउनुमा यो व्यवस्था विरोधीको योजना हो भनेर ठानिरहेका छन् । सत्ता गुमाएको छटपटी लुकाउन दलहरूलाई गाह्रो भइरहेको छ ।

हामीले जनभावना बुझ्न नसकेको र जनस्तरको समस्यालाई ध्यानमा राख्न आवश्यक नठानेका कारण युवाहरूमा जनआक्रोश जन्मिएको हो, भन्ने दलहरूले अबसम्म बुझ्न सकेका छैनन् । अन्तरिम सरकारको सिफारिसमा संसद विघटन भएको छ, दलहरू यसको विरोध गर्ने निर्णय गर्दैछन् । केही समय आफ्नो संलग्नता बिना सरकारको कामलाई सहयोग गरेर मुलुकमा निष्पक्ष चुनावको वातावरण निर्माण गर्नुपर्ने कुरालाई दलहरुले वेवास्था गर्दैछन् ।

सत्तामा बसेर जनताको दुःखलाई नियाल्न सकेको भए, जनताले विश्वास गरेर दिएको मतलाई भ्रष्टाचारको लाइसेन्स नठानेको भए, युवाहरूको विचार र भावना बुझेर मागलाई सम्बोधन गरिदिएको भए, अहिलेको यो परिस्थिति आउने थिएन । तर, मुख्य दलहरूको ध्यान त्यता पटक्कै गएन । राजनीतिक दलहरूसँग अब मात्र दुई विकल्प बाँकी छन्– सक्किने कि सच्चिने । यदि दलहरूले सक्किने विकल्पमा गए भने, दलीय व्यवस्था नै संकटमा पर्न सक्छ । यदि सच्चिने विकल्पमा गए भने अबको लोकतान्त्रिक गणतन्त्रलाई अझ सुधारेर जाने अवस्था बन्न सक्छ । यसमा कुनै द्विविधा छैन ।

मुलुकमा केही पनि छैन भन्ने भाष्य बनाउनु गलत थियो । यस्तो भाष्य निर्माणमा दलहरूकै कार्य व्यवहारले बल पुर्‍याएको थियो । तर, दलहरूले यो बुझ्न चाहेनन् । जसको कारण जनआक्रोश बढ्दै गयो र यो आन्दोलन जेनजीको रूपमा परिणत भयो । अब जेनजी अगुवाहरूले भ्रष्टाचारको अन्त्यसँगै सुशासनको प्रत्याभूति सुनिश्चित गर्नुपर्छ । दलहरूले भनेको जस्तो संसद पुनःस्थापना गरेर जेनजीका मागलाई सम्बोधन गर्न खोज्नु भनेको दलहरूले फेरि पनि गम्भीर गल्ती गर्ने हो । चुनावका लागि सरकारलाई सहयोग गरेर आगामी चुनावमा जनताको भरोसा जित्ने दल बन्ने मार्गमा ध्यान दिनु आवश्यक छ ।

जेनजीका अगुवाहरूले चाहेको परिवर्तनलाई संस्थागत गरी संसारलाई उदाहरण दिने लक्ष्य पूरा गर्नुपर्नेछ, जसले देखाउन सक्नेछ कि यदि युवाले चाहे भने परिवर्तन सम्भव छ । यो परिवर्तनका लागि बगेको थोपा थोपा रगतले मुलुकलाई सधैँ जागृत राख्नेछ भन्ने कुरालाई जेनजी पुस्ताले पनि ध्यान दिनुपर्छ ।

यस संविधानमार्फत बनेको अन्तरिम सरकारले गराएको चुनावबाट जनताको मत प्राप्त गरेर आवश्यक कानून संशोधन गरी नेपाली माटोले धान्न सक्ने व्यवस्था र शासकीय स्वरूपको खाका कोर्ने काम अब सरकारको प्राथमिकतामा हुनु पर्छ । फुटेर हैन, एक अर्काको कटाक्ष गरेर हैन, एक अर्कालाई निषेध गरेर हैन, सबै एक ठाउँमा हातेमालो गर्दै शून्यताभित्र देखिएको विकल्पलाई आत्मसाथ गरेर मुलुक र जनताका लागि जुट्ने अपेक्षाले वर्तमान परिवेशको उपाय हो ।

ADV

सम्बन्धित खबर

Advertise