नेकपा माओवादी केन्द्रको मंगलवार बसेको स्थायी कमिटी बैठकले पनि ठोस् निर्णय लिन सकेन । सरकारबाट समर्थन फिर्ता लिने प्रचार र प्रयास गर्ने, तर त्यस्तो निर्णय नलिने नियति लामै समयदेखि देखिने गरेको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रवक्ता नारायणकाजी श्रेष्ठले समेत निर्णायक कदम चाल्न लागिएकाले मुलुकले एउटा प्रष्ट निकास पाउने बताएका थिए । चितवन पुगेर प्रचण्डले नयाँ सरकार निर्माणको बाटो नै खुलेको समेत बताए । तर, काठमाडौं फर्किए पछि न त्यस्तो अभिव्यक्ति दिएका छन्, न त निर्णय नै गरेका छन् । सर्वोच्च अदालतबाट नेकपा माओवादी केन्द्र ब्यूँतिए पछिको डेढ महिना यता प्रचण्डको अभिव्यक्ति र निर्णयमा समान समस्या देखिने गरेको छ । अर्थात्, बोल्छन् र त्यही गर्न पनि चाहन्छन् । तर, त्यस्तो निर्णय गर्न भने सक्दैनन् ।
बरू, नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकपछि अर्को निर्णय गरिरहेका छन् । सोमवार हठात् प्रतिनिधिसभाको हिउँदे अधिवेशन अन्त्य गरिदिए । जबकी, केही दिन संसद् बैठक लम्बिएको भए, सरकार विरुद्ध अविश्वासकै प्रस्ताव आउने आँकलन गरिएको थियो । त्यसबारे विपक्षी दलहरु नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) ले तयारी समेत बिस्तारै गरिरहेका थिए । अझ एमालेभित्रै बरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहले पनि साथ दिने संकेत गरेपछि प्रधानमन्त्री ओलीले संसद् अधिवेशन नै अन्त्य गरिदिएका छन् । कर्णाली प्रदेशमा नेपाल समूहका सांसदहरुले फ्लोर क्रस गरेकाले संघीय सरकार विरुद्ध पनि त्यस्तै हुनसक्ने प्रधानमन्त्री ओलीको बुझाइ देखिन्छ ।
काँग्रेस र जसपाभित्र पनि मुलुकलाई कसरी निकास दिने भन्ने प्रष्ट निर्णय छैन । दुवै दलमा वर्तमान सरकार वा मध्यावधिमा जाने कि ओलीको विकल्पमा नयाँ सरकार बनाएर बाँकी बाँकी दुई अझै संसद् जिवित राख्ने भन्नेमा मतभेद छ । काँग्रेसका सभापति शेरबहादुर देउवा र जसपामा महन्थ ठाकुरहरु प्रधानमन्त्री ओलीको चाहना पूरा गर्न चाहन्छन् । यसो गरेमा मध्यावधि चुनाव मार्फत् सत्तामा जान सजिलो हुने भएकाले पनि विपक्षी दलहरुमा त्यस्तो बुझाइ निर्माण भएको हुन सक्छ । तर, मुलुकलाई मध्यावधिमा पनि लैजान नसक्ने अनि राजनैतिक अस्थिरताबारे पनि प्रष्ट निर्णय नलिने अवस्थाका कारण मुलुक भने बन्धक बनिरहेको छ । जबकी, कोरोना महामारी लगायत समस्या समाधान गर्न राजनैतिक निकास आवश्यक छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies