लिस्बन : मोन्तिजो नेपाली समाज, पोर्चुगलले आयोजना गरेको प्रथम ‘मोन्तिजो कप’ सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि आयोजक संस्था मोन्तिजो नेपाली समाजले हात पारेको छ ।
प्रतियोगिताको फाइनल खेलमा ड्रिप सिटी ब्वाइजलाई पराजित गर्दै समाजले प्रथम ‘मोन्तिजो कप’ को उपाधि हात पार्न सफल भएको हो । उपाधि हात पारेसँगै समाजले तीन हजार ५०० युरो नगद, कप र मेडल प्राप्त गरेको छ । भने उपविजेता ड्रिप सिटीले दुई हजार युरो नगद, कप र मेडल प्राप्त गरेको छ ।
यस्तै, विधागततर्फ मोन्तिजो समाजका प्रदर्श भट्टराई उत्कृष्ट खेलाडी र हिमाल गुरुङ उत्कृष्ट गोलकीपर घोषित भए भने ड्रिप सिटीका ओम गुरुङ उत्कृष्ट डिफेन्डर र अनिस गुरुङ सर्वाधिक गोलकर्ता घोषित भए ।
विधागततर्फ उत्कृष्ट घोषित भएका खेलाडीहरुलाई नगदसहित कप तथा प्रमाणपत्रले पुरस्कृत गरिएको थियो । नेपाली नयाँ वर्ष २०८२ को अवसर पारेर आयोजना गरिएको प्रतियोगितामा पोर्चुगलमा क्रियाशील नेपाली संघसंस्था र क्लबका गरी १८ टिमको सहभागिता रहेको समाजका अध्यक्ष प्रवल भट्टराईले जानकारी दिए ।
सो अवसरमा चलचित्र ‘अञ्जिला’ को प्रदर्शनका लागि पोर्चुगल आएकी नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा गोलरक्षक एञ्जिला तुम्बापो सुब्बालाई सम्मानसमेत गरिएको थियो ।