रुकुम पश्चिम : नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले समाजवाद स्थापना र जनताको जीवनस्तर सुधारका लागि कम्युनिष्ट आन्दोलनले ल्याएको परिवर्तनलाई संस्थागत गर्नु आवश्यक रहेको बताएका छन् ।
माओवादी केन्द्र रुकुम पश्चिमले आयोजना गरेको चियापान कार्यक्रमलाई सम्बोधन गर्दै शर्माले नेपालमा श्रमजीवी वर्गको मुक्ति र समाजको संरचनात्मक रुपान्तरणका लागि कम्युनिष्ट आन्दोलन अपरिहार्य रहेको धारणा व्यक्त गरे ।
उनले भने, ‘कम्युनिष्ट आन्दोलन राणा शासनको अन्त्यबाट सुरु भयो । जनताको अवस्था परिवर्तन गर्न जनयुद्ध आवश्यक थियो भने व्यवस्थागत परिवर्तनका लागि जनआन्दोलन आवश्यक थियो ।’
पूर्वगृहमन्त्रीसमेत रहेका शर्माले हालको राजनीतिक अवस्थाप्रति चिन्ता व्यक्त गर्दै जनतामा वितृष्णा बढ्नुको कारण नेताहरूको व्यवहार र सत्ता केन्द्रित राजनीति रहेको उल्लेख गरे । ‘राजनीतिज्ञहरू आन्दोलन गर्न सक्षम भए पनि व्यवस्था परिवर्तन गर्न असक्षम देखिएका छन्,’ उनले भने ।
उनले पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामन्तवाद अन्त्यको घोषणा गरेको स्मरण गर्दै देशभित्र वैचारिक बहस कमजोर हुनु, सत्ता प्राप्तिमा मात्रै केन्द्रित हुनु र असल नेतृत्वको अभावले कम्युनिष्ट पार्टीहरू विभाजनमा गएको बताए । ‘इगोका कारण नेकपा फुट्यो । स्वार्थ राखेर असल कम्युनिष्ट बन्न सकिन्न,’ शर्माको भनाइ थियो ।
कार्यक्रममा उनले कम्युनिष्ट एकताको प्रयास भइरहेको बताउँदै आफू समाज परिवर्तनका लागि सकारात्मक रूपमा अघि बढ्ने प्रतिबद्धता जनाए । अन्त्यमा शर्माले सबै नेता, कार्यकर्ता र जनतालाई परिवर्तनको यात्रामा योगदान दिएकोमा धन्यवाद ज्ञापन गरे ।