प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको तर्फबाट आयोजना गरिएका कार्यक्रममा बोलाएर पनि कार्यक्रममा सहभागी नहुनेहरुलाई अर्को पटकदेखि नबोलाउन निर्देशन दिएका छन् । सोमबार सिंहदरबारमा बसेको गणतन्त्र दिवस मूल समारोह समितिको बैठकमा बोल्दै उनले यस्तो निर्देशन दिएका हुन् ।
उनले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहप्रति लक्षित गर्दै सधैं कार्यक्रममा बोलाइरहनुपर्ने तर कहिल्यै नआउने गरेको टिप्पणी गरे । उनले कुनैपनि सरकारले आयोजना गरेका कार्यक्रमहरुमा सधैं नाम राखेर बोलाइरहने, तर नआउने गरेको भन्दै उनीहरुको रेकर्ड हेरेर आगामी कार्यक्रमदेखि नाम नराख्न निर्देशन दिए । कुनै अर्थ र महत्व नै नबुझ्नेहरुको नाम सधैं झुन्ड्याइरहने काम राम्रो नभएको उनको भनाइ थियो ।
प्रधानमन्त्री ओलीले गणतन्त्र दिवस जनस्तरमा मनाउनुपर्ने र सरकारी कार्यक्रममा मात्रै भर पर्न नहुने बताए ।