काठमाडौं : पृथ्वी नै डेरा हो, सबैले भाडा तिर्नु छ मान्छे आफैँ पाहुना, भोलि घर फर्किनु छ तेरो–मेरो के कुरा, के घर, के डेरा... ।
यी हरफ चलचित्र ‘के घर के डेरा : घर नं २’को टिजरका हुन् । यी हरफले जीवनको कटु सत्यलाई उजागर गर्छ । हरेक व्यक्तिको जीवन सत्यनजिक हुने तथ्यलाई यी हरफले आम नागरिकलाई झकझक्याउने प्रयास गरेको छ ।
पृथ्वी नै डेरा भएको तथ्यलाई सिनेमाले उजागर गरेको यी हरफले बुझाउँछ । त्यसैले तेरो मेरो भनेर भन्नु नै वास्तवमा बेकार भएको सिनेमाले बताउने संकेत यसको पब्लिसिटी कन्टेनले बताइरहेका छन् ।
जति नै तेरो मेरो गरे पनि अन्तिममा पुग्ने घाट नै हो र हुने धुँवा नै हुने हो भन्ने सत्यलाई मानिसले स्वीकार गर्नुपर्ने टिजरले यसअघि बताइसकेको छ ।
अन्ततः मान्छे खाली हात घाट जाने सत्यलाई स्वीकार गर्न नसक्दा अनेक समस्या भइरहेको माथिका हरफले प्रष्ट भनेको छ । डेरालाई प्रतिबिम्ब बनाएर सिनेमाले जीवनको सत्यलाई देखाउने संकेत गरेको छ ।
त्यसैले ‘के घर के डेरा : घर नं २’ले आम जनजीवनको सत्यनजिक रहेर कथा भन्ने प्रष्ट भइसकेको छ । जति नै अमिर भए पनि नांगै जानु पर्ने सत्य, जीवनको उत्तरार्धमा एक्लै हुनुपर्ने यथार्थलाई चिताको धुँवा नजिकै बसेर धुँवा हरिरहेको दृश्य र संवादले जीवनको अन्त्यतिर वा दुःखमा मात्रै महसुस गर्ने गरेको सत्यलाई ‘के घर के डेरा : घर नं २’ले भन्ने अनुमान लगाउन सकिन्छ ।
त्यसैले निर्देशक दीपेन्द्र के खनालले आम दर्शकले सिनेमाले कनेक्ट गर्ने र जीवनको सत्यलाई महसुस गर्ने बताउँछन् । हरेक व्यक्ति, घर र समाजले कुनै न कुनै समय भोग्ने कथा ‘के घर के डेरा : घर नं २’ले अनुभूत गराउने उनको दाबी छ ।
सिनेमो सधैँ जीवनको नजिक हुनुपर्ने भन्ने मान्यता आफ्नो रहेको भन्दै उनले त्यही अनुसार ‘के घर के डेरा : घर नं २’ बनेको निर्देशक खनालले बताए । त्यसैले यो चलचित्र जीवनको सत्यनजिक रहेको भन्न रुचाउँछन् उनी ।
‘के घर के डेरा : घर नं २’ले जेठ २ गते रिलिज हुँदैछ । सिनेमाको कथा साहित्यकार बुद्धिसागरले लेखेका छन् । उनको यो पहिलो स्क्रिप्ट हो ।
चलचित्रमा खगेन्द्र लामिछाने, निश्चल बस्नेत, उपासना सिंह ठकुरी, आर्यन सिग्देल, केकी अधिकारी, प्रकाश घिमिरे, श्रृजना नापित, संजोग रसाइली, रुविना घिमिरे, सुरज विष्टलगायत कलाकारलगायतको अभिनय छ ।
चलचित्र एप्पल इन्टरटेन्मेन्ट, ए प्लस इन्टरटेन्मेन्ट तथा नटराज क्रिएसनको प्रस्तुतिमा निर्माण भएको हो । चलचित्रको कथा ‘कर्णाली ब्लुज’, ‘एक्लो’ र ‘फिरफिरे’ उपन्यासका लेखक बुद्धि सागरले लेखेका छन् । उनको यो पहिलो सिनेमा हो ।
कृष्णबहादुर थापाको सिनेमामा छायांकन रहेको छ । ‘के घर के डेरा : घर नं २’को कार्यकारी निर्माताको रूपमा युवराज कार्की छन् । निर्मातामा नकिमउद्दिन, शरद श्रेष्ठ र किरण महर्जन छन् ।