आदरणीय प्रधानमन्त्री सुशीला कार्कीज्यू,
समस्या उमेरमा होइन, सोचमा हो...!
आज तपाईंको काँधमा घाइते घरको भारी आएको छ । त्यो घर केवल इँटा, ढुंगा र छानाले बनेको होइन; त्यो हजारौं आमाबाबुको आक्रोश, युवापुस्ताको रगत र भविष्यप्रतिको सपना हो । म तपाईंलाई ‘बधाई’ भन्न चाहन्न, किनभने देश अहिले उत्सवमा छैन — देश पीडामा छ ।
प्रधानमन्त्रीज्यू, अहिले तपाईंको काँधमा केवल सरकार सम्हाल्ने होइन, एउटा पुस्ताको घाउमा मलहम लगाउने जिम्मेवारी छ । जेन्जी आन्दोलनका समयमा आफ्ना सपना बोकेर सडकमा उभिएका युवाहरू गोलीको निसाना बने । उनीहरूले आफ्नो प्राण दिए, ताकि यो मुलुक फेरि ब्युँझोस् । ती आँखाहरू अझै पनि हामीलाई हेरिरहेका छन्, ती अधुरा स्वर अझै पनि गुन्जिरहेका छन् —जेन्जी पुस्ताको बलिदान खेर नजाओस् ।
देशले तपाईंलाई आमा बनाएर अगाडि पठाएको छ । आमा जसरी संकटमा आँखा खोल्छिन्, आँसु पुछ्छिन्, परिवारलाई सम्हाल्छिन्, त्यही साहस अहिले तपाईंमा आवश्यक छ । तपाईंको जिम्मेवारी केवल प्रधानमन्त्रीको पद धान्नु मात्र होइन; तपाईंले नयाँ पुस्ताको नेतृत्व जन्माउने आमाको भूमिका निर्वाह गर्नु हो । व्यवस्था सुधारेर, नियमलाई कडाइका साथ कार्यान्वयन गरेर र जनतालाई आशा दिलाएर नयाँ विश्वासको जग बसाल्नु हो ।
इतिहास साक्षी छ– जापान दोस्रो विश्वयुद्धपछि खरानी भयो । तर त्यही खरानीबाट पुनः जन्मिएर आज विश्वका बलिया राष्ट्रहरूमध्ये उभिएको छ । नेपाल पनि इमानदारी, पारदर्शिता र दृढ निष्ठाले उठ्न सक्छ । तर, यसका लागि पुरानो सोच, पुराना स्वार्थ र पुरानो ढर्रा त्याग्नुपर्छ । समस्या उमेरमा होइन, सोचमा हो । उमेरले देश डुबाउँदैन, विकृत सोचले देश डुबाउँछ ।
प्रधानमन्त्रीज्यू, कृपया हरेक निर्णय गर्नु अघि ती अनुहार सम्झनुहोस्– जेन्जी आन्दोलनमा ढलेका युवाहरूका अनुहार । ती रक्ताम्मे सडक सम्झनुहोस्, जसले राष्ट्रलाई झकझक्याएर जगायो ।
आज मुलुकले तपाईंलाई केवल ‘प्रधानमन्त्री’ होइन, जेन्जी पुस्ताको रगतलाई न्याय दिने आशाको रूपमा हेरिरहेको छ । तपाईंले गर्ने काम भनेको केवल सरकार सञ्चालन मात्र होइन; असल सोच, पारदर्शिता र न्यायको संस्कार स्थापित गर्नु हो । यदि तपाईं सफल हुनुभयो भने भविष्यमा हामी भन्न सक्नेछौँ– जब देश घाइते थियो, जब नयाँ पुस्ताको रगत सडकमा बगेको थियो, जब सबैले हार मानेका थिए, त्यही बेलामा एक जना नेपाल आमाकी साहसी छोरीले राष्ट्रलाई उठाइन् ।
प्रधानमन्त्रीज्यू, देशको आँखा तपाईंमा छ– आशा, न्याय र भविष्यका प्रतीकका रूपमा । त्यसैले तपाईंले भरपर्दो विवेक प्रयोग गरेर काम गर्नुहुनेछ र परिवर्तन ल्याउनुहुनेछ भन्ने आशा गर्दै बिदा हुन्छु ।
धन्यवाद ।
बिनय प्रकाश मल्ल
देशप्रेमी, युवा समाजसेवी
(हाल : टोकियो, जापान)