काठमाडौं : माल्दिभ्सलगायतका देशमा आकर्षक तलबसहतिको वैदेशिक रोजगारीमा पठाइदिने भन्दै लाखौं रकम असुल्ने एक अवैध एजेन्टको कार्यालयमा वैदेशिक रोजगार विभागले छापा मारेको छ ।
राजधानीको सामाखुसी रानीबारी चोक नजिकै कार्यालय नै स्थापना गरेर आकर्षक तलबसहित वैदेशिक रोजगारमा पठाइने भन्दै रकम उठाउने गरेको सूचनाका आधारमा विभागको टोलीले मंगलबार छापा मार्दा अवैधरुपमा कार्यालय सञ्चालन गरिएको पाइएको हो ।
अनुगमनका लागि विभागको टोली उक्त अवैध कार्यालय पुग्दा संचालक भनिएका सुशील खड्का भने कार्यालयबाट बाहिरिसकेका थिए । तर विभागको टोलीले उनले गर्ने ठगी धन्दाको प्रमाण फेला पारेको बताएको छ ।
वैदेशिक रोजगार विभागले धेरैअघि नै एजेन्ट खारेज गरेको छ । तर खड्काले आफुलाई स्टरलिंक ओभरसिज प्रा.लि.को जनरल मेनेजर भनी भाइबरमा परिचय गराएकोसमेत देखिएको विभाग श्रोतले बतायो ।
वैदेशिक रोजगारीमा जान भनी खड्कालाई ४ लाखदेखि ३० लाखसम्म बुझाएका विभिन्न युवाहरु फेला परेका थिए । उनीहरुले कार्यालयको कर्मचारी बनेर खड्का सँगसँगै बसे कुनैबेला रकम उठाउन सकिएला भन्ने आशले खड्काको साथ नछोडेको अनुगमनका क्रममा बताएको विभाग श्रोतले बतायो ।
अनुगमनमा गएको टोलीले खड्काले वैदेशिक रोजगारीका नाममा धेरै युवाहरुलाई पीडित बनाएको हुनसक्ने भन्दै त्यहाँ भेटिएका युवाहरुलाई भएसम्मका प्रमाण लिएर विभागमा उजुरी दिए फसेको रकम उठाउन सहज हुने आश्वासन दिएको छ ।
पछिल्ला दिनमा विदेशबाट आउने डिमाण्ड घटेपछि युवाहरु वैधानिक रुपमा वैदेशिक रोजगारमा जान पाइरहेका छैनन् ।
शैक्षिक परामर्शका लागि खोलिएका एजुकेसन कन्सल्टेन्सी, ट्राभल एजेन्सीसहित अवैध एजेन्टहरुले विभिन्न युरोपेली मुलुकमा स्थायी बसोवास र आकर्षक तलबसहित रोजगारी दिने भन्दै बेरोजगार युवाहरुलाई ट्र्यापमा पार्ने गरेको विभाग श्रोतले बतायो ।
स्टरलिंक ओभरसिजको पनि उजुरी
सामाखुसीस्थित स्टरलिंक ओभरसिज प्रा.लि.को कार्यालय मुनी फ्ल्याट लिएर बसेका एजेन्ट सुशील खड्काले स्टरलिंककै नाम लिएर ठग्न थालेको चाल पाएपछि स्टरलिंक ओभरसिजका संचालक ख्यामनारायण पौडेलले वैदेशिक रोजगार विभागमा खड्काविरुद्ध उजुरी दिएका थिए ।
खड्काले शुरुमा आफु स्टरलिंकको एचआर डाइरेक्टर रहेको कार्ड छपाएका थिए भने पछि आफु स्टरलिंकको जनरल म्यानेजर भन्दै स्टरलिंकको अन्य संचालकहरुको नाम जोडेर कार्ड छपाएका थिए ।
अर्घाखाँची घर भएका खड्का करिब १२ वर्ष अगाडि एसओएस म्यानपावर मार्फत साउदी अरबको एनटीटी कम्पनीमा काम गर्न गएका थिए । उनलाई सो कम्पनीको प्राविधिक विज्ञ मानिन्छ । साउदीबाट फर्किएपछि खड्काले विभिन्न म्यानपावर कम्पनीलाई एनटीटी कम्पनीको भिसासमेत मिलाएका थिए ।
गत माघमा पीडित कामदारको उजुरीपछि सह्रोखुट्टे चौकीमा रकम तिर्छु भनी मिलापत्रसमेत गरेका खड्काले पछि फेरि माल्दिभ्स लगायतका मुलुकमा रोजगारी दिलाउने भन्दै रकम ठग्ने गरेको बताइएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies