२०८२ जेठ ५ गते सोमवार / May 19 , 2025 , Monday
२०८२ जेठ ५ गते सोमवार
Ads

पहिरोले विस्थापित तिलगाउँवासी राहतको पर्खाइमा

मध्यान्ह
२०८२ जेठ ५ गते १७:३४
पहिरोले विस्थापित तिलगाउँवासी राहतको पर्खाइमा

सिमकोट (हुम्ला) : हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६ तिलगाउँमा हिमपहिरोले क्षति पुर्‍याएको छ । १ जेठ आएको बाढीपहिरोले तिलगाउँमा सिँचाइ, जलविद्युत्, खानेपानीलगायत संरचनामा क्षति पुर्‍याएको हो ।

नाम्खा–६ का वडाध्यक्ष पाल्जोर तामाङका अनुसार तिलगाउँभन्दा माथि रहेका २ हिमताल भासिँएका छन् । हिमताल भाँसिएपछि गाउँमा बाढीपहिरो आएको उनले बताए । ‘हिमताल फुटेका होइनन्, जमिन नै भासिएको हो’, वडाध्यक्ष तामाङले भने । आइतबार ९ घण्टा हिँडेर उनको टोली ताल भासिएको ठाउँमा पुगेको थियो । ‘लेदो र पहिरो आउने क्रम रोकिएको छ । यहाँका बासिन्दा त्रसित छन्’, उनले भने । 

तिलगाउँका १९ परिवारका ३३ जना गाउँमा बाढीपहिरो आएपछि खोलाको दूषित पानी पीउन बाध्य छन् । खानेपानीका पाइप र मुहानमा क्षति पुगेको वडाध्यक्ष तामाङले बताए । ‘गाउँमा ल्याइएको खानेपानीको मुहान नै बगाएको छ । पाइप फुटेका छन् । स्थानीयले खोलाको धमिलो पानी पिउन थालेका छन्’, उनले भने ।

तिलगाउँमा बाढीपहिरो आएपछि यहाँका ३३ जना विद्यालय नजिकै पाल टाँगेर बस्दै आएका छन् । गाउँमा बूढापाका र बालबालिका मात्रै छन् । उनीहरू पहिरोको त्रासले तिलगाउँभन्दा टाढा त्रिपालमुनि बस्न थालेका छन् । ‘दिउँसो खानेकुरा लिन गाउँमा आउने गरेका छन्, राति सुत्न भने त्रिपाल टाँगेकै ठाउँमा फर्किने गरेका छन्’, वडाध्यक्ष तामाङले भने ।

गाउँका अन्य युवायुवती रोजगारीका लागि तिब्बत गएका छन् । हिमपहिरोले विभिन्न भौतिक पूर्वाधारदेखि खेतीयोग्य जमिनमा क्षति पुर्‍याएको छ ।

बाढीले गाउँ नजिक रहेको १५ किलोवाट क्षमताको जलविद्युत् आयोजनामा क्षति पुर्‍याएको छ । अहिले यहाँका बासिन्दा बिजुलीबिहीन अवस्थामा छन् । मोबाइलमा चार्ज गर्न समस्या भएको स्थानीयले बताएका छन् । पाक्न लागेको उवा बाली पनि सबै सखाप भएको छ । उवा बाली सबै बगाएपछि स्थानीयवासी राहतको प्रतीक्षामा रहेका वडाध्यक्ष तामाङले जानकारी दिए । 

यसैबीच जोखिममा रहेका १८ घरपरिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । 

तिलगाउँको उत्तरपट्टिबाट सुक्खा पहिरो आएर सोही ठाउँमा बसोवास गर्ने स्थानीयहरूको घरमा क्षति पु¥याएको छ । आवश्यक विपद् उद्वार सामग्री तथा बन्दोवस्तीका सामानसहित सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट हिल्साको सुरक्षा फौज उक्त स्थानमा परिचालित भएको छ ।

ADV

सम्बन्धित खबर