काठमाडौं : कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माको संयोजनमा शनिबार सगरमाथा बेसक्याम्पमा ‘जलवायु परिवर्तन, हिमाली जीवन र सरकारसँगको अपेक्षा’ विषयमा विशेष संवाद भएको छ ।
शर्माको निमन्त्रणामा गृहमन्त्री रमेश लेखक र पर्यटन मन्त्री बद्री पाण्डे सगरमाथामा बेसक्याम्प पुगेका छन् । ३१ पटक सगरमाथा आरोहण गरेका कीर्तिमानी आरोही कामिरिता शेर्पालाई सम्मान गरेर सुरु गरिएको संवादमा सरकारले तत्कालीन र दीर्घकालीन रूपमा गर्नुपर्ने १६ बुँदे कार्यहरूबारे स्थानीयका तर्फबाट आरोही बाबु शेर्पाले वाचन गरेका थिए ।
महामन्त्री शर्माले आरोहण प्रशिक्षण र हिमाली क्षेत्रका नागरिक एवं हिमाल आरोहण क्षेत्रले भोग्नुपरेका समस्या पहिचान गरेर मन्त्रीहरूको ध्यानाकर्षण गराएका छन् ।
गृहमन्त्री लेखकले अहिलेको सरकार जलवायु परिवर्तन र हिमाली जीवनको मुद्दामा गम्भीर ढंगले कार्य गर्न समर्पित रहेको बताए । पर्यटन मन्त्री बद्री पाण्डेले पर्यटन क्षेत्रको समग्र विकास गर्न दिइएका १६ बुँदाको कार्यान्वयनमा आफू विशेष सक्रियता साथ लाग्ने प्रतिबद्धता व्यक्त गरे ।
शर्माले बेसक्याम्पमा सञ्चार टावर, भरियाको बिमा, सुरक्षा युनिट जस्ता विषयमा सरकारले अविलम्ब ध्यान दिनुपर्नेमा जोड दिए । कार्बन उत्सर्जन बढी गर्ने ठुला राष्ट्रहरूमाथि दबाब बढाउन साना राष्ट्रहरूको नेतृत्व नेपालले गर्नुपर्ने उनले बताए ।
कार्यक्रममा कीर्तिमानी आरोही कामिरिता शेर्पां, डा. आशिष पौडेल, मिङमा छिरिङ शेर्पा, दावा शेर्पा, पासाङ भोटे लगायतले सगरमाथा क्षेत्रले भोग्दै आएको संकट समाधान गर्न सरकारले विशेष योजना बनाउनु पर्नेमा ध्यानाकर्षण गराए ।