२०८२ फागुन २७ गते बुधवार / Mar 11 , 2026 , Wednesday
२०८२ फागुन २७ गते बुधवार
Ads

षट्कोण आर्ट्सले घोषणा गर्‍यो ‘लालीबजार’

shivam cement
२०८२ जेठ २ गते १६:१९
Shares
षट्कोण आर्ट्सले घोषणा गर्‍यो ‘लालीबजार’

काठमाडौं : ‘जात्रा’ शृंखलामार्फत स्थापित भएको ब्यानर षट्कोण आर्ट्सले नयाँ फिल्म ‘लालीबजार’ घोषणा गरेको छ । ‘जात्रा’, ‘जात्रै जात्रा’, ‘महापुरुष’ र ‘महाजात्रा’ निर्माण गरेर दर्शक र प्रदर्शकको विश्वास जितिसकेको उक्त ब्यानरले पहिलोपटक बाहिरी निर्देशकसँग काम गर्न लागेको हो । फिल्मका लेखक तथा निर्देशक यम थापा रहेका छन् । फिल्मलाई रवीन्द्रसिंह बानियाँ र म्याक्स दीपेस खत्रीले निर्माण गर्दैछन् भने यस फिल्मका कार्यकारी निर्माता प्रदीप भट्टराई हुन् ।

निर्माता बानियाँले षट्कोण आर्ट्सले स्क्रीप्टकै खोजीको क्रममा निर्देशक थापासँग सहकार्यको सुरुवात भएको बताए । उनले भने, ‘हामी अन्य लेखक तथा निर्देशकसँग सहकार्य गर्न छलफलमा थियौं । राम्रो कथा दर्शकसम्म जानबाट बञ्चित नहोस् भनेर हामीले केही लेखक तथा निर्देशकसँग सहकार्यका लागि छलफल गरेका थियौं । सोही क्रममा निर्देशक थापाले पठाउनुभएको स्क्रिप्टले हामीलाई आकर्षित गर्‍यो । उहाँले स्क्रिप्ट लिएर काम गर्नुस् भन्नुभएको थियो तर हामीले नै निर्देशन गर्न आग्रह गर्‍यौ ।’

निर्माता बानियाँले फिल्म घोषणासँगै रोयल भीमसेन (ट्राइडेन्ट कन्सेप्ट) ले तयार पारेको ‘मिनिमल पोस्टर’ पनि सार्वजनिक गरेका छन् । जहाँ कलाकारको अनुहार नराखी पात्रको परिचय दिइएको छ । ‘लालीबजार’का लागि तयार गरिएको कन्सेप्चुअल मिनिमल पोस्टरमा शीर्षकको अक्षर विन्यासमा एक प्रकारको खस्रोपन र विशेष बनावट देखिन्छ, जहाँ रातो थोप्लालाई टिकुलीको रूपमा प्रस्तुत गरिएको छ । यसले शीर्षकमा नै कुनै द्वन्द्व वा कथा लुकेको संकेत गर्दछ ।

एक पुरानो परम्परागत चुरालाई फूलको बुट्टासहित गोलो आकारमा स्केच गरिएको छ । यो गोलाकार चुराभित्र, एउटा चम्किलो रातो लिपस्टिक ठाडो अवस्थामा रहेको छ भने एउटा गोली तेर्सो परेर लडिरहेको देखिन्छ । भीमसेनका अनुसार, यी तत्वहरूको संयोजनले गहिरो लुकेको अर्थ बोकेको छ र चुराको गोलाबाट बाहिरतिर उडिरहेका चराहरूले आशा र स्वतन्त्रताको अनुभूति दिलाउँछन् ।

‘लालीबजार’ का लागि कलाकार छनोट प्रक्रियामा रहेको निर्माता बानियाँले जानकारी दिएका छन् । उनले आगामी दशैंलगत्तै चलचित्रको छायांकन गरिने जानकारी दिए । षट्कोण आर्ट्सले एकल निर्माता भएर निर्माण गरिरहेको ‘लालीबजार’ पाँचौं फिल्म हो । यसबाहेक ‘टल्कजंग भर्सेस टुल्के’, ‘डाकिनी’, ‘सुपर मंक’ लगायतका फिल्ममा अन्य ब्यानरसँग सहकार्य गरेको छ ।

ताजा खबर

सम्बन्धित खबर