सिराहा : गत चैत १ गते सिराहाको लहानस्थित मालपोत कार्यालयमा बम विस्फोटमा संलग्न मुख्य अभियुक्तलाई प्रहरीले पक्रेको छ । लहान नगरपालिका–८ स्थित भाडामा रहेको भूमिसुधार तथा मालपोत कार्यालयको माथिल्लो तल्लामा मध्यान्ह १२ बजेर ४० मिनेटमा कुकर बम विस्फोटमा ८ जना घाइते भएका थिए ।
सिराहा मालपोत कार्यालयमा भएको बम विस्फोटमा संलग्न रहेको आरोपमा पक्राउ पर्नेमा सिराहा सुखीपुर–५ बस्ने २५ वर्षीय राम रिझन यादव र सिराहा लक्ष्मीपुर पतारी गाउँपालिका–३ बस्ने २६ वर्षीय अभिमन्यु गिरी रहेको प्रदेश नम्बर २ का प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) धीरजप्रताप सिंहले जानकारी दिए ।
‘उनीहरुलाई २ नम्बर प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय सिराहाबाट खटिएको विशेष टोलीले सुखीपुर नगरपालिका–५ बाट पक्राउ गरेको हो,’ डीआईजी सिंहले भने । पक्राउ परेका दुवैले घटनामा आफूहरुको संलग्नता रहेको स्वीकार्दै साबिति बयान दिएका डीआईजी सिंहले जानकारी दिए ।
विस्फोटलगत्तै तराईं जनतान्त्रिक मुक्ति मोर्चा (गोइत समूह) ले घटनाको जिम्मेवारी लिएको थियो । पक्राउ परेका दुवै जनाले गोइत समूहका अध्यक्ष जयकृष्ण गोइतको निर्देशनमा आफूहरु परिचालित भएको बयान दिएका छन् । गोइतकै निर्देशनमा सिराहा सुखीपुर–८ बस्ने आरके भन्ने राम कुमार यादवले कुकर बम दिएको र मालपोत कार्यालयमा विस्फोट गराएको उनीहरुले प्रहरीसमक्ष बयान दिएका छन् ।
पक्राउ परेका दुई जनाले मालपोत कार्यालयले भू–माफियालाई सहयोग गरेका कारण बम विस्फोट गराउनु पर्छ भनेर गोइतले आफूहरुलाई परिचालित गरेको पनि प्रहरीलाई बयान दिएका छन् ।
मालपोत कार्यालयमा सेवाग्राहीको अत्यधिक भीड भएको समय हेरेर चैत १ गते दिउँसो १२ः४० बजे प्रेसर कुकर बम विस्फोट गराइएको थियो ।
प्रहरीका अनुसार सिरहा मालपोत विस्फोट प्रकरणमा फक्राउ परेका दुईजनामध्ये एकजना सिराहाको सुखीपुर–५ बस्ने २५ वर्षीय राम रिझन यादव यसअघि पनि बम विस्फोटकै घटनामा संलग्न रहेको भनेर पक्राउ परेका थिए । ९ चैत २०७४ मा सिराहाकै लहानस्थित विकास ज्वेलर्समा भएको बम विस्फोट प्रक्ररणमा पक्राउ परेका रामरिझन सिराहा जिल्ला अदालतबाट १ लाख धरौटीमा रिहा भएका थिए ।
लहानको गहना पसल बम विस्फोट प्रक्ररणमा १ लाख धरौटी तिरेर छुटेपछि पनि रामरिझने मोरङको विराटनगरमा समेत बम विस्फोट गराएको प्रहरी रेकर्डमा उल्लेख छ । ३१ साउन २०७५ मा विराटनगर उपमहानगरपालिकाको कार्यालयमा बम विस्फोट गराएको भन्दै प्रहरीले उनलाई पक्राउ गरेको थियो । उक्त मुद्दामा मोरङ जिला अदालतले उनलाई ३५ हजार रुपैयाँ धरौटीमा छाडेको थियो ।
पक्राउ परेका अभिमन्यू गिरी विगत ५ वर्षदेखि तराईं जनतान्त्रिक मुक्ति मोर्चा (गोइत समूह) मा संलग्न रहेका पाइएको डीआईजी सिंहले बताए । गोइत समूहमा संलग्न रहेर गिरीले बलपूर्वक चन्दा असुली गर्ने गरेका थिए ।
पक्राउ परेका उनीहरुको साथबाट २ थान कटुवा पेस्तोल, पेस्तोलमा प्रयोग हुने ४ राउण्ड गोली, मालपोत कार्यालयमा बम राख्न जाँदा रामरिझन यादवले लगाएको रातो ज्योकट, चप्पल र टिसर्ट बरामद भएको प्रहरीले जनाएको छ ।
चैत १ गते भएको विस्फोटमा परी मालपोत कार्यालयका नायब सुब्बा शिवकुमार यादव, लेखापढी व्यवसायी भोलाबहादुर मगर, गोलबजार नगरपालिकाका लक्ष्मी राना, बेचनी मगर, सिराहा नगरपालिकाका लालबहादुर विश्वकर्मा, फूलकुमारी ठाकुर, बद्रिनारायण यादव, धनगढीमाई नगरपालिका–४ का दिनेश भण्डारी घाइते भएका थिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies