बझाङ : नेकपा (एकीकृत समाजवादी) बझाङको जिल्ला अधिवेशनको तयारीमा जुटेको छ । एकीकृत समाजवादीले यही जेठ ११ र १२ गते झोता बजारमा नवौऔं जिल्ला अधिवेशन गर्दैछ ।
सो पार्टीले बिहीबार सदरमुकाम चैनपुरमा पत्रकार सम्मेलन गरी उक्त अधिवेशनको तयारी पूरा भएको जनाएको छ । तत्कालीन नेकपा (एमाले)बाट विद्रोह गरी नेकपा एकीकृत समाजवादी पार्टी स्थापना भएको थियो ।
सोही अनुरूप गत असारमा सम्पन्न पार्टीको दशौं राष्ट्रिय महाधिवेशनले पारित गरेको नीति कार्यक्रम र विधान अनुसार जिल्ला अधिवेशनको तयारीमा जुटेको सो पार्टीले जनाएको छ । नेकपा एसका केन्द्रीय उपाध्यक्ष तथा सुदुरपश्चिम प्रदेश इन्चार्ज भानुभक्त जोशीले आफूहरू एमाले विद्रोहबाट आएकाले त्यसैको निरन्तरता भएकाले जिल्ला अधिवेशन नवौ भनिएको स्पष्ट पारेका छन् ।
जोशीले महाधिवेशनको कार्यदिशा, कार्यक्रम, संगठनात्मक सिद्धान्त र विधान अनुसार अधिवेशन आयोजना गरिएको बताए । उनले बझाङमा जिल्लाको नेतृत्वमा आउन चाहनेहरू प्रतिनिधि अनिवार्य हुनुपर्ने प्रावधानलाई कार्यान्वयन गरिएको बताए ।
उनले भने,‘जिल्ला अधिवेशनका लागि बझाङ जिल्लाका १२ वटा पालिकाबाट १५ जना संगठित सदस्य बराबर १ जना प्रतिनिधि छनोट हुनेगरी १२ वटा पालिकाबाट २५१ जना प्रतिनिधि र १६१ जना जिल्ला कमिटी पदाधिकारी तथा सदस्यहरु स्वत : आयोजक हुँदा जम्मा ४ सय १२ जना प्रतिनिधीको सहभागि हुने छन् ।’ प्रतिनिधिमा दलित, महिला, युवा र समाबेशी प्रतिनिधित्व हुने एसका जिल्ला कमिटी सचिव लक्ष्मी जोशीले बताइन् । जिल्ला अधिवेशन सम्पन्न गर्नका लागि विभिन्न उपसमितिहरु समेत गठन गरिएको सचिव जोशीको भनाइ छ । अधिवेशन उद्घाटनका लागि पार्टी महासचिव घनश्याम भूसाल लगायतका नेताहरू आउने समेत सचिव जोशीले बताइन् ।