मकवानपुरगढी : इन्द्रेणी मसरुम फार्म लिमिटेडले मकवानपुरगढी गाउँपालिका–५, कालिवन सामरीमा नयाँ युनिटको शिलान्यास गरेको छ । बागमती प्रदेशका कृषि तथा पशुपन्छीमन्त्री प्रकाश श्रेष्ठले शिलान्यास गरेको यो युनिट कम्पनीको दोस्रो शाखा हो ।
शिलान्यास समारोहलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले सामरीमा नयाँ युनिट सञ्चालन गर्न लागेकोमा फार्मलाई बधाई तथा शुभकामना व्यक्त गरे । उनले बागमती प्रदेशमा झन्डै ६ लाख किसान सूचीकरण भएको जानकारी दिए । किसानहरुको सूचीकरण, वर्गीकरण तथा किसानहरुको पहिचान गर्ने काम अन्तिम चरणमा पुगेको उनले बताए ।
उनले जीविकोपार्जनका लागि मात्र नभएर व्यावसायिकरुपमा कृषि व्यवसाय गरेर कृषि उपजहरु विदेशमा निर्यात गर्नसक्ने गरी अघि बढ्नुपर्नेमा जोड दिए ।
बागमती प्रदेशका प्रदेशसभा सदस्य केशव पोखरेलले पनि सामरी युनिट सञ्चालन गर्न लागेकोमा फार्मलाई बधाई तथा शुभकामना दिए । उनले मकवानपुरगढी वडा नं. ५ मा यति ठूलो उद्योग आएर यहाँका स्थानीयहरुलाई जोड्न सक्नु ठूलो उपलब्धि भएको उल्लेख गरे ।
प्रदेशसभा सदस्य विन्दु श्रेष्ठले फार्मले च्याउमात्र नभएर च्याउबाट अचार, सुप, मललगायतका सामग्री पनि उत्पादन गरेर समग्र कृषि क्षेत्रलाई नै योगदान पुर्याउने उद्देश्यले सामरी युनिट सञ्चालन गर्न लागिएकोमा खुसी व्यक्त गरिन् ।
मकवानपुरगढी गाउँपालिका वडा नं. ५ का अध्यक्ष दिपेश दाहालले इन्देणी मसरुम फार्मको सामरी युनिट सञ्चालन हुँदा ५ नम्बर वडाको आर्थिक अवस्था, स्थानीयलाई रोजगारीका साथै अन्य धेरै विषयमा लाभ पुग्ने बताए ।
इन्द्रेणी मसरुम फार्म लिमिटेडले आफ्नो योजना २०७१ सालमा काठमाडौंको बलम्बुका किसानहरुको सहकार्यमा चित्लाङमा सुरुवात गरेको थियो । नेपालमै पहिलोपटक नयाँ प्रविधिबाट कम्पोष्ट उत्पादन, वातावरण नियन्त्रण प्रणालीको प्रयोग तथा औद्योगिक च्याउ खेतीको सुरुवात गर्ने संस्थाका रुपमा चिनिएको यो फार्मले सामरी युनिटमा अझै अत्याधुनिक प्रविधिहरु समावेश गर्दै छ ।
शिलान्यास समारोहमा फार्मका अध्यक्ष महर्जनले फार्मको लक्ष्य नेपाललाई च्याउमा आतमनिर्भर बनाएर सहज तथा सुलभ मूल्यमा च्याउ बजारमा उपलब्ध गराउने रहेको बताए ।
नयाँ युनिटमा वातावरण नियन्त्रण प्रणाली मोबाइल वा कम्प्युटरमार्फत सञ्चालन गर्न मिल्ने अध्यक्ष महर्जनले जानकारी दिए । फार्मले कम्पोष्ट प्लान्टमा आधुनिक उपकरणहरु प्रयोग गरी उत्पादन लागत घटाउने र उत्पादन क्षमता बढाउने लक्ष्य लिएको अध्यक्ष महर्जनले बताए ।
सामरी युनिटका लागि ४४ कठ्ठा जग्गा खरिद भइसकेको उनले उल्लेख गरे । आगामी भदौ महिनाभित्र कम्पोष्ट प्लान्ट निर्माण सम्पन्न गरी कात्तिक महिनाभित्र उत्पादन कक्षसमेत निर्माण सम्पन्न गरिने अध्यक्ष महर्जनको भनाइ छ ।
चालु आर्थिक वर्षमा १५ करोड रुपैयाँ लगानी गरिने तथा आगामी आर्थिक वर्षमा थप ९ करोड रुपैयाँ लगानी गरिने फार्मले जनाएको छ ।
सामरी युनिटबाट सुरुमा दैनिक १ हजार किलो च्याउ उत्पादन गर्ने लक्ष्य लिइएको छ भने दोस्रो चरणमा ३ हजार किलोसम्म विस्तार गर्ने लक्ष्य रहेको फार्मले बताएको छ । उत्पादन वृद्धि भएपछि चित्लाङ युनिटलाई समेत आवश्यक कम्पोष्ट मल यहीँबाट आपूर्ति गरिनेछ । च्याउ फार्मको आफ्नै ब्रान्डमार्फत उत्पादन बजारमा पठाइनेछ । साथै तयारी कम्पोष्ट मल, बीउ, सुप, अचार उत्पादन तथा बिक्री गर्ने समेत फार्मको लक्ष्य रहेको छ । साथै फार्मले निकट भविष्यमा सर्वसाधारणका लागि सेयर अर्थात आईपीओ जारी गर्ने तयारी गरेको छ ।
फार्मका अध्यक्ष महर्जनको अध्यक्षतामा भएको शिलान्यास समारोहमा बागमती प्रदेशका सांसदद्वय केशव पोखरेल र विन्दु श्रेष्ठ, मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङ्तान र उपाध्यक्ष मानकुमारी पाख्रिन नेपाली, कृषि मन्त्रालयका सचिव बैकुण्ठ अधिकारी, वडाध्यक्षहरु, च्याउ वैज्ञानिकहरु डा महेशकुमार अधिकारी, कृषि विकास निर्देशनालय र बैंक तथा सहकारीका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।