२०८२ असार १९ गते बिहिवार / Jul 03 , 2025 , Thursday
२०८२ असार १९ गते बिहिवार
Ads

स्याङ्जा सहयोग समाज कतारको सांगीतिक कार्यक्रममा पशुपति, शर्मिला र रामचन्द्रको धमाका

shivam cement
तिलु शर्मा पौडेल
२०८२ जेठ ४ गते १३:२३
स्याङ्जा सहयोग समाज कतारको सांगीतिक कार्यक्रममा पशुपति, शर्मिला र रामचन्द्रको धमाका

दोहा, कतार : स्याङ्जा सहयोग समाज कतारले आयोजना गरेको सांगीतिक कार्यक्रममा नेपालबाट आमन्त्रित कलाकारहरूले आफ्ना प्रस्तुति मार्फत धमाका मच्चाएका छन् । जिल्लामा रहेका "अनाथ तथा असहाय बालबालिकाहरूको सहयोगार्थ" समाजले आफ्नो २१औं स्थापना दिवस तथा २०औं वार्षिकोत्सवको अवसरमा आयोजना गरेको सांगीतिक कार्यक्रममा बहुचर्चित लोकदोहोरी सर्जक तथा गायक पशुपति शर्मा, लोकदोहोरी गायिका शर्मिला गुरुङ र रामचन्द्र ढकालले धमाका मच्चाएका हुन् ।

निर्धारित समयभन्दा निकै ढिला सुरु भएको कार्यक्रमको औपचारिक उद्घाटन पञ्चेबाजासँगै दीप प्रज्वलन, केक काटेर गरिएलगत्तै सुधा परियारले स्वागत नृत्य पेस गरिन् । समाजका अध्यक्ष घनश्याम अर्यालको सभाध्यक्षता तथा कतारका सफल व्यवसायी तथा एनआरएनए आईसीसीका उपाध्यक्ष राज रेग्मीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको मध्यान्तर तिर नेपालबाट आमन्त्रित लोक तथा दोहोरी गायक रामचन्द्र ढकाल स्टेज चढे । विशेषगरी सालै जो विधामा आफ्नो छवि बलियो बनाएका ढकालले स्याङ्जाको बजारसहित आफ्ना नयाँ पुराना गीतहरू पेस गरे । ढकाल प्रस्तुतिलगत्तै कतारमा रहेका केही प्रतिभाशाली कलाकारहरूले आफ्ना सांगीतिक प्रस्तुति दिए ।

न्यूनतम शुभकामना मन्तव्य रहेको कार्यक्रमको दोस्रो अन्तिम प्रहरमा चर्चित लोक तथा दोहोरी गायक पशुपति शर्मा आफ्ना हिट गीतका टुक्का गाउँदै स्टेज चढे । उनले आफ्नो चर्चित गीतहरू 'मलाई अमेरिका पनि यहीँ'बाट आफ्ना प्रस्तुति राख्न सुरु गरेर 'क्यार्न माया मारिच्चेउ', 'स्याङ्जा जाने बाटोमा तनहुँ', पञ्चेबाजा गीत 'डल्ली'लगायतका गीतहरू पेस गरे । कतारमा रहेर गायिकाको रूपमा स्थापित रेश्मी सेन्चुरी र पशुपति शर्माले 'आँधीखोले माया' संयुक्तरूपमा पेस गरे ।

समाजका वरिष्ठ उपाध्यक्ष तथा कार्यक्रम संयोजक शिवराम ढकालले स्वागत मन्तव्य राख्दै कार्यक्रमका बारेमा स्पष्ट पारे भने अन्तिम सांगीतिक प्रस्तुतिका रूपमा नेपालबाट आमन्त्रित अग्रज लोक तथा दोहोरी गायिका शर्मिला गुरुङ स्टेजमा चढिन् । उनले राम्दी पुल तर्ने बित्तिकै भन्ने गीत गाउँदै आफ्ना प्रस्तुति राख्न सुरु गरिन् । 'रानीफूल बसायो', केही सालै जो गीतसहित उनले आफ्ना नयाँ पुराना गीतहरू गाइन् । सांगीतिक प्रस्तुति सकिएसँगै नेपालबाट आमन्त्रित कलाकार, कार्यक्रमका प्रायोजक र प्रमुख अतिथिलाई सम्मान गरिएको थियो ।

समाजका महासचिव रोशन अर्यालले सहजीकरण गरेको कार्यक्रममा आफ्नो शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि रेग्मीले नेपालबाट चर्चित कलाकार निमन्त्रणा गरी नेपाली मौलिक भाषा र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गरेको बताउँदै अनाथ बालबालिकाहरूका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । तमु संस्कृति अनुसार कतारमा रहेका तमुहरूको साझा सामुदायिक संस्था तमु (गुरुङ) समाजले आयोजक संस्थालाई उपहार स्वरूप कोसेली प्रदान गर्दै कार्यक्रमका सभाध्यक्षलाई क्रेकीद्धारा सम्मान गरेका थिए । कार्यक्रमलाई भव्य सफल बनाउन फरक-फरक कोणबाट सहयोग गर्ने सम्पूर्ण सहयोगीसहित सिंगो कार्यसमिति प्रति कृतज्ञता व्यक्त गरेका थिए । कार्यक्रममा कतारमा स्थापित विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिसहित करिब एक हजार जनाको उपस्थिति रहेको थियो ।

ADV

सम्बन्धित खबर

Advertise