२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

गहवामाईको दोस्रो रथयात्रा सम्पन्न

ADV
महमद सदाब
२०८१ असार २३ गते ११:४९
गहवामाईको दोस्रो रथयात्रा सम्पन्न

वीरगञ्ज : प्रसिद्ध गहवामाई मन्दिरको १२औं वार्षिकोत्सवको अवसरमा दोस्रो रथयात्रा आइतबार वीरगञ्जमा सम्पन्न भएको छ । गहवामाई मन्दिरको प्राङ्गणबाट आइतबार बिहान साढे ६ बजे प्रारम्भ भएको रथयात्रा नगरका विभिन्न प्रमुख स्थानहरु घण्टाघर, रेलवे रोड, अमर चौक, छपकैया ईदगाह चोक, बिर्ता चोक, आदर्शनगर चोक, महाविरस्थानलगायतका ठाउँको परिक्रमा गर्दै पुनः गहवामाई मन्दिरमा पुगेर टुंगिएको थियो । 

रथयात्रामा हजारौंको संख्यामा भक्तजनहरुको सहभागिता रहेको थियो । रथयात्रा समितिका अध्यक्ष श्याम पोखरेलले गाउँ-गाउँबाट भक्तजनहरुको उल्लेखनीय सहभागिता रहेको जानकारी दिए । उनले भने, 'गहवामाई मन्दिर प्राङ्गणमा आज साँझ ६ बजेबाट भजन किर्तनको कार्यक्रम हुनेछ ।' साथै भोलि साँझ ५ बजे महाभण्डारा (प्रसाद ग्रहण कार्यक्रम) आयोजना हुने पनि उनले जानकारी दिए ।

वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले रथयात्राले वीरगञ्जको संस्कृति झल्काउने र सांस्कृतिक सम्पदाको संरक्षणमा महत्वपूर्ण योगदान पुर्‍याउने  विश्वास व्यक्त गरे । भक्तजनहरुको व्यापक सहभागिता सुनिश्चित गर्न आज वीरगञ्ज महानगरअन्तर्गतका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरुमा बिदा दिइएको उनले बताए  ।

वीरगञ्ज महानगरको शैक्षिक प्रशासन महाशाखाले सबै शैक्षिक संस्थानहरु बन्द गर्न अनुरोधसहित सूचना जारी गरेको थियो । आज र भोलि वीरगञ्ज महानगर क्षेत्रभित्र मदिरा, माछामासु सेवन तथा बिक्रीवितरणमा पनि रोक लगाइएको छ । 

ADVADV

सम्बन्धित खबर

Advertise