-अच्युतप्रसाद पौडेल ‘चिन्तन’
योगभूमि नेपालमा विगत ६ वर्ष यतादेखि मात्र औपचारिक भनौँ राष्ट्रिय रुपमा योग दिवस मनाउन थालिएको छ । योग र ध्यानले व्यक्तिलाई सदाचारी बनाउन प्रयत्न गर्छ । मानव शरीरले सर्दी, गर्मीसँग लड्ने क्षमता योग र ध्यानबाट प्राप्त गर्न सक्छ । ध्यानले सिद्धि प्राप्त हुन्छ र सत्व गुणको चिन्तन गराउँछ । यसले शरीरलाई शुद्ध बनाउन प्रयास गर्छ । अनेकौं आशक्तिबाट छुट्कारा मिल्छ । ध्यानले दृष्टिकोणलाई फराकिलो बनाउँछ । ध्यान एक त्यस्तो अवस्था हो जसले ईश्वर वा अल्लाहसम्म सम्पर्क गर्न सहयोग गर्छ । योग साधनाका विभिन्न अवस्था र चरणहरु छन् । शारीरिक तन्दुरुस्ती र मानसिक भनौं आत्मबल ध्यानबाटै प्राप्त हुन्छ । शरीरमा पुनर्उर्जा पनि मिल्छ । विश्वका हरेक कुनामा यसले आफ्नो अस्तित्व देखाउँदैै आएको छ । उत्पादन र उत्पादकत्व बृद्धिमा स्वच्छ मन हुनुपर्छ । दूषित खानाले विचारलाई पनि प्रदूषित गराउँछ । मान्छेलाई अस्थिर बनाउने तत्व मन नै हो । मन र बुद्धिकै कारण मानव जीवन सफल, सार्थक र उपयोगी बन्ने हो ।
विज्ञानलाई सही, सदुपयोग गर्दै संसारमा हाँसी–हाँसी जीवन बिताउन सक्ने खुबी प्रदान गर्ने योग एवं ध्यान साधना गरेरै आज नेतृत्वले ठूला र गम्भीर संकटबाट पनि मुक्ति दिलाएका कैयन उदाहरण छन्, हाम्रा सामु । हतियार सही रुपमा सञ्चालन गर्ने प्रहरी, सेना, औद्योगिक कल, कारखानामा काम गर्ने मजदूर र व्यवस्थापक, बजार सञ्चालन गर्ने व्यापारीदेखि उच्च प्रशासक मात्रै होइन देश हाँँक्ने नेतृत्वलाई ध्यान र योेगले सही मार्ग निर्देश गरेको हुन्छ । संसारमा आज योग गुरुहरुले गरेको चमत्कार हेर्न लायक देखिन्छ । नियमित ध्यानमा बस्ने, योगाभ्यास गर्ने व्यक्तिमा रोग निरोध शक्ति त बढी हुन्छ नै । क्षणिक आवेग, तनाव, क्रोधबाट पनि मुक्ति पाउने हुँँदा सकल जीवनमा यसले सार्थकता ल्याउँछ । तनाव रहित जीवनले गरेका निर्णयहरु पछिसम्म दिगो हुन्छन् । हतास मनस्थिति र दबाबबाट भए गरेका निर्णयहरु तत्काल राम्रो देखिए पनि परिणाम लामो समयसम्म टिकाउ हुन्न ।
आजको हाम्रो राजनैतिक किचलो हतास मनस्थितिको परिणाम हो । आन्दोलनबाट आएको सत्ता संसारमै दिगो भएको छैन । दबाब, आयातित र स्वार्थवश बनेका हाम्रा संविधानहरुले स्थिर रुपमा काम गरेको छैन । ७० वर्षमा ७ वटा संविधान बनिसके, तैपनि जनता निराश छन् । बेलायतमा अलिखित संविधान छ । अमेरिका, भारतमा एउटै संविधानले काम गरेको कति वर्ष भैसक्यो । गरीब देशमा दर्जनौँ संविधान बनाउँदै गर्ने आपैmँ च्यात्त्तै जाने बडा नौलो बानीको विकास भएको छ हामीकहाँ । १३ सालदेखि आवधिक योजनाहरुको थालनी भयो, अहिलेसम्म विकासको प्रतिफल आशालाग्दो छैन । देशको आर्थिक दूर्गति मात्रै होइन आर्थिक वृद्धि शून्य प्र्रतिशतमा झरेको छ । विदेशहरुमा ध्यान,योगस्थलहरु छुट्याई कल कारखाना, कार्यालयमै निश्चित समय तोकि श्रमिक लगायत अन्य जनशक्तिलाई यसमा समाहित गरिएको हुन्छ ।
ध्यान योगमा समाहित भएको व्यक्ति हत्तपत्त आत्महत्याको प्रयास गर्दैन । हिजोआज हामीकहाँ विभिन्न परिवेशले मानिस आत्महत्यातिर लम्केको देखिन्छ । यसको संख्या पनि निरन्तर बढेको छ । योगमा निपुण व्यक्ति आपराधिक हुँदैन । राज्यमा अपराधीहरुको संख्या कम भयो भने शान्ति सुरक्षाका लागि गरिने अधीक खर्च हातहतियारमा विकास, समाज सेवामा लगाउन सक्छ ।
देशमा सँधै लुटपाट, आगजनी, तोडफोड, हत्या, हिँसा हड्ताल हँुदैन । सौम्य र शान्त नेता अनि तिनका समर्थक जनताबाट भएको विकास दिगो हुन्छ र हामीले तय गरेको विकासको रोडम्यापको पनि सार्थकता रहन्छ । हिजोआज विज्ञानले पोल्टामा हालेको आयुर्वेदको मूल विषयबस्तु नै हो योग र ध्यान । कोरोनाले विज्ञानलाई चुनौती दिएको छ अहिले । २३ लाख मान्छे एकैचोटि निल्यो यसले, खै त औषधि र विश्व स्वास्थ्य संगठन, के उसको काम कोरोनाको बोधार्थ मात्रै हो ? योगले शरीरमा ‘एन्टीवोडी’ निर्माण गर्छ र रोगसँग लड्ने क्षमताको विकास गर्छ । हाम्रो आयुर्वेद संयन्त्रको लगानी खेर गएको छ । कोर्ष सिलेबसमा राखेर मात्रै हुन्न । मानव जीवन स्वस्थ र तन्दुरुस्त भए मात्र अन्य विषयले काम गर्ने हुन् । मान्छे नभए के को लागि विकास ?
योग र ध्यानमा एकाग्रता जरुरी छ । व्यक्ति निश्चल हुनुपर्छ । यन्त्र, उपकरण, साज, सज्जा, ध्वनी, संगीत, सञ्चारका साधन ध्यान गर्दा साथमा नहुनु राम्रो हो । इन्द्रियका विषयवस्तुलाई एकत्रित गरेर कुनै एक स्थानमा राखी मनलाई एकाग्र गराइनु ध्यान हो । यसो गर्दा इन्द्रियसहित मन स्थिर हुन जान्छ, चित्त चञ्चल हुँदैन । बादलमा चम्कने विजुलीझैँ बारम्बार विषयप्रति मन चम्कन पाउँदैन । जसरी वनस्पतिका पातमा परेका पानीको थोपा पातमा खेलिरहन्छ ठीक त्यस्तै ध्यान मार्गमा केन्द्रित मन साधकको अन्तर हृदयमा मात्र खेलिरहन्छ, बाहिर भड्किदैन । आलस्य त्यागेर योगमा भनौ ध्यानमा निरन्तर लाग्नु वेश हुन्छ । शुरुमा ध्यानमा केही बाधाहरु आउँछन् । मनमा क्लेश, वितर्क पैदा हुन सक्छ तर, आत्मकल्याणको पूर्व आधार मानेर स्थितचित्त हुनु उत्तम हुन्छ । मन र इन्द्रिय ध्यानस्थ भएपछि आफूभित्र आफैंमा शान्ति प्राप्ति हुन्छ । शान्ति बजारमा किन्ने विषय होइन, आपैmँले बनाउने हो । योगबाट कसैप्रति द्वेष, छिद्रान्वेषण, याचना वृत्ति, पर निन्दा सबै हटेर जान्छ । मूलतः क्रोधमाथि विजयी बन्छ । क्रोध, आवेग, तनावबाट पैदा हुने मनको जलन र शारीरिक रोगहरु विस्तारै हटेर जान्छन् । रक्तचाप जस्तो डरलाग्दो रोग र मधुमेह जस्तो रोगलाई योगमा वस्नेहरुले र नित्य व्यायाम गर्नेहरुले विजय प्राप्त गरेका छन् । आहार, बुद्धि, विचार शुद्धि निरन्तर शारीरिक व्यायाम एवं समय मिलाई ध्यानमा, योगमा, रहँदा शरीरका दुर्वलताहरु स्वतः हटेर जान्छन् ।
अक्षर ब्रह्मको रुपमा उसलाई प्राप्त गर्न सकिन्छ । जुन कुरा कहिल्यै नाश हुन्न त्यो अक्षर हो, अभय हो । अक्षर ब्रह्मबाट आकाश, आकाशबाट, जल र जलबाट पृथ्वी बनेको हो । पृथ्वीबाट पार्थिव हाम्रो शरीर बनेको हो । पृथ्वी नभए पार्थिव हुँदैन । पार्थिव शरीर जलमै लय हुन्छ । जलबाट यो अग्निसम्म पहुँच हुन्छ, अग्निबाट वायुसम्म र वायुबाट आकाशसम्म पहुँच हुन्छ । आकाशबाट परमात्मा सम्म लीन हुन पुग्छ । अर्थात् जहाँबाट आएको त्यही फर्कन्छ । स्थायी घर त्यही हो । यहाँको घर अस्थायी हो भनाँै जीव पाहुना हुन् पृथ्वीका क्षण भरका, समय भरका, काल भरका । परमात्मा प्राप्ति भैसकेपछि पुनर्जन्म हुँदैन । त्यो परमात्मा कस्तो होला एक पटक चिन्तन गरौं । परमात्मा न ठण्डा छ न गरम । ऊ कठोर छैन, कोमल छ । तीतो, पिरो,टर्रो, नुनिलो ऊ केही होइन, माधुर्यता उसको गुण हो । शब्द, गन्ध, रुपबाट पनि ऊ रहित छ । त्वचाले स्पर्शको, जिभ्रोले रसको, नाकले बास्नाको, कानले आवाजको, नेत्रले रुपको अनुभव गरेझैं परमात्माको अनुभव त्यसरी हुँदैन । जीव र शिवको भिन्नता नै त्यही हो । शरीरधारी देखिए पनि ईश्वरको शरीर हाम्रो जस्तो हुँदैन । दिव्य हुन्छ, लीला दिव्य, धाम दिव्य, काम दिव्य भएझै ईश्वरको शरीर देहधारीझैं अवतार विशेषमा देखिए पनि त्यो दिव्य नै हुन्छ ।
अध्यात्म ज्ञान विना परमात्माको ध्यानमा मन जाँदैन । अध्यात्मज्ञानबाट योगमा समाहित भएपछि परमात्माको दर्शन आपैmँ हुन्छ । परमात्मा ज्ञानको श्रोत हो र विज्ञानको । ज्ञान बिनाको, अध्यात्म बिनाको विज्ञान लँगडो हुन्छ, त्यसैले त हिरोसिमा र नागाशाकीमा ठोक्किन्छ, त्यसैले त ट्विन टावरमा सेप्टेम्बर ११ मा ठोक्किन्छ, त्यसैले त १० वर्षे जनयुद्धका नाममा बुद्धको देशमा ठोक्किन्छ, हिटलर शाकाहारी थिए, मतपेटिकालाई साक्षी पनि बनाए तर उनको मनमा शान्ति भएन, गान्धीले हतियार बिना नै समाजको परिवर्तन गरे । मस्तिष्कको दाता ईश्वर हो, विज्ञानको श्रोत मानव हो भने ज्ञानको श्रोत ईश्वर हो । पुस्तक पढेरै मान्छे ठूलो हुने होइन, अन्तरमुखी बन्नलाई ध्यानले मद्दत गर्छ । वहिर्मुखी मात्र हुँदा विज्ञानको श्रोत बुझ्न सकिन्न । बिजुली बन्न पानीको आवश्यकता छ ठीक त्यस्तै विज्ञानको ज्ञाता र सदुपयोगी बन्न अध्यात्मकोे आवश्यकता छ । अध्यात्म ज्ञानको परिचय दिने धेरै मार्गहरु छन् । त्यसमध्ये एउटा मार्ग हो योग र ध्यान ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies