संविधानमै नभएको अधिकार प्रयोग गरी प्रधानमन्त्री केपी ओलीले विघटन गरेको प्रतिनिधिसभा सर्वोच्च अदालतले पुनर्स्थापना गरेको छ । मंगलवार सर्वोच्चको संवैधानिक इजलासले केही समयपछि फैसलाको पूर्णपाठ आउने जानकारी सहित संसद् विघटन गर्ने निर्णय बदर गरिएको फैसला सुनाएको छ । यो संविधानले प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार नदिएको भन्दै सर्वोच्चले संसद् विघटन गर्ने निर्णय नै बदर गरिदिएको छ । सर्वोच्चले पुस ५ यतालाई शून्य समय समेत मानेकाले संसद् विघटन नै नभएको ओदश पनि दिएको छ । सँगै, सर्वोच्चले १३ दिनभित्र प्रतिनिधिसभाको बैठक बोलाउन आदेश पनि दिएको छ । यो आदेशसँगै प्रधानमन्त्री ओलीले चाल्ने कदम तर्फ आमचासो छ । संसद् भंग भएकै दिन विभाजित नेकपा प्रचण्ड–माधव समूहका नेताहरुले भने ओलीले तत्काल राजीनामा मागेका छन् ।
संसद् पुनर्स्थापनाको निर्णयसँगै ओलीको राजीनामा मागेपनि ओलीले भने तत्काल राजीनामा नदिने अडान लिएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा स्थायी कमिटी बैठक बोलाएर ओलीले तत्काल राजीनामा नदिने निर्णय सुनाएका छन् । बैठक पछि परराष्ट्रमन्त्री एवम् यो समूहका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले मुलुकमा अस्थिरता उत्पन्न हुन नदिन तत्काल ओलीले राजीनामा नदिने निर्णय भएको जानकारी दिए । यसको अर्थ फेरि पनि ओली पुनस्र्थापित संसदको प्रधानमन्त्रीमा निरन्तरता दिन चाहन्छन् । त्यसका लागि विपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग सम्वाद शुरु भएको पनि ज्ञवालीले बताए । ओलीले त मंगलवार पनि प्रधानमन्त्री पद माग्दै फेरि पनि नेताहरु आफूसँगै आउने अभिव्यक्ति दिएका थिए ।
तर, नेकपाको इतर समूह, विपक्षी दल, नागरिक समाज लगायतले भने ओलीले तत्काल राजीनामा दिनुपर्ने बताइरहेका छन् । संसद् भंग गरेपछि स्वयम् मन्त्री ज्ञवालीले पनि संसद् पुनर्स्थापना भए नैतिकताका आधारमा तत्काल राजीनामा दिने बताएका थिए । तर, एकाएक स्वर फेर्दै राजीनामा अहिलेको प्राथमिकता नभएको निष्कर्ष निकालेको छ । जबकी आफैले विघटन गरेको संसद् पुनर्स्थापना भएपछि उक्त पदमा रहिरहन नैतिक रुपमै नमिल्ने आम पंक्तिले भनिरहेका छन् । तर, त्यसतर्फ ओलीले नजर लगाएका छैनन् । र, उनले भुलेका छन्– डिरेल भएको संविधान ट्र्याकमा आएपछि अब अगाडि जाने बाटो आफैले बुझेर खाली गरिदिनुपर्ने हो । जुन तहको बद्नाम भएको छ, त्यसलाई घटाउन पनि यस तर्फको कदम शिघ्र चाल्नु जरुरी हुन्छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies