काठमाडौं : खाडी मुलुक साउदी अरेवियाले विदेशी कामदारको माग एप्रुभल गर्दा घरेलु कामदारलाई चिनाउन प्रयोग गरिदैं आइएको ‘सर्भेन्ट’ तथा ‘मेड’ शव्द प्रयोगमा प्रतिवन्ध लगाएको छ ।
आप्रवासी कामदारको अन्तराष्ट्रिय पहिचान विपरित र उनीहरुको स्वाभिमानमा समेत चोट पुराउन सक्ने भन्दै मन्त्रालयले ‘सर्भेन्ट’ तथा ‘मेड’ शव्द प्रयोगमा प्रतिवन्ध लगाएको हो ।
साउदी अरबको वाणिज्य मन्त्रालयले घरेलु कामदार आपूर्ति सम्वन्धि विज्ञापनमा मेड भन्ने शव्द राख्न बन्देज लगाउँदै घरेलु कामदारहरुको हैसियत जनाउन कामदार वा महिला कामदार भन्ने शव्द प्रयोग गर्नुपर्ने बताएको छ ।
त्यसैगरी यसअघि प्रयोग हुँदै आएको ‘किन्न र बेच्ने’ भन्ने शब्दहरुको सट्टा सेवाको परिवर्तन भन्ने शब्द प्रयोग गर्न निर्देशन दिएको छ । रोजगारदाताले घरेलु कामदारको विज्ञापन प्रकाशित गर्दा व्यक्तिगत तस्वीर परिचयपत्र, आवासीय कार्य (अकामा) वा घरायसी काम गर्ने विदेशी कामदारको कुनैपनि परिचय प्रयोग नगर्न र रोजगारदाता परिवर्तनका क्रममा विदेशी कामदारलाई कुनै पनि आर्थिक दायित्व बहन नगराउन पनि निर्देशन दिएको छ ।
यसैवीच साउदी अरबको मानव संसाधन तथा सामाजिक विकास मन्त्रालयले घरेलु कामदार भागेमा वा करार अवधिसम्म कामगर्न इन्कार गरेमा रोजगारदातालाई विमा भुक्तानीको निती ल्याउने तयारी गरेको बताएको छ । दुईवर्ष अवधिको हुने उक्त विमा पोलिसीको प्रिमियम कामदार भर्ना दस्तुर बराबर ५ सय साउदी रियाल रहने छ ।
करार अवधि अगाडी नै कामदार भागेमा वा रोजगारी छोडेका रोजगारदाताले उक्त रकम क्षतिपूर्ति वापत पाउने छन् । त्यसका लागि साउदी सेन्ट्रल बैकसंग सहमति हुन लागेको साउदी गजेटले उल्लेख गरेको छ ।
साउदी अरेवियाले केहि समय अगाडी ‘कफाला प्रणाली’मा आधारभूत परिवर्तन गर्दै विदेशी कामदारले सहज रुपमा रोजगारदाता फेर्न र स्वदेश फर्किन रोजगारदाताको अनुमति आवश्यक नपर्ने व्यवस्था गरेपनि विशेषगरी घरेलु कामदारका हकमा धेरै सुधार गर्न चाहेको देखाएको छैन ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies