कलैया : आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले भन्सारको नाममा मधेशमा सरकारले लुट मच्चाएको बताएका छन् ।
बाराको सिम्रौनगढमा शुक्रबार सिम्रौनगढ भन्सार नाकालाई सुचारु एवं स्तरवृद्धिका लागि आयोजित विशेष भेलालाई सम्बोधन गर्दै अध्यक्ष साहले दुनियामाथि शासन गरेको र ऐतिहासिक राजनीतिक विरासत भएको सिम्रौनगढ आज सरकारको विभेदका कारण ओझेलमा परेको बताए ।
भन्सार कानुनमा रहेको ४५ प्रतिशत कमिशनको व्यवस्था रहदासम्म मधेशमा भइरहेको सरकारी लुटपाट (छिनछोर) नरोकिने उनले बताए । प्रधानमन्त्री केपी शर्मा ओलीसँग अध्यक्ष साहले भन्सारको नाममा मधेशमा भइरहेको सरकारी लुट कहिले रोकिने भन्दै प्रश्न समेत गरेका छन् ।
‘प्रधानमन्त्रीजी, भन्सारको नाममा भईरहेको सरकारी लुटपाट कहिले रोक्नुहुन्छ ? सम्पतीको हक संवैधानिक हक हो तर तपाईंहरुले त यहाँ लुट मचाउनुभएको छ । यही देशमा हत्याराको सम्पती नखोस्ने, बलात्कारीको सम्पती नखोस्ने । तर भन्सार नबुझाएकै कारण कसैको बुवा, बाजेको सम्पती पनि खोस्ने यो कहाँको न्याय हो ?’ आजपा अध्यक्ष साहले प्रधानमन्त्री ओलीसँग प्रश्न गरे ।
देशमा लुट मचाएका लुटेराको सम्पती सरकारले नखोस्ने, आयकर, मूल्य अभिवृद्धि कर छल्ने, नबुझाउनेको सम्पती सरकारले नखोस्ने, तर सीमामा बस्ने सोझासाझा नेपाली जनताको निजी सम्पती सरकारले लुटिरहेको उनले बताए ।
‘तपाईं हेरिराख्नुभएको छ ठुलाबडाले सम्पती कर लुकाउछन् । आयकर बुझाउँदैनन्, मुल्यअभिवृद्धि कर समेत छली गर्छन् । त्यहाँ सरकारले तिनिहरुको सम्पती जफत गर्दैन । तर दुई किलो नुन, एक बोरा खाद्य ल्याउनेहरुको साइकल, मोटरसाइकल समेत खोसिन्छ । यो अत्याचार होइन भने के हो ? सम्पतीको हक संवैधानिक हक हो । के यो मधेशमा लागू हुँदैन ?’ आजपा अध्यक्ष साहले सरकारसँग प्रश्न गरे ।
सरकारको विभेदकै कारण ऐतिहासिक सिम्रौनगढ आझेलमा परेको उनले बताए । ऐतिहासिक, धार्मिक, पर्यटकीय एवं सांस्कृतिक क्षेत्र सिम्रौनगढको विकासका लागि सरकारले काम नगरेको भन्दै उनले आक्रोश पोखेका छन् ।
‘तराईका सबै जिल्लाहरुमा भन्सार कार्यालय छ । तर बारा जिल्ला जहाँ सिम्रौनगढ जस्तो राजनीतिक बिरासत, औधोगिक र व्यापारको प्रचुर सम्भावना छ त्यहाँ भन्सार कार्यालय छैन । कुनै बेला दुनियामाथि शासन गरेको बारा जहाँ औद्योगिक हब छ, त्यहाँ एउटा पनि भन्सार नाका नहुनु दुर्भाग्य छ । म प्रधानमन्त्रीजीलाई सोध्न चाहन्छु तपाईले बारामा भन्सार कार्यालय कहिले खोल्ने हो ? सिम्रौनगढसँग विभेद किन गरेको ?’ आजपा अध्यक्ष साहले भने ।
वर्तमान सरकारले मुलुकमा समृद्धि ल्याउँछौं भन्दै जनतालाई भ्रमित बनाइरहेको टिप्पणी समेत उनले गरे । प्रधानमन्त्री ओली र एमालेले आफ्नै मतदातासँग न्याय नगरेको उनले बताए । एमालेलाई मतदान गर्नेहरु आज पछुतो मानिरहेको उनले बताए ।
‘तपाईहरु हेर्दैहुनुहुन्छ आज एमालेलाई मतदान गर्नेहरु पछुतो मानिरहेका छन् । मधेशको लाईफलाईन रहेको हुलाकी राजमार्ग ६ लेनको हुनुपर्ने हो । तर यो सरकारले बनाउँदैन । किन भने अहिलेको सरकारले समृद्ध मधेश बनेको हेर्नै चाहदैन्,’ आजपा अध्यक्ष साहले भने, ‘कलैयाको त्यो ३ किलोमिटर सडक कालोपत्रे गर्न नसक्ने सरकारले समृद्ध नेपाल बनाउँछौ भन्दा हामीले पत्याइदिनुपर्ने । मतदाताले त वडा सदस्य, मेयर, उपमेयर, विधायक, सांसद सबै एमालेकै जिताए । संघीय सरकारमा प्रधानमन्त्री, भौतिक मन्त्री एमालेकै छ । प्रदेशमा पनि एमालेकै सरकार छ, पालिकामा पनि एमालेकै सरकार छ तर तीन किलोमिटर सडक कालोपत्रे गर्न नसक्ने सरकार भएर वा नभएर के हुन्छ ? उनीहरुलाई मतदान गर्नेहरु अहिले पछुताइरहेका छन् ।’
युवा नेता नविन साहको अध्यक्षतामा भएको कार्यक्रममा आजपाका नेताहरु मा. समिना हुसेन, अशोक लामा, उमेश कुशवाहा लगायतका नेता एवं उद्योग वाणिज्य संघको अध्यक्ष लालबाबु कुशवाहाको विशेष सहभागिता रहेको थियो ।