-निर्मल रमण पराजुली, सामाखुशी, काठमाडौं
(१)
छोरी जन्मिई खुशी भए, ठुली बनाए बढाएर
सक्षम पारे ज्ञानी पारे, भने जस्तै पढाएर
आफ्नै आँगन पोली, उस्को गोत्र अन्तै सारि
रुँदै–रुँदै पठाउदै छु , उसलाई डोली चढाएर
(२)
छोराले वंश चलाउछ भनी, समाजमा भ्रम छर्नेहरु
छोरीलाई भार सम्झी, गर्भमै हत्या गर्नेहरु
आजकल बृद्ध आश्रममा, बसेर पछुताई रहेछन्
छोरी होईन छोरै पाउँ भनि, ईश्वरको शरण पर्नेहरु
(३)
एउटा राम्रो सन्देश लेखी, पठाउ त्यो ठाउँमा
काम गर्ने संघ संस्था, खटाउ त्यो ठाउँमा
छाउगोठभित्र अझै कति, चेलीबेटी मर्न दिने
सबै मिली त्यस्तो प्रथा, हटाउ त्यो ठाउँमा
(४)
आफ्नी छोरी जस्तै प्रिय, बुहारी पनि सोंचिदिए
छोरिको भाव बुहारीकै, अनुहारमा खोजिदिए
पक्कै पनि सुन्दर बन्छ, हाम्रो सामाजिक परिवेश
बुहारी विधवा हुँदा, फेरि असल वर रोजिदिए
(५)
म जानि जानि दुःख दिन्न, कहिल्यै तिम्रो आँशु झार्दिन
जस्तै संकट आओस मायामा, पाईला अन्त सार्दिन
मेरो आराधाना तपस्या तिमी, यो जन्म अनि जन्मान्त
म जिउँदै हुँदासम्म तिमीलाई, कहिल्यै एक्लो पार्दिन
Bagbazar Kathmandu
Phone : 014226366, 014228298
Mobile : 9841293261, 9841206411
Email : [email protected]
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2021 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies