काठमाडौं : गायक तथा अभिनेता प्रकाश सपूतले नयाँ चलचित्र ‘मिरमिरे’ मा अभिनय गर्ने भएका छन् । अभिनेता दयाहाङ राईको अभिनय रहने यस चलचित्रमा प्रकाशको पनि इन्ट्री भएपछि दर्शकमा थप उत्साह देखिएको छ ।
निर्देशक यम शेर्पाको निर्देशनमा बन्न लागेको ‘मिरमिरे’ ले दयाहाङ र प्रकाशलाई पहिलो पटक एउटै पर्दामा ल्याउने तयारी गरेको हो । यसअघि दुवै कलाकारले आ-आफ्ना क्षेत्रमा सशक्त उपस्थिति जनाइसकेका छन् ।
अभिनेता प्रकाश सपूतले चलचित्रमा जोडिन पाउँदा खुशी व्यक्त गर्दै आफूले निभाउने भूमिका विशेष र प्रभावशाली रहेको बताएका छन् । उनले ‘मिरमिरे’बाट आफूलाई कलाकारको रूपमा नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गरेका छन् ।
हाल अन्य कलाकारहरूको छनोट प्रक्रिया चलिरहेको निर्देशक यम शेर्पाले जानकारी दिए । “हामी बजारले मन पराएका र अभिनयमा सक्षम कलाकारहरूलाई ल्याउन खोजिरहेका छौं,” उनले भने, “केहीसँग अन्तिम छलफल भइरहेको छ ।”
यमले प्रकाशले केवल अभिनय गर्ने कि संगीततर्फ पनि जोडिने भन्ने विषयमा अझै स्पष्ट नभएको बताए । तर, प्राविधिक र कलाकार दुवै पक्ष बलियो बनाउनेमा आफूहरु गम्भीर रहेको उनले बताए ।
ग्रामीण जीवनको कथा
‘मिरमिरे’ ग्रामीण पृष्ठभूमिमा आधारित सामाजिक कथामा निर्माण हुँदैछ । निर्देशक यम शेर्पाले कथा पनि आफैं लेखेका छन् ।
चलचित्र ‘कार्साङ’बाट निर्देशनमा चर्चा कमाएका यम शेर्पाको यो दोस्रो निर्देशन हो ।
यार्सा फिल्म्सको ब्यानरमा निर्माण हुने चलचित्रका निर्माता निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा हुन्। सह–निर्मातामा गोविन्द बोहरा र ईश्वर श्रेष्ठ छन् भने कार्यकारी निर्माता आरआर फिल्म्सका रोहित कट्टेल रहनेछन् ।
‘मिरमिरे’ २०८२ सालभित्रै प्रदर्शन हुने तयारीमा छ, यद्यपि मिति अझै टुंगो लागेको छैन । चलचित्रको वितरण आरआर फिल्म्सले गर्नेछ ।