काठमाडौं : भिजिट भिसा सेटिङ प्रकरणमा गृहमन्त्री रमेश लेखकलाई निशानामा राखेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले २४ घण्टामै १ हजार बढी पीडितका प्रमाण आएको बताएको छ ।
पार्टीका प्रवक्ता एवं सांसद मनिष झाले भिजिट भिसाका आधारमा विदेश जान खोज्दा ठगीमा परेका नेपालीहरूको तथ्यांक संकलन गरिरहेको बताएका छन् । उनले सामाजिक सञ्जालका ह्वाट्सएप र इमेलमा २४ घण्टामै १ हजार बढी पीडितले प्रमाणसहित ठगीमा परेको व्यहोराका विवरण पठाएको बताए ।
रास्वपाका सांसदहरू झासहित सोबिता गौतम, शिशिर खनाल, हरि ढकाललगायतले बुधबारदेखि प्रमाणसहित ठगीमा परेको उजुरी पठाइदिन आग्रह गरेका थिए । प्रवक्ता झाले सञ्चारकर्मीहरूलाई भने, ‘२४ घण्टामै भिजिट भिसामा भएका ठगीका १ हजारभन्दा बढी प्रमाण आइपुगेका छन् ।’
उनले प्राप्त विवरणमा भिजिट भिसामा विदेश जाँदा ठगिएको, ठूलो रकम बुझाएर पनि काम पाउन नसकेको तथा लुटिएका जस्ता पीडा व्यक्त भएको भन्दै विगत ५ वर्षमा मात्र ७ लाखभन्दा बढी नेपाली भिजिट भिसामा विदेश गएको र त्यसमध्ये करिब ४ प्रतिशतलाई मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबट फर्काइएको दाबी गरे ।
रास्वपाले संकलित प्रमाणहरूलाई आवश्यक अनुसन्धानका लागि सम्बन्धित निकायमा बुझाउने भन्दै गम्भीर अनुसन्धान गरी दोषीमाथि कडा कारबाही हुनुपर्ने पनि माग गरे ।
भिजिट भिसा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख तीर्थराज भट्टराईसहित ५ जनामाथि अनुसन्धान गरिरहेको छ । रास्वपाले त्यसमा गृहमन्त्री लेखकको प्रत्यक्ष–अप्रत्यक्ष सहभागिता रहेको भन्दै राजीनामा माग गरिरहेको छ ।