काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी ११३औं अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा भाग लिन स्विट्जरल्यान्डको जेनेभा प्रस्थान गरेका छन् । श्रममन्त्री भण्डारीलाई मन्त्रालयका सहसचिव डण्डुराज घिमिरेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरे ।
शुक्रबार साँझ नेपाली टोलीको नेतृत्व गर्दै मन्त्री भण्डारी त्यसतर्फ प्रस्थान गरेका हुन् । जेठको १९ गतेदेखि ३० गतेसम्म जेनेभामा ११३औं अन्तर्राष्ट्रिय श्रम सम्मेलन सञ्चालन हुनेछ । सम्मेलनका जारी सेसनहरूमा मन्त्रालयका तर्फबाट सचिव डा. कृष्णहरि पुष्करले सहभागिता जनाइरहेका छन् ।
यस अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा मन्त्री भण्डारीले प्लेनरी सत्रमा सम्बोधनका क्रममा अनौपचारिक श्रमलाई औपचारिकीकरण, सामाजिक न्याय प्रवर्धन, मर्यादित रोजगारी, नेपालको १० वर्षे आन्तरिक रोजगारीको योजनाका साथै मुलुकको दीर्घकालीन लक्ष्य र प्राथमिकताका विषयहरूलाई प्रस्तुत गर्ने मन्त्री भण्डारीको सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार मन्त्री भण्डारीले जेठ २६ गते प्लेनरी सेसनलाई विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सोही दिन अन्तर्राष्ट्रिय श्रम संगठनका महानिर्देशक गिल्बल्र्ट एफ. हाउङवो र मन्त्री भण्डारीबीच द्विपक्षीय छलफल गर्ने कार्यक्रम रहेको छ । त्यस्तै, साउदी अरेबियाको अन्तर्राष्ट्रिय मामिला उपमन्त्री डा. तारिक अल हमदसँग नेपाल र साउदी अरबको श्रमसम्बन्धी विषयमा द्विपक्षीय छलफल गर्ने कार्यक्रम रहेको छ ।
मन्त्री भण्डारीले साइडलाइन छलफलका क्रममा अन्तर्राष्ट्रिय श्रम संगठनका सहायक महानिर्देशक सुश्रीमिया सेप्पोसँग पनि सामाजिक सुरक्षाको विषयमा छलफल गर्ने समय तय भएको बताइएको छ ।
त्यसैगरी, स्विस श्रम निर्देशनालयका प्रमुख, आर्थिक मामिलाका लागि राज्य सचिवालय (सेको) जेरोम कोसान्डेसँग मन्त्री भण्डारीले द्विपक्षीय छलफल गर्ने कार्यक्रम तय भएको छ ।
मन्त्री भण्डारीले जेठको २७ गते मलेसियाका मानव संशाधन मन्त्री स्टेभन चीम कोङसँग भेटघाट र छलफल गर्ने कार्यक्रम रहेको छ भने अन्तर्राष्ट्रिय आप्रवासन संगठनका महानिर्देशक सुश्रीएमी पोपसँग पनि आप्रवासनका विषयमा द्विपक्षीय छलफल हुने निजी सचिवालयले जनाएको छ ।
त्यस्तै, मन्त्री भण्डारीले जेठ २८ गते जर्मनको बर्लिनमा हुने बालश्रमविरुद्धको विश्व दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।
उनले जेठ २९ मा हुने सामाजिक न्यायसम्बन्धी विश्वव्यापी गठबन्धनको कार्यक्रमलाई विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको छ । जेठ ३० गते सभाको प्लेनरी सेसनको समापन सत्रमा सहभागी भइ मन्त्रीको भ्रमण टोली स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ ।