काठमाडौं : हङकङको एक मात्र नेपाली डिस्ट्रिक्ट काउन्सिलर अरुणा गुरुङले हङकङमा घरेलु कामदारको माग भने धेरै रहेको बताएकी छन् । तमु बौद्ध सेवा समितिले आइतबार काठमाडौंमा आयोजना गरेको सम्मान कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् ।
उनले हङकङमा धेरै सुविधाहरु रहेको भएपनि भाषाको कमजोरीका कारण नेपालीहरुले सदुपयोग गर्न नसकेको बताइन् । उनले हङकङमा नेपालीहरु अन्य देशहरुको तुलनामा भाषाको कमजोरीका कारण पिछडिएको आफ्नो अनुभव रहेको बताइन् । उनले हङकङमा अहिले धेरै नेपालीहरु बेरोजगार भएको पनि जानकारी दिइन् ।
उनले भनिन्, ‘हङकङमा थुप्रै फ्यासिलिटीहरु छ । तर नेपालीहरुले भाषाको कमजोरीका कारण जति पनि ट्याक्स तिरेर काम गरेपनि हामीले यो कुरा थाहा पाएनौं । त्यसका लागि इन्टरडिपेण्डेन्ट सर्भिस पनि गरेका थियौं । इण्डियन कम्युनिटीहरु पनि छ, पाकिस्तानी, बंगलादेशी छन् । त्यसमध्येमा पनि हामी नेपालीहरु हङकङमा अलि पिछडिएको जस्तो लाग्छ । हामी गोरखाली भएर यत्रो राम्रो काम हङकङका लागि गरेका छौं । हाम्रा लागि पनि किन नगर्ने ? भन्ने आवाज उठाएको छु । आउँदा दिनमा नेपालका लागि राम्रो काम गर्ने विश्वास छ । हङकङमा अहिले धेरै नेपालीहरु बेरोजगार भएका छन् । घरेलु कामदारको हङकङमा धेरै डिमाण्ड छ ।’
हङकङमा रोजगारीका लागि धेरै नेपालीहरु पुग्ने गरेका छन् । आन्तरिक कामदारका लागि खाडी मुलुकको भन्दा आर्थिक हिसावले र सुरक्षाका दृष्टिकोणले पनि हङकङ राम्रो रहेको गुरुङको भनाइ छ ।