नेपाल कम्युनिष्ट पार्टी नेकपाले परिवर्तित सन्दर्भमा सबै लोकतान्त्रिक शक्तिसँग हातेमालो र सहकार्य गरेर अगाडि बढ्ने निष्कर्ष निकालेको छ ।
सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गर्ने निर्णय गरेको भोलिपल्ट आज पार्टी केन्द्रीय कार्यालय, पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले संविधानको प्रभावकारी कार्यान्वयन, लोकतान्त्रिक अभ्यासको सुदृढीकरणलाई ध्यान दिँदै सामाजिक आर्थिक रुपान्तरण, सुशासन र सामाजिक न्यायसहितको समृद्धिलाई केन्द्रमा राखेर गम्भीर आत्मसमीक्षासहित अघि बढ्ने निर्णय गरेको हो ।
बैठकले सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने कदमलाई खारेज गरेर पुनःस्थापित गर्ने फैसलालाई उच्च मूल्याङ्कन गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । “त्यसले प्रतिनिधिसभा पुनःस्थापना मात्र गरेको छैन, संविधान र लोकतन्त्रको पनि रक्षा गरेको छ । यसले देशलाई प्रतिगामी षड्यन्त्रको चक्रब्यूहमा, राजनीतिक सङ्कटको अँध्यारो सुरुङतिर लैजाने खतराबाट बचाउन योगदान पु¥याएको छ”, बैठकपछि उनले भने ।
बैठकले विघटनविरुद्धको आन्दोलनमा सक्रिय हुने सबै राजनीतिक पार्टी, नागरिक समाज, बुद्धिजीवी र आम जनसमुदायलाई धन्यवाद दिएको छ ।
प्रवक्ता श्रेष्ठले संसद् विघटन गर्ने प्रधानमन्त्रीको कदम न्यायालयले असंवैधानिक ठहर गरिसकेको अवस्थामा प्रधानमन्त्रीले पदबाट राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने पनि बताए । “प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालै प्रधानमन्त्रीबाट राजीनामा दिनुपर्छ भनेका थियौँ, तर अहिलेसम्म भएको छैन”, उनले भने, “अदालतको फैसलाअनुसार अब छिट्टै संसद्को बैठक बस्दैछ । सो बैठकबाट संविधानअनुसार नै अरु प्रक्रिया अघि बढ्छ ।”
आफूहरु जहिले पनि पार्टी एकताका पक्षमा रहेको दोहो¥याउँदै प्रवक्ता श्रेष्ठले भन्नुभयो, “हामी हिजो पनि पार्टी एकताको पक्षमा थियौँ, संविधान र लोकतन्त्रका पक्षमा, जनमुखी विकासका पक्षमा जान सकिएन भनेर बहस चलाएका थियौँ ।” उनले अगाडि भने, “पार्टीलाई फुटाउने, चोइट्याउने प्रयत्न भएकाले हामीले त्यसको विरोध गरेका हौँ, अहिले पनि हामी पार्टी एकताको पक्षमा छौँ । तर पार्टी एकतालाई प्रहार गर्ने, गुट र फुटमा रमाउने त्यस क्रममा संविधान र लोकतन्त्रमाथि आक्रमण गर्ने प्रवृत्तिले आत्मालोचना नगरे पार्टी एकता ‘कुरा’मात्रै हुन्छ ।”
प्रधानमन्त्रीले आफूले चालेको कदमप्रति आत्मालोचना नगरेसम्म पार्टी एकता हुन नसक्ने जिकिर गर्दै प्रधानमन्त्रीले तत्काल पदबाट राजीनामा दिएर गल्ती गरेको स्वीकार गरे एकता सम्भव हुने उनको भनाइ थियो ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग नेकपा अध्यक्षद्वयको भेटका विषयमा सञ्चारकर्मीले सोधेको जिज्ञासामा उनले मुलुकलाई स्थिरतातर्फ लैजान सबै लोकतन्त्रवादी शक्ति मिलेर जानुपर्छ भन्ने विषयमा छलफल केन्द्रित भएको प्रष्ट पारे। बैठकले भ्रममा परेर बाटो विराएका नेता, कार्यकर्तालाई मूल पार्टीमा फर्कन पनि आह्वान गरेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies