देशको सबैभन्दा पुुरानो लोकतान्त्रिक दल नेपाली कांग्रेसमा आन्तरिक लोकतन्त्र कमजोर हुँदै गएको छ । जसको बलियो उदाहरण हो, बर्षौदेखि पार्टीको भ्रातृ संगठनहरूको आवधिक अधिवेशन हुन नसक्नु । पार्टी नेतृत्वको गुटगट राजनीतिक अभ्यासले प्राथमिकता पाउदा भातृ संगठनहरुको यस्तो अवस्था आएको हो । सांगठनिक गतिविधिमा गतिहीन बनेको भ्रातृ संगठन ‘कोमा’मा पुु¥याएको अवस्था छ । कांग्रेसले वार्षिक रूपमा गर्नुपर्ने क्रियाशील सदस्यता नवीकरण र नयाँ वितरणका काममा समेत गति दिन सकेको छैन । चैत मसान्तभित्र महाधिवेशन सम्पन्न गर्न १० वटा भ्रातृ संगठनलाई पार्टीले निर्देशन दिएको थियो । पार्टी नेतृत्व र भ्रातृ संगठनबीच समन्वयमा महाधिवेशन सम्पन्न गर्न महाधिवेशन निर्देशन समिति नै बनाएर दिएको समय सीमाभित्र नेवि संघ, तरूण दल, महिला संघ, दलित संघ लगायत करिब दर्जन भ्रातृ संगठनको महाधिवेशन हुन सकेन ।
महाधिवेशन अनिश्चित भएपछि ती संगठनको तदर्थ समिति नै नयाँ बनाउने विषयमा छलफल चलिरहेको छ । चैतभित्रै सबै भ्रातृ संगठनले महाधिवेशन गरेर प्रतिवेदन बुुझाउन पार्टी नेतृत्वले निर्देशन दिएपनि संगठका प्रमुखले त्यसको अवज्ञा गरेपछि पार्टीले उनीहरूलाई हटाएर अर्को नेतृत्व ल्याउने तयारी समेत भइरहेको छ । लोकतान्त्रिक दलका भ्रातृ-सुुभेच्छुुक संस्था र मुल पार्टीको समेत आवधिक महाधिवेशन हुन नसक्नुलाई गैरलोकतान्त्रिक चरित्रको अभ्यासले प्राथमिकता पाएको प्रश्न उठ्नु स्वभाविक हो । अर्कोतर्फ पार्टीको आन्तरिक संगठन चुस्त बनाउँदै महाधिवेशन केन्द्रित सांगठनिक अभियानहरू चलाउनुपर्ने कांग्रेसमा सदस्यता विवाद त्यत्तिकै छ । पार्टी सभापति शेरबहादुर देउवा महाधिवेशनको मिति विधान र संविधानले दिएको सहुलियतअनुसार करिब डेढ वर्षपछि धकेल्ने प्रयासमा छन् ।
संस्थापन इतर समुहका नेता डा. शेखर कोइराला र उनी निकटका नेताहरूले भने समयमै महाधिवेशन गर्नुुपर्ने दबाब दिदैँ आएका छन् । संस्थापन इतर समूहले महाधिवेशनका लागि आवश्यक संरचना तयार गर्न पार्टीका जिम्मेवार नेताहरूले काम नगरेको आरोप छ । पार्टी महामन्त्री गगन थापाको संयोजकत्वमा क्रियाशील सदस्यता व्यवस्थापन समिति बनेको छ । सो समितिको बैठकले गत चैत्रको पहिलो हप्ता डेढ दर्जन जिल्लामा क्रियाशील सदस्यता नवीकरणमा विवाद कायमै रहेको निष्कर्ष निकालेको थियो । जुन समस्या अहिले पनि कायमै छ । यसले आगामी १५ औं महाधिवेशन समयमा हुनेप्रति शंका उत्पन्न गराएको छ । कांग्रेसमा महाधिवेशनको जग मानिने क्रियाशील सदस्याता विवाद अहिले सम्मकै सबैभन्दा ठूलो विषय हो । अतः कांग्रेसले पार्टीको आन्तरिक जिवनमा देखा परेका उल्लिखित समस्याहरू समाधान गर्दै आफूलाई लोकतान्त्रिक शक्तिकै रुपमा आफूलाई स्थापित गराउनुपर्छ ।