२०८३ असोज २२ गते बिहिवार / Oct 08 , 2026 , Thursday
२०८३ असोज २२ गते बिहिवार

सबै श्रम गन्तव्य मुलुकमा विभागले पठायो १ हजार ४३ म्यानपावर कम्पनीको सूची

Nada
२०८२ जेठ २६ गते ०६:१५
Shares
सबै श्रम गन्तव्य मुलुकमा विभागले पठायो १ हजार ४३ म्यानपावर कम्पनीको सूची

काठमाडौं : वैदेशिक रोजगार विभागका महानिर्देशक कमलप्रसाद भट्टराईले सिन्डिकेट अन्त्य गर्ने उद्देश्यअनुसार परराष्ट्र मन्त्रालयमार्फत श्रम सम्झौता भएका सबै श्रम गन्तव्य मुलुकमा दर्ता रहेका म्यानपावर कम्पनीको नामावलीसहितको सूची पठाएको बताएका छन् । आइतबार विभागमा सञ्चारकर्मीसँगको कुराकानीमा उनले जापानमा जिट्को अन्तर्गतका ५ सय २२ संस्था र अन्य मुलुकमा विभागमा दर्ता रहेका जिट्कोसहित सबै १ हजार ४३ कम्पनीको नामावली पठाएको बताए ।

ncell

महानिर्देशक भट्टराईले वैदेशिक रोजगारीमा सीमित म्यानपावरको सिन्डिकेट खडा हुने हल्ला निराधार रहेको बताउँदै दर्ता तथा नवीकरण भएका सबै म्यानपावर कम्पनीलाई श्रम सम्झौता भएका देशहरूमा कारोबार गर्न जानकारीसहित पठाएको बताए । 

उनले भने, ‘वैदेशिक रोजगारीमा सीमित म्यानपावरहरूको सिन्डिकेट हल्ला निराधार हो । नेपाल सरकार कुनै पनि सिन्डिकेटको पूर्णरूपमा खारेजीको पक्षमा छ । म्यानपावर व्यवसायीहरूलाई बजारी हल्लाको पछि लाग्न आवश्यक छैन ।’

महानिर्देशक भट्टराईले वैदेशिक रोजगारमा पठाउने भन्दै पछिल्ला दिनहरू अनधिकृत व्यक्ति वा संस्थाले करोडौं ठगी गरेका घटना सार्वजनिक भएकाले त्यो विषय समस्याको रूपमा देखा परेको बताउँदै आम सर्वसाधारणलाई नेपाल सरकारको मान्यता प्राप्त म्यानपावर कम्पनीहरूमार्फत मात्रै वैदेशिक रोजगारमा जानका लागि आग्रह गरे ।

उनले भने, ‘अहिले वैदेशिक रोजगारका नाममा धेरै ठगिएका छन् । यसलाई निरुत्साहित गर्न  नेपाल सरकारले मान्यता दिएको म्यानपावर कम्पनीबाट मात्रै विदेश जान जरुरी छ ।’

सम्बन्धित खबर