काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा संयुक्त अरब इमिरेट्स (यूएई) जाने नेपाली कामदारको न्यूनतम तलब १ हजार दिराम तोकेको छ । श्रममन्त्री शरतसिंह भण्डारीले बिहीबार यूएई जाने कामदारको न्यूनतम तलब निर्धारण गर्ने निर्णय गरेका हुन् ।
मन्त्री भण्डारीले यूएई जाने कामदारका लागि १ हजार दिराम भन्दा कम तलबको मागपत्र प्रमाणीकरण नहुने बताएका छन् । मन्त्री भण्डारीले यूएईस्थित नेपाली दूतावासको सुझावमा न्यूनतम तलब १ हजार दिराम हुनुपर्ने प्रस्तावलाई परराष्ट्र मन्त्रालय र कानुन मन्त्रालयको सहमतिमा मन्त्रीस्तरिय निर्णय गरिएको बताए ।
यूएई जाने कामदारको हकमा यसअघि ८ सय, १ हजार र १२ सय दिराम तलबको अनुपात लागू थियो । तर अब अदक्ष, अर्धदक्ष र दक्ष कामदारको क्रमशः न्यून्तम १ हजार, १२ सय र १५ सय दिराम तलब निर्धारण गरिएको छ ।
मन्त्री भण्डारीले न्यूनतम तलबको निर्णय यूएई जाने नेपाली कामदारहरूको हितमा भएकाले उनीहरूलाई ठूलो राहत हुने बताए । नेपाल सरकारले बजारको अवस्था हेरेर तलब निर्धारण गरेको पनि मन्त्री भण्डारीले बताए ।
वैदेशिक रोजगारमा रहेका नेपाली श्रमिकको हकहितमा हुने कुनै पनि काम गर्न नेपाल सरकार पछि नहट्ने भन्दै उनीहरूको अधिकार सुनिश्चित गर्न श्रम मन्त्रालय तत्पर रहेको पनि मन्त्री भण्डारीले बताए ।
‘विदेशी भूमिमा श्रम गर्न गएका नेपाली श्रमिकको हित हुने काम गर्नु हाम्रो पहिलो शर्त हो,’ उनले भने, ‘हामी श्रमिकको तलब, स्वास्थ्योपचार र सामाजिक सुरक्षाको पूर्ण प्रत्याभूति गराउन गम्भीरतापूर्वक लागिपरेका छौं ।’