२०८३ असोज १८ गते आइतवार / Oct 04 , 2026 , Sunday
२०८३ असोज १८ गते आइतवार

‘मेरो संलग्नता र चासो पनि छैन’

Nada
२०८२ कार्तिक २० गते ०६:१५
Shares
‘मेरो संलग्नता र चासो पनि छैन’

काठमाडौं : नेपाल स्वास्थ्य व्यवसायी महासंघका अध्यक्ष कैलाश खड्काले वैदेशिक रोजगारीका लागि मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण बाहेक अन्य विषयमा आफ्नो संलग्नता नरहेको बताएका छन् । 

ncell

मलेसियाको विदेश मन्त्रालयले नेपाली म्यानपावर कम्पनी छनोट गर्न १० बुँदे मापदण्ड पठाएपछि त्यसको चर्को विरोध गरेर नेपालमा कुनैपनि अवस्थामा सिन्डिकेट लाग्न नदिने भन्दै वैदेशिक रोजगार व्यवसायीहरूले मंगलबार सामूहिक पतिबद्धता जनाएका थिए ।

सिन्डिकेटका विषयमा छलफल गर्न संघले पठाएको निमन्त्रणा पत्रको जवाफमा महासंघका अध्यक्ष खड्काले संघका संघर्ष समिति संयोजक देवकुमार खोखालीका नाममा लेखेको पत्रमा मलेसियाले पठाएको १० बुँदे मापदण्डका विषयमा संघले गर्ने छलफलमा सहभागी नहुने बताएका हुन् ।

मध्यान्ह दैनिकलाई प्राप्त पत्रमा उनले भनेका छन्, ‘नेपाल स्वास्थ्य व्यवसायी महासंघ र यसको अध्यक्षको नाताले विगत २० वर्षदेखि स्वास्थ्य व्यवसाय र स्वास्थ्य परीक्षणसम्बन्धी व्यवसाय गर्दै आइरहेको जानकारी गराउँदछु । साथै म कुनै म्यानपावर व्यवसायमा संलग्न नरहेकाले नितान्त स्वास्थ्य परीक्षण बाहेक अन्य कुरामा मेरो कुनै चासो र सरोकार नरहेकाले यो छलफलमा उपस्थित हुन महासंघ असमर्थ रहेको व्यहोरा जानकारी गराउन चाहन्छु ।’

संघ तथा वैदेशिक रोजगार व्यवसायीका विभिन्न घटक संस्थाले विगतमा सीमित व्यवसायीलाई मात्रै सहभागी गराएर मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणका लागि बायोमेट्रिक मेडिकल प्रणाली लागू गरेको र यस पटक नेपाली म्यानपावर कम्पनी छान्न मलेसियाबाट १० बुँदे मापदण्ड आउनुमा अदृश्य रूपमा महासंघ अध्यक्ष खड्काको नामै तोकेर उनको भूमिका र योजना रहेको दाबी गर्दै आएका छन् । 

संघका प्रथम उपाध्यक्ष सुजितकुमार श्रेष्ठले सिन्डिकेटमा सहभागी हुने योजनाबाट पछि नहटे भौतिक आक्रमण र ज्यानको समेत क्षति व्यहोर्न तयार हुनुपर्ने भन्दै खड्कालाई सार्वजनिक मंचबाटै चुनौती दिएका छन् । कतिपय व्यवसायीले सिन्डिकेटका लागि करोडौं रुपैयाँ उठाएर गैरकानुनी रूपमा मलेसिया पठाएको दाबी गरेका छन् ।

महासंघ अध्यक्ष खड्काले त्यसलाई विभिन्न रूपमा रहेका कथित अनलाइन मिडियाहरूले कपोकल्पित रूपमा आफ्नो चरित्र हत्या गर्नका लागि मलेसियाको मापदण्डलाई लिएर उक्साउने, बहकाउनेलगायतका गतिविधिहरू गरेको भन्दै त्यससम्बन्धमा आफू कानुनी उपचारमा जाने बताएका छन् । 

कतिपय वैदेशिक रोजगार व्यवसायीले अध्यक्ष खड्का नै सिन्डिकेटको योजनाकार भएको बताउने गरेका छन् । तर खड्काले संघको संघर्ष समितिलाई पठाएको पत्रमा मलेसियाको मापदण्डको विषयमा संलग्नता नरहेको र चासोको विषय समेत नरहेको दाबी गरेका छन् । उनले मलेसिया सिन्डिकेटका विषयमा संघसँग कुनै छलफल नगर्ने भए पनि भविष्यमा अन्य मुद्दाका सन्दर्भमा संघसँग छलफल र सहकार्य रहने प्रतिबद्धता जनाएका छन् ।

उनको भनाइ छ, ‘महासंघ र संघ विगत २० वर्षदेखि सहकार्य गर्दै आएकाले संघले आह्वान गरेका हरेक सामाजिक कार्यमा हातेमालो गरेको स्मरण गराउँदछु । नेपाल वैदेशिक रोजगार व्यवसायी संघ जस्तो जिम्मेवार संस्थाले जिम्मेवारीपूर्वक आफ्नो भूमिका निर्वाह गर्नेछ भन्ने विश्वास गर्दै यस नेपाल स्वास्थ्य व्यवसायी महासंघ नेपाल वैदेशिक रोजगार व्यवासायी संघको विगतको कार्यसमितिसँग पनि सहकार्य गर्दै आएको र हालको कार्यसमितिसँग पनि सहकार्य गर्ने जानकारी गराउँदछु ।’

सम्बन्धित खबर