२०८२ जेठ २८ गते बुधवार / Jun 11 , 2025 , Wednesday
२०८२ जेठ २८ गते बुधवार
Ads

रेमिट्यान्स आप्रवाहमा नयाँ रेकर्ड, एकै महिनामा भित्रियो १ खर्ब ६५ अर्ब ३० करोड

मध्यान्ह
२०८२ जेठ २७ गते १२:१६
रेमिट्यान्स आप्रवाहमा नयाँ रेकर्ड, एकै महिनामा भित्रियो १ खर्ब ६५ अर्ब ३० करोड

काठमाडौं : देशको अर्थतन्त्रमा रेमिट्यान्सको योगदान झनै बलियो बन्दै गएको छ । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको तथ्यांक अनुसार, २०८२ साल वैशाख महिनामा १ खर्ब ६५ अर्ब ३० करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । यो अहिलेसम्मकै एक महिनामा भित्रिएको उच्च रकम हो  ।

यसअघि २०८१ सालको फागुनमा एक महिनामा भित्रिएको रेमिट्यान्सको रेकर्ड १ खर्ब ५१ अर्ब २० करोड रुपैयाँ थियो । त्यसको तुलनामा वैशाखमा रेमिट्यान्स आप्रवाह झन् उच्च देखिएको छ ।

चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो १० महिनामा कुल १३ खर्ब ५६ अर्ब ६१ करोड रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १३.३ प्रतिशतले बढी हो । अघिल्लो वर्ष सोही अवधिमा रेमिट्यान्स वृद्धि दर १६.९ प्रतिशत थियो ।

रेमिट्यान्सको प्रवाह अमेरिकी डलरमा पनि उल्लेखनीय रुपमा बढेको छ । समीक्षावधिमा डलरमा विप्रेषण आप्रवाह १०.५ प्रतिशतले वृद्धि भई ९ अर्ब ९६ करोड पुगेको छ । अघिल्लो वर्ष सोही अवधिमा यो वृद्धि दर १४.८ प्रतिशत थियो ।

यस अवधिमा खुद ट्रान्सफर १४ खर्ब ७९ अर्ब ८ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको १३ खर्ब १ अर्ब ७५ करोडको तुलनामा धेरै हो ।

वैशाख मसान्तसम्म वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ४ लाख ५ हजार ६१० रहेको छ । पुनः श्रम स्वीकृति लिनेको संख्या भने २ लाख ८० हजार ३१४ रहेको छ ।

ADV

सम्बन्धित खबर