काठमाडौं : वैदेशिक रोजगारीमा कुवेत गएका १ नेपाली कामदारलाई ठूलो वित्तीय अपराधमा संलग्न भएको आरोपमा प्रहरीले पक्राउ गरेको छ । कुवेतको आपराधिक सुरक्षा क्षेत्रको वित्तीय अपराध नियन्त्रण विभागले अत्याधुनिक बैंक ठगी कार्यमा संलग्न रहेको आरोपमा नेपाली नागरिकलाई पक्राउ गरेको हो ।
कुवेती सञ्चारमाध्यमबाट उनको तस्बिर सार्वजनिक भएपनि पक्राउ परेका ती नेपाली कामदारको नेपाली ठेगाना सार्वजनिक गरिएको छैन । उनीविरुद्ध बैंकिङ ठगीसँग सम्बन्धित मुद्दा नम्बर २२५३/२०२४ र २२३४/२०२४ मा अनुसन्धान भइरहेको कुवेती प्रहरीले बताएको छ ।
पक्राउ परेका नेपालीले कुवेतमा वैदेशिक रोजगारमा रहेका अन्य नेपालीका बैंक कार्ड र सिमकार्डहरू पनि दुरुपयोग गरेर बैकिङ ठगी गरेको अनुसन्धानका क्रममा देखिएको त्यहाँको प्रहरीले बताएको छ । अनुसन्धान अधिकारीहरूले उनको साथबाट ८ वटा बैंक कार्ड र ४ वटा सिमकार्ड बरामद गरेको बताइएको छ ।
अनुसन्धानका क्रममा सोधपुछपछि उनले आफ्नो निवासमा थप सामानहरू राखेको स्वीकार गरेका छन् । त्यसपछिको खोजीमा थप १२ वटा बैंक कार्ड, १६ वटा सिमकार्ड, धेरै बैंक कागजातहरू र खाली सिमकार्डहरू बरामद गरिएको प्रहरीले दाबी गरेको छ ।
कुवेतका सञ्चारमाध्यमहरूले अभियुक्तलाई सार्वजनिक अभियोजनमा पठाइ कानुनी कारबाही भइरहेको भन्दै ठगीमा संलग्न थप संदिग्धहरूको पहिचान र गिरफ्तार गर्न अन्तर्राष्ट्रिय समकक्षीहरूसँग समन्वय भइरहेको उल्लेख गरेका छन् ।
कुवेतमा केही नेपाली घरेलु मदिराको अवैधानिक कारोबारमा संलग्न भएको र उनीहरू पक्राउ परेको समाचार पटक–पटक सार्वजनिक हुने गरेकोे भएपनि संगठितरूपमा बैंक ठगीको अपराधमा संलग्न भएको घटना नयाँ भएको बताइएको छ ।