२०८२ जेठ २५ गते आइतवार / Jun 08 , 2025 , Sunday
२०८२ जेठ २५ गते आइतवार
Ads

१२औं म्युजिक खबर म्युजिक अवार्ड सम्पन्न, क-कसले पाए अवार्ड ?

मध्यान्ह
२०८२ जेठ २५ गते १५:५६
१२औं म्युजिक खबर म्युजिक अवार्ड सम्पन्न, क-कसले पाए अवार्ड ?

काठमाडौं : १२औं म्युजिक खबर म्युजिक अवार्ड २०८१ सम्पन्न भएको छ । शुक्रबार राजधानीको तिलगंगास्थित बेस्ट वेस्टर्न प्लस होटलमा म्युजिक खबर अवार्डका सल्लाहकार राधेश्याम लेकालीको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेको प्रमुख आतिथ्यतामा भएको अवार्ड समारोहमा विशिष्ट गीतकार निर्देशक यादव खरेललाई दीर्घ साधना सम्मान अर्पण गरिएको थियो । मन्त्री पाण्डे, विशिष्ट गीतकार राजेन्द्र थापा, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला,  कार्यक्रमकी संयोजक सबिता पोखरेललगायतले ५१ हजार रुपैयाँ नगद तथा सम्मानपत्रसहित दोसल्ला ओढाएर विशिष्ट गीतकार खरेललाई सम्मान गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि मन्त्री पाण्डेले प्रतिष्ठित गीतकार यादव खरेललगायतलाई सम्मान गरिसकेपछि हार्दिक बधाई दिँदै विशिष्टदेखि अनुजसम्मका स्रष्टा कलाकारलाई एकै ठाउँमा जम्मा गरेर सम्मानको वातावरण बनाउने म्युजिक खबर टिमलाई धन्यवाद दिएका थिए । ‘कल्चर फर टुरिजम’को नारा लिएर म्युजिक खबरले १२ वर्षसम्म गरेको अवार्ड तथा सम्मानको कार्य सराहनीय भएको भन्दै उनले सरकारले गर्न नसकेको काम व्यक्तिले गुर्न विशिष्ट कार्य भएको उल्लेख गरे ।

कार्यक्रममा उपस्थित प्रमुख अतिथि, विशिष्ट अतिथि एवं स्रष्टा कलाकारहरुलाई स्वागत गर्दै अवार्डका अध्यक्ष सुमन पण्डितले अवार्डलाई सम्मानित र मर्यादित बनाउँदै लैजान सम्पूर्ण कला क्षेत्र लाग्नुपर्ने बताए । 

अवार्डमा सुगमसंगीतर्फ गायक गोविन्द मधुर आचार्य र गायिका बबिना भट्टराई सर्वोत्कृष्ट गायक गायिका घोषित भए । आचार्यले ‘एक दिन उज्यालो छाउला’ गीतबाट सर्वोत्कृष्ट गायकको अवार्ड चुमेका हुन् भने भट्टराईले ‘गुनासो’ गीतबाट सर्वोत्कृष्ट गायिकाको अवार्ड चुमेकी हुन् ।

त्यस्तै आधुनिक विधातर्फ नरहरि प्रेमी ‘घर छोडेको मान्छे’ गीतबाट सर्वोत्कृष्ट संगीतकार बने भने महेश आचार्य ‘तिमी सँगै छैनौ’ गीतबाट सर्वोत्कृष्ट गीतकार बन्न सफल भए । गायिका अन्जु पन्त र गायक नरेश रेग्मीले ‘धर्ती र जूनको कहानी’ गीतबाट सर्वोत्कृष्ट युगल गायनको अवार्ड चुम्न सफल भए । ‘एउट जून’ गीतबाट सुशील बिक्रम शाहले सर्वोत्कृष्ट ध्वनि सम्पादन आधुनिकको अवार्ड चुमे । ‘आदत’ गीतबाट विपिन आचार्यले सर्वोत्कृष्ट संगीत संयोजकको अवार्ड चुम्न सफल भए । रुपेश थापा ‘तिमीबिना चल्दैन’ गीतबाट सर्वोत्कृष्ट म्युजिक भिडियो छायाँकार बन्न सफल भए भने ‘लामपाते सुरती’बाट रबिन बिक सर्वोत्कृष्ट म्युजिक भिडियो सम्पादनको अवार्ड चुम्न सफल भए । अभिनेता विनोद श्रेष्ठ र उषा सुवेदी ‘बिदाइ’ गीतबाट सर्वोत्कृष्ट म्युजिक भिडियो मोडलको अवार्ड चुम्न सफल भए । शान थापाले ‘छुनै हुन्न जस्तो’ गीतबाट सर्वोत्कृष्ट म्युजिक भिडियो निर्देशकको अवार्ड चुम्न सफल भए । 

एलिना चौहान ‘तिमीबिना चल्दैन’ गीतबाट पपुलर गायिका अफ दि इयरको अवार्ड चुम्न सफल भइन् । ‘भाग्य लेख्ने भगवान’ गीतबाट गीतकार भुपेन्द्र बुढाथोकीले जुरी अवार्ड गीतकारको अवार्ड प्राप्त गरे । ‘पागल’ गीतबाट केशव पौडेलले जुरी अवार्ड संगीतकारको अवार्ड प्राप्त गरे भने दिपेन्द्र आले ‘ढल्केबरैमा’ गीतबाट सर्वोत्कृष्ट गायक डायस्पोराको अवार्ड चुम्न सफल भए । ‘जति टाले पनि’ गीतबाट सुरज पण्डितले जुरी अवार्ड गायकको अवार्ड प्राप्त गरे भने सर्वोत्कृष्ट कस्ट्युम डिजाइनर शम्भु पुरीले प्राप्त गरे । 

पपगायनतर्फ गायक प्रेज्वल नेपाली ‘कस्तो माया’ गीतबाट सर्वोत्कृष्ट पप गायक बने । गायिका सारिका घिमिरे ‘कलियुगकी राधा’ गीतबाट सर्वोत्कृष्ट पप गायिका बन्न सफल भइन् । गीतकार रमेश कोइराला सर्वोत्कृष्ट पप गीतकार बने भने जुगल डंगोल सर्वोत्कृष्ट पप संगीतकार बन्न सफल भए । सुदिप भण्डारी (जिबब) सर्वोत्कृष्ट र्‍यापर बन्न सफल भए । 

लोकदोहोरीतर्फ गायक सरोज लामिछाने ‘खोली तरेको’ गीतबाट सर्वोत्कृष्ट गायक लोकदोहोरीको अवार्ड चुम्न सफल भए । त्यस्तै गायिका सुनिता बुढा क्षेत्रीले ‘उजेली’ गीतबाट सर्वोत्कृष्ट गायिकाको अवार्ड चुम्न सफल भइन् । कृष्ण केसी ‘ठूली’ गीतबाट सर्वोत्कृष्ट संगीत लोकदोहोरी, सन्तोष सापकोटा ‘बस्यौ अलग्गै’ गीतबाट सर्वोत्कृष्ट गीतकार लोकदोहोरी, सामना शाह ‘आँसुको वर्षात्’बाट सर्वोत्कृष्ट महिला गीतकार, तेजेन्द्र दूरा ‘तिम्रो जवानी’ गीतबाट सर्वोतकृष्ट संगीत संयोजक लोकदोहोरी, खड्ग बाजुराली ‘ठूली’ गीतबाट सर्वोत्कृष्ट ध्वनि सम्पादन लोकदोहोरीको अवार्ड चुम्न सफल भए । 

त्यस्तै मौसम हिमाली ‘कश्मिरे पछ्यौरी’ गीतबाट सर्वोत्कृष्ट म्युजिक भिडियो निर्देशक लोकदोहोरीको अवार्ड चुम्न सफल भए । बादल घिमिरे ‘कसम तोड्ने भा’ गीतबाट सर्वोत्कृष्ट म्युजिक भिडियो मोडल महिला पुरुष र अस्मिता पुरीले ‘फूलमाया’ गीतबाट सर्वोत्कष्ट म्युजिक भिडियो मोडल महिलातर्फको अवार्ड चुम्न सफल भए । रेश्मा तामाङ ‘जुध्यो नजर’ गीतबाट सर्वोत्कृष्ट कल्चरल गीत गायिका बनिन् ।

गायक शुक्र तामाङ र गायिका रेजिना परियारको ठट्यौली ठाडो भाका गीत सर्वोत्कृष्ट कल्चरल गीत बन्न सफल भयो । गायक रायन बस्यालले ‘घामको झुल्को’ गीतबाट सर्वोत्कृष्ट नवप्रतिभा गायकको अवार्ड चुमे भने उमेश भट्टले ‘कतै म हराएँ कि’ गीतबाट सर्वोत्कृष्ट म्युजिक भिडियो नवनिर्देशकको अवार्ड चुम्न सफल भए । 

गायक रामचन्द्र चन्दको ‘पापीनीलाई’ गीत सर्वोत्कृष्ट लोकगीत बन्न सफल भयो । सबिन आचार्य र निशा गुरुङ सर्वोत्कृष्ट प्रत्यक्ष गायक गायिका घोषित भए । ‘ए गौरी’ गीतबाट गायिका संगम लामिछाने र ‘लजाउँदै लजाउँदै’ गीतबाट सुशील ज्ञवालीले पब्लिक च्वाइस अवार्ड लोकदोहोरीतर्फको अवार्ड चुम्न सफल भए ।

त्यसैगरी चलचित्र विधातर्फ गीतकार प्रमोद ढुंगाना चलचित्र उपहारको ‘हारेको छैन’ गीतबाट सर्वोत्कृष्ट चलचित्र गीतकार बन्न सफल भए । संगीतकार अर्जुन पोखरेल ‘ज्वाइँसाप’ चलचित्रको ‘कसम बत्तिको’ गीतबाट सर्वोत्कृष्ट संगीतकार बने । चलचित्र ‘दिमाग खराब’को ‘झम्के झमाझम’ गीतबाट गायक सुमिन खड्का र गायिका नम्रता खरेल सर्वोत्कृष्ट चलचित्र गायक गायिका बन्न सफल भए । गायक सबिन सुवेदीलाई चलचत्रि ‘छक्कापञ्जा ५’को ‘बिहे भाको छैन’ गीतबाट इन्करेजमेन्ट अवार्ड गायकको अवार्ड प्रदान गरियो । 

उत्कृष्ट पाँचमा परेकामध्येबाट सर्वोत्कृष्ट बन्नका लागि निर्णायकको तर्फबाट ५० प्रतिशत, पब्लिकको तर्फबाट (भोट) ४० प्रतिशत र आयोजकको तर्फबाट १० प्रतिशत गणना गरी गीतहरुको मूल्यांकन गरिएको आयोजक संस्थाले जनाएको छ ।  निर्णायकमा लोकप्रिय मोडल तथा अभिनेत सागर लम्साल बले, म्युजिक भिडियो निर्देशक तथा कोरियोग्राफर स्मृति तिमिल्सिना ‘गुरुआमा’, वरिष्ठ पत्रकार तुलसी गिरी ‘भावुक’, मोडल सबिना कार्की, लोकप्रिय गायिका देवी घर्ती र लोकप्रिय गायक राजु ढकाल रहेका थिए ।

त्यस्तै कार्यक्रममा ‘म्युजिक खबर रजत सम्मान’ बाट तिलकसिंह पेला सम्मानित भएका थिए । गायक खुमन अधिकारी र गायिका जुनु रिजाललाई ‘म्युजिक खबर दशक संगीत सम्मान’ अर्पण गरियो भने गायिका मिना लामालाई ‘म्युजिक युवा संगीत सम्मान’ अर्पण गरिएको थियो । 

यस्तै गायिका पुजा देपकोटालाई ‘म्युजिक खबर बालप्रतिभा संगीत सम्मान’, न्युजिल्याण्ड निवासी गीतकार रमिल अधिकारीलाई म्युजिक खबर डायस्पोरा संगीत सम्मान प्रदान गरियो । त्यस्तै फोटो पत्रकारितामा उचाइ कायम गरेका फोटो पत्रकार प्रदीपराज वन्तलाई म्युजिक खबर फोटो पत्रकारिता सम्मान अर्पण गरियो । गीतकार शेखर ढुंगेल र निर्देशक दिवाकर भट्टराईलाई म्युजिक खबर स्रष्टा सम्मान, कोरियोग्राफर निर्देशक गम्भिर विष्टलाई म्युजिक खबर कला सम्मान, सफला मैया राजभण्डारीलाई म्युजिक खबर सामाजिक सेवा सम्मान र आश्विनीकान्त झालाई म्युजिक खबर ब्यूटी प्याजेन्ट कोरियोग्राफर सम्मान अर्पण गरियो । त्यस्तै पत्रकार एमपी सुब्बा र दिपाञ्जली शाहलाई जनही ५ हजार ५५५ रुपैयाँसहित म्युजिक खबर संगीत कला सम्मान अर्पण गरियो । 

गायिका मन्जु पौडेल र पत्रकार निराजन भण्डारीले कार्यक्रमको सञ्चालन गरेका थिए । कार्यक्रममा शंकर बिसी र अस्मिता पुरीको समूह, शिव विक र रितु तामाङको समूहले नृत्य प्रस्तुत गरेका थिए भने जुनु रिजाल र टिका बमजनले गीत प्रस्तुत गरेका थिए । शुभकामना मिडिया सोलुशनको आयोजनामा भएको १२औं म्युजिक खबर म्युजिक अवार्ड कार्यक्रमलाई प्रिज्म टेलिभिजनले प्रत्यक्ष प्रसारण गरेको थियो । 

कार्यक्रममा संघीय सांसद रेखा कुमारी यादव, बागमती प्रदेश सांसद दिपेन्द्र श्रेष्ठ, प्रिज्म टेलिभिजनका अध्यक्ष निर्जल श्रेष्ठ, गीतकार संघ नेपालका अध्यक्ष बसन्त बित्यासी थापा, चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुली, चलचित्र कलाकार संघका अध्यक्ष एवं अवार्डका सल्लाहकार मोहन निरौला, वरिष्ठ अभिनेत्री निर्देशक दीपाश्री निरौला, अवार्डका सल्लाहकारहरु दुर्गा रायमाझी, आरसी कोइराला, चन्द्र शर्मा, सन्तोष श्रेष्ठ, राम भट्टराई, वरिष्ठ गायक लाक्पा शेर्पा, कृषि विकास बैंकका म्यानेजर सुदिल घिमिरे, इल्मिरा इन्टरनेशनल ट्राभल्स एण्ड टुर्सका म्यानेजिङ डाइरेक्टर विमान कार्की, डिजिटल बोर्ड व्यवसायी संघका अध्यक्ष मोहन कार्की, आइआइएफटीका म्यानेजिङ डाइरेक्टर तेन्जिङ शेर्पा लगायतको उपस्थिति थियो ।

अवार्ड कार्यक्रमलाई कृषि विकास बैंक, सूर्य नेपाल प्रा.लि., आइआइएफटी फेसन स्कुल, मनकामना वेभरेज, टोखा नगरपालिका, गोकर्णेश्वर नगरपालिका, राष्ट्रिय वाणिज्य बैंक, चलचित्र विकास बोर्ड, नवोदित कलेज, कामना सेवा विकास बैंक, प्रभु बैंक, सानिमा बैंक, विन्ध्यवासिनी डेरी, सूर्यज्योति लाइफ, सुट माला, महालक्ष्मी पेन्सट्, ओखती साबुन, नेपाल वायुसेवा निगम, पालुङटार रिसोर्ट, वेष्ट वेस्टर्न प्लस, माउन्टेन हेलिकप्टर्स, विकल्प एग्रोफर्म रश्मिलाज फेसियल हाउस लगायतले सहकार्य गरेका थिए ।

ADV

सम्बन्धित खबर