काठमाडौं : करिब ९ हजार जनाको ज्यान गएको २०७२ सालको भूकम्प गएको आज शुक्रबार १० वर्ष पुगेको छ ।
१२ वैशाख २०७२ मा गोरखाको बारपाक केन्द्रबिन्दु बनाएर ७ दशमलव ८ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पबाट गोरखासहित १४ जिल्ला अतिप्रभावित बने भने ३१ जिल्लामा क्षति भयो ।
भूकम्पबाट २२ हजारजति घाइते भए भने ५ लाख घर पूर्ण ध्वस्त भएका थिए । यस्तै, करिब ९ लाख भवन क्षति भएका थिए । भूकम्पबाट ९०० सम्पदा पूर्ण र आंशिक क्षति भएका थिए । ९ हजार सरकारी भवनहरू क्षतिग्रस्त भएका थिए ।
यो १० वर्षको अवधिमा भूकम्पले क्षति भएका अधिकांश संरचना पुनर्निर्माण भएका छन् भने केही पुनर्निर्माणको चरणमा छन् ।
नेपालको भौगर्भिक अवस्थितिले गर्दा हिमालय नजिक भूकम्पको जाने सम्भावना सधैं भएको वैज्ञानिकहरू बताउँछन् । उनीहरूका अनुसार ठूलो भूकम्प गएपछि अरू भूकम्प जानु स्वाभाविक हो । ती साना भूकम्प अर्थात् परकम्पले भूगर्भमा संचित ऊर्जा थोरैथोरै गरेर निष्कासन हुने र पहिला चलमलाएका चट्टानहरू पनि बिस्तारै सन्तुलनमा आउने बताइन्छ ।
नसिकेको पाठ
नेपाल भूकम्पीय जोखिममा रहेको हुँदा भूकम्पप्रतिरोधी संरचना निर्माण गर्न सकिए मात्र क्षति न्यूनीकरण गर्न सकिने विज्ञहरू बताउँछन् । गोरखापछि जाजरकोटम, रुकुम र सल्यानमा गएको भूकम्पबाट पाठ अझै सिक्न नसकेकामा विज्ञहरू चिन्ता व्यक्त गर्छन् ।
१० वर्षअघिको विनाशकारी दिन सम्झेर सचेत हुने र हरदम हामी भूकम्पीय जोखिममा छौं भन्ने बिर्सनु नहुने उनीहरू सुझाव दिन्छन् ।
गोरखा भूकम्पमा काठमाडौं उपत्यकामा माटो कमजोर भएका ठाउँमा बनेका र डिजाइन नगरेर बनाइएका अधिकांश भवन भत्किएका विभिन्न अध्ययनले देखाएका छन् ।
मुख्यतः घरधनी आफैंले डिजाइन गरेर बनाएका घर, मापदण्ड पूरा नगरी बनाइएका घर, माटोको परीक्षण नगरी बनाएका घर र निकै पुराना घरहरू धेरै भत्किएका थिए ।
२०७२ सालको भूकम्पपछि सरकारले सन् २०२० मा भवन संहिता परिमार्जन गरेर भवन संहिता ऐन ल्याएको थियो । तर, यसको कार्यान्वयन पक्ष भने फितलो छ ।
उच्च जोखिम कायमै
नेपालको पश्चिम क्षेत्र विशेषगरी पोखरादेखि पश्चिमको भागमा सन् १५०५ देखि ठूलो भूकम्प गएको छैन । त्यस क्षेत्रमा विगत करिब ५०० वर्षमा ठूलो भूकम्प जान सक्नेगरी शक्ति संचय भइसकेको धेरै अध्ययनहरूले देखाएका छन् ।
त्यस्तै, नेपाली वैज्ञानिकहरूसहित संलग्न एउटा अनुसन्धानले काठमाडौंलगायत नेपालको पूर्वी भाग पनि अझै उच्च जोखिममा रहेको र विगत करिब १ हजार वर्षमा यस क्षेत्रमा ठूलो भूकम्प नगएको तथा गत भूकम्पमा पनि यस क्षेत्रमा जम्मा भएको शक्तिको केही मात्रामा खर्च भएको देखाएको छ ।
यसको अर्थ नेपालका पूर्व वा पश्चिम सबै क्षेत्रमा जुनसुकै बेला पनि ठूलो भूकम्प जान सक्छ भन्ने नै हो । त्यस कारण गोरखा भूकम्पले क्षतिग्रस्त क्षेत्रमा मात्र होइन, पूरा नेपालभर भूकम्पप्रतिरोधी निर्माणलाई राष्ट्रिय प्राथमिकतामा पार्नुपर्ने विज्ञहरूको सुझाव छ ।
विज्ञहरूका अनुसार पश्चिममा अफगानिस्तानदेखि पूर्वमा म्यान्मारसम्म फैलिएको हिन्दुकुश तथा हिमालय क्षेत्र भूकम्पीय जोखिमका दृष्टिले निकै संवेदनशील छ । नेपालमा ८०० किलोमिटरभन्दा लामो हिमाली क्षेत्र भएकाले यस क्षेत्रको भूकम्पीय जोखिमको एक तिहाइ प्रभाव यसै क्षेत्रमा पर्ने अवस्था रहेको राष्ट्रिय भूकम्प मापन अनुसन्धान केन्द्रका अधिकारीहरू बताउँछन् ।
भूगर्भविद् तारानिधि भट्टराई सुरक्षित घर बनाउन पहिलो प्राथमिकता दिनुपर्छ भन्ने विगतका भूकम्पबाट पाठ नसिकिएको बताउँछन् ।
‘सरकारले भूकम्पप्रतिरोधी भवन निर्माणका लागि लागू गरिएको भवन निर्माण आचारसंहिता हुबहु पालना गरे/नगरेको अनुगमन गर्न सरकारी निकाय चुकेको छ’, उनले भने, ‘पश्चिम नेपालमा भएको जनधनको क्षतिले घर तथा भौतिक संरचना निर्माणमा सुधार नभएको पुष्टि गरेको छ ।’
भूकम्पपछि ठूला कंक्रिट काट्ने मेसिनलगायत प्राविधिक उपकरणको अभाव छ, जसले उद्धारमा समस्या ल्याउने गरेको छ । यस कुराबाट पनि उद्धार कार्यसम्बन्धी तयारीमा कमजोरी रहेको पुष्टि भएको तर्क विज्ञहरूको छ । भूकम्पपछिको राहत प्रदान तथा पुनर्निर्माण गर्न छुट्टै संस्था स्थापना गर्नुपर्ने र त्यस्तो संस्था प्रधानमन्त्री मातहतमा राखिनुपर्ने विज्ञहरूको सुझाव छ ।
‘भवनसंहिता अनिवार्य पालना गर्नुपर्ने र भवन भूकम्पप्रतिरोधी डिजाइनलाई मात्र पालिकाले निर्माण स्वीकृति दिने अभ्यास कार्यान्वयनमा त आयो तर पछिल्लो समय उक्त अभ्यासको पालना धेरै कम मात्रामा भएको छ’, भट्टराईले भने ।
जाजरकोटको शिक्षा
१७ कात्तिक २०८० मा जाजरकोटमा ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प जाँदा १५७ जनाको मृत्यु भएको थियो । भूकम्पको तुलनात्मक रूपमा कम म्याग्निच्युड भए तापनि यस क्षेत्रमा कम गुणस्तरको निर्माण भएका कारण मानवीय क्षति बढी भएको जानकारहरू बताउँछन् ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार १७ कात्तिक २०८० देखि ३ वैशाख २०८२ सम्म जाजरकोट र त्यस आसपास केन्द्र बनाएर ८५३ परकम्प गएका हुन् ।
यी परकम्पबाट जनधनको ठूलो क्षति नभए पनि त्यस क्षेत्रका मानिसहरू भने आफूहरू निरन्तरको डर र त्रासमा बाँचिरहेका छन् ।
१५०५ सालमा मुस्ताङ जिल्लालाई केन्द्रबिन्दु बनाएर गएको ८ दशमलव ५ म्याग्निच्युडको भूकम्प नै नेपालमा अहिलेसम्म थाहा भएकामध्ये सबैभन्दा ठूलो भूकम्प भएको बताइन्छ । त्यसपछि साढे ५ सय वर्षदेखि नेपालको गोरखादेखि पश्चिमतर्फ र भारतको देहरादुनदेखि पूर्वतिरको भागमा महाभूकम्प नगएको विज्ञहरू बताउँछन् ।
यो क्षेत्रभित्र यतिका वर्षसम्म ठृूलो भूकम्प नजानुको अर्थ यहाँ ८ म्याग्निच्युडभन्दा माथिका भूकम्प जान सक्ने शक्ति जम्मा भइरहेको छ भन्ने बुझिने राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारी बताउँछन् ।
उनका अनुसार बढी शक्ति संचित भएका कारण गोरखादेखि देहरादुनबीचको क्षेत्रमा कुनै पनि बेला महाभूकम्प जान सक्छ । पूर्वी नेपालमा १२५५ सालपछि १९९० सालमा भूकम्प आउँदा ७०० वर्ष लागेको थियो । त्यस्तै अवस्था अहिले पश्चिम नेपालमा छ ।