२०८२ जेठ २४ गते शनिवार / Jun 07 , 2025 , Saturday
२०८२ जेठ २४ गते शनिवार
Ads

स्थायीरूपमै देश छाड्ने नेपालीको संख्या बढ्यो, २ वर्षमा १ लाख ३७ हजारले छाडे देश

मध्यान्ह
२०८२ जेठ २३ गते १३:३०
स्थायीरूपमै देश छाड्ने नेपालीको संख्या बढ्यो, २ वर्षमा १ लाख ३७ हजारले छाडे देश

काठमाडौं : स्थायीरूपमै देश छाड्ने नेपालीको संख्या बढ्दै गएको छ । मुलुकमा बढ्दो भ्रष्टाचार, राजनीतिक खिचातानी, अराजकता, बेथिति, बेरोजगारी जस्ता कारणले नेपालीहरूले सधैंका लागि देश छाड्ने क्रम बढ्दो रूपमा देखिएको हो । पछिल्लो २ वर्षको मात्रै सरकारी तथ्यांक हेर्ने हो भने १ लाख ३७ हजार नेपाली स्थायीरूपमै देश छाडेर विदेशमा बसाइँ सरेका छन् । 

अध्यागमन कार्यालयका अनुसार त्यसरी देश नै छाडेर विदेश बसाइँसराइ गर्नेहरूमा महिला भन्दा पुरुषको संख्या धेरै देखिन्छ । २ वर्षको अवधिमा मात्रै ७१ हजार २०७ जना नेपाली पुरुष स्थायीरूपमै बसाइँ सरेर नेपालबाट अनुमति लिएरै विदेश गएका छन् । त्यस्तै त्यसरी बसाइँ सरेर विदेश जाने महिलाको संख्या ६६ हजार ५३८ रहेको छ । 

अध्यागमन कार्यालयबाट प्राप्त तथ्यांकअनुसार सन् २०२३ मा मात्रै स्थायी रूपमै विदेशमा बसाइँ सरेर ७० हजार ९१५ नेपाली गएका छन् भने सन् २०२४ मा ६६ हजार ८३५ नेपाली सधैं उतै बस्ने गरी गएका छन् । यसले ठूलो संख्यामा नेपाली देश नै छाडेर विदेशमा बसाइँ सरिरहेको तथ्यांकले देखाएको छ । 

पछिल्लो समयमा नेपालमा लगानीको वातावरण नभएको भनेर अड्कलबाजी भइरहेका बेला कतै हजारौं नेपालीमार्फत स्वदेशी पुँजी पलायन भइरहेको त छैन भन्ने आशंका विभागको तथ्यांकले देखाएको छ । तर देश छाड्ने नेपालीको पृष्ठभूमि परिचय भने सरकारले ट्रयाक गर्ने गरेको छैन ।

स्थायी मात्रै नभइ अस्थायी रूपमा उतै बस्नका लागि पनि ठूलो संख्यामा नेपालीहरू विदेश गइरहेको सरकारी तथ्यांकले देखाउँछ । सन् २०२३ मा ९२ हजार ३४९ जना नेपाली अस्थायी रूपमा विदेशमा बस्नेगरी नेपालबाट अनुमति लिएर गएका छन् भने सन् २०२४ मा मात्रै ६६ हजार ८३५ नेपाली अस्थायीरूपमा विदेशमा बस्नका लागि एयरपोर्ट प्रयोग गरेर नेपाल छाडेको अध्यागमन कार्यालयको तथ्यांकले देखाउँछ । 

पछिल्लो यो २ वर्षमा रोजगारीको खोजीमा ठूलो संख्यामा विदेश गएको पनि तथ्यांकले देखाएको छ । सन् २०२३ र २०२४ मा मात्रै नेपालमा काम नपाएर रोजीरोटीका लागि १६ लाख ६४ हजार ८३७ नेपाली विदेश गएका छन् । अध्यागमन कार्यालयका अनुसार सन् २०२३ को तुलनामा २०२४ मा रोजगारीका लागि विभिन्न मुलुक जानेहरूको संख्या पनि वृद्धि भएको देखिन्छ ।

सन् २०२३ मा कामको खोजीका लागि विदेश जाने नेपालीको संख्या ८ लाख ८ हजार ४१५ रहेकोमा सन् २०२४ मा ८ लाख ५६ हजार ४२२ रहेको छ । 

पछिल्लो २ वर्षको अवधिमा अध्ययनका लागि ठूलो संख्यामा विद्यार्थी बाहिर गएको तथ्यांकले देखाएको छ । सन् २०२३ र २०२४ मा मात्रै नेपालमा मात्रै विद्यार्थी भिसामा २ लाख २७ हजार ९५१ जना विदेश गएका छन् । सन् २०२३ को तुलनामा २०२४ मा पढ्नका लागि विदेश जानेहरूको संख्या बढेको देखिन्छ । 

सन् २०२३ मा १ लाख ८ हजार ५४२ जना पढ्नका लागि विदेश गएकोमा अर्को वर्ष २०२४ मा मात्रै १ लाख १९ हजार ५०९ जना अध्ययनका लागि देशै छाडेर विद्यार्थी विभिन्न मुलुकमा गएको तथ्यांकले देखाएको छ । 

यस्तै पछिल्लो समय भिजिट भिसामा विदेश जाने नेपालीको संख्या पनि बढेको देखिन्छ । अध्यागमन विभागले उपलब्ध गराएको तथ्यांकअनुसार पछिल्लो ४ लाख ७८ हजार ८४६ नेपाली विदेशमा गएका छन् । सन् २०२३ को तुलनामा २०२४ मा घुमफिरका लागि भन्दै धेरै नेपाली विदेश गएको तथ्यांकले देखाएको छ । सन् २०२३ मा २ लाख ४ हजार ५१८ नेपाली घुमफिरका लागि विदेश गएकोमा सन् २०२४ मा मात्रै २ लाख ७४ हजार ५१८ नेपाली विभिन्न मुलुकमा घुमफिरका लागि भन्दै भिजिट भिसामा गएका छन् ।  

ADV

सम्बन्धित खबर