२०८२ असार १ गते आइतवार / Jun 15 , 2025 , Sunday
२०८२ असार १ गते आइतवार
Ads

एकैदिन ५ संघसंस्थाबाट सम्मानित भए रेशम र सिम्रन

तिलु शर्मा पौडेल
२०८२ वैशाख ७ गते २१:२७
एकैदिन ५ संघसंस्थाबाट सम्मानित भए रेशम र सिम्रन

दोहा कतार : सांगीतिक प्रस्तुतिका लागि कतार आइपुगेका लोक दोहोरी गायक रेशम निर्दोष, भर्सटाइल गायिका सिमरन परियार र गायक तथा पत्रकार रचित पौडेल एकै दिन विभिन्न पाँच फरक–फरक संस्थाबाट सम्मानित भएका छन् ।

बागलुङ सेवा समाज कतारको संस्थागत संरक्षकत्वमा स्थापित बागलुङ सेवा समाज कतार बहुउद्देश्यीय अक्षयकोषको प्रथम अधिवेशनमा सांगीतिक प्रस्तुती दिन आएका अतिथि कलाकारहरू आयोजक संस्थासहित गण्डकी प्रदेश समन्वय परिषद्, दलित एकता सञ्जाल, परियार मित्रता समाज र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल शाखा कतारले फरक–फरक कार्यक्रमको आयोजना गर्दै सम्मान गरेका हुन् । 

गण्डकी प्रदेशका अध्यक्ष अजय विकको सभाध्यक्षता तथा एनआरएनए एनसीसी कतारका अध्यक्ष रमेश भट्टको प्रमुख आतिथ्यतामा अतिथि कलाकारहरूलाई गण्डकी प्रदेशले ढाकाको टोपी र सम्मान पत्रद्वारा समान गरिएको थियो ।

परिचयात्मक कार्यक्रमसहित सम्पन्न सम्मान कार्यक्रममा सम्मान ग्रहणपछि बोल्दै कलाकारद्वयले कतारको माहौल र सम्मानप्रति खुसी व्यक्त गरे । 

आफ्ना भनाइ राख्दै गायिका परियारले आफ्नो पहिलो वैदेशिक यात्रा कतार अर्थात् ‘क’ बाट सुरु भएको हुँदा भविष्यमा अन्य बाटोहरू खुल्नेमा आफू आशाबादी रहेको बताउँदै नवोदित कलाकारलाई आयोजकले दिएको स्थान र सम्मानका लागि आभार व्यक्त गरिन् । 

कतार भ्रमण र कार्यक्रमको अनुभव साट्दै गायक निर्दोषले कतारलाई ४ पटक ट्रान्जिट बनाएर यात्रा गरे पनि पहिलो पटक कतारको सहर हेर्ने र कतारमा रहेका नेपाली समक्ष सांगीतिक प्रस्तुति राख्न पाउँदा खुसी लागेको बताए ।

गण्डकीको सम्मान लगत्तै बागलुङ सेवा समाज बहुउद्देश्यीय अक्षयकोषले पनि नवनिर्वाचित अध्यक्ष सन्तोष पौडेलको सभाध्यक्षतामा कलाकारलाई नगद पारिश्रमिकसहित सम्मान पत्रले सम्मान गरेको थियो । सोही हलमा दलित एकता सञ्जालका अध्यक्ष प्रकाश विश्वकर्माको अध्यक्षता तथा संस्थाका प्रमुख सल्लाहकार किरण परियारको प्रमुख आतिथ्यतामा सम्मान पत्र तथा दोसल्ला ओढाएर सम्मान गरिएको थियो । त्यस्तै सम्मान पत्रसहित दोसल्ला ओढाएर परियार मित्रता समाज कतार र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल शाखा कतारले पनि कलाकारहरूलाई सम्मान गरेका थिए । सम्मानित कलाकारहरू आइतबार बिहान नेपाल फर्की सकेका छन् ।

ADV

सम्बन्धित खबर