काठमाडौं : साउदी अरबमा साइबर कानून अत्यन्तै कडा रहेको भन्दै त्यहाँस्थित नेपाली दूतावासले साइबर अपराधबाट बच्न विशेष सतर्कता अपनाउन नेपाली कामदारहरुलाई अपिल गरेको छ । साउदी अरबमा कार्यरत कतिपय नेपाली कामदारहरुले भावावेश वा अन्जानमा सामाजिक सञ्जालमा अनेक खालका टिप्पणी गर्ने गरेका छन् । त्यसतर्फ लक्षित गर्दै नेपाली दूतावासले सामाजिक सञ्जालको प्रयोग गर्दा विषेश सजगता अपनाउनु पर्ने बताएको हो ।
साउदी अरबमा साइबर अपराधविरूद्धको कानून, २००७ प्रयोगमा रहेको छ । उक्त कानून उल्लंघन गरेमा ५ वर्ष जेल सजायसहित करिब ९० लाख नेपाली रुपैयाँ बराबर हुन आउने ३० लाख साउदी रियालसम्म जरिवाना हुने व्यवस्था छ । सामाजिक सञ्जाल प्रयोग गर्दा सजगता अपनाउन नसके कानूनको दायरामा आउने भन्दै नेपाली दूतावासले आफ्नो फोनबाट अनावश्यक मेसेज वा कुराकानी नगर्न र गर्न नदिन आग्रह गरेको छ ।
इमो, फेसबुक, ह्वाट्स एप, मेसेन्जर जस्ता सामाजिक सञ्जालका मााध्यमबाट साउदी कानूनविरुद्ध हुने गरी कुनै सामग्री अपलोड गरी त्यसलाई शेयर, लाइक, कमेण्ट नगर्न पनि दूतावासले अनुरोध गरेको छ । दूतावासले नेपाल रकम पठाउँदा बैंकिङ माध्यम प्रयोग गर्न छोडेर हुण्डी, हवाला वा अन्य कुनै पनि गैर–कानूनी माध्यमबाट रकमको कारोवार नगर्न पनि आग्रह गरेको छ ।
नेपाली कामदारहरुलाई वैदेशिक रोजगारमा जानु अघि नेपालमा सम्बन्धित मुलुकको धर्म, संस्कृति, परम्परा, रीतिरिवाज र राजनीतिक व्यवस्थाको सम्मान गर्न सिकाइने गरिएको छ । तर कार्यस्थलमा कतिपयले त्यसको उल्लंघन गर्ने गरेका छन् ।
दूतावासले साउदी अरबमा रहँदा आफ्नो दायित्व पूरा गर्न पनि त्यहाँ रहेका नेपालीलाई आग्रह गरेको छ । मदिराजन्य पदार्थको उत्पादन सेवन, बन्द, हड्ताल, धर्ना, जुलस नगर्न पनि दूतावासले आग्रह गरेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies