– किरण बिक
चीनको नान्जिङ एउटा महत्त्वपूर्ण ऐतिहासिक तथा सांस्कृतिक सहर हो, जसले आफ्नो समृद्ध इतिहाससँगै आधुनिक विकासको सफल उदाहरण प्रस्तुत गरेको छ । पूर्वी चीनमा याङ्जी नदीको किनारमा अवस्थित यो सहर जिआंग्सु प्रान्तको राजधानी हो र विभिन्न कालखण्डमा चीनको राजनीतिक केन्द्रको रूपमा भूमिका निर्वाह गर्दै आएको छ । ‘नान्जिङ’को अर्थ ‘दक्षिणी राजधानी’ हो र यो सहर मिंग वंशदेखि लिएर गणतन्त्र चीनको प्रारम्भिक समयसम्म चीनको राजधानी रहिसकेको छ । पंक्तिकारले यस वर्ष मे महिनामा चीनको नान्जिङ भ्रमण गर्न पाएको थियो, जुन भ्रमण नेपालमा रहेको चिनियाँ दूतावासको समन्वयमा सम्पन्न भएको थियो । यो भ्रमण शैक्षिक र सांस्कृतिक गतिविधिहरूको संयोजनमा भएको थियो, जसमा उच्चस्तरीय प्राध्यापकहरूले सञ्चालित कक्षाहरू र सांस्कृतिक भ्रमणहरू समावेश थिए । भ्रमणको औपचारिक अवधि मे ६ देखि मे २१ सम्म रहेको भए पनि मेरो व्यक्तिगत भ्रमण मे ७ देखि मे २१ सम्म सीमित रह्यो । नेपालबाट ६ सदस्यीय टोलीका रूपमा भ्रमणमा गएका थियौँ ।
सुरुमा पंक्तिकारलाई नान्जिङ जान उत्साह थिएन, किनभने चाहना शांघाइ वा बेइजिङ जस्ता ठूला र प्रख्यात सहरहरूमा भ्रमण गर्ने थियो । तर, नान्जिङको सांस्कृतिक र ऐतिहासिक महत्वलाई नजिकबाट बुझ्न पाउँदा भने निकै उत्साह प्राप्त भयो । यस भ्रमणले नजिकैको अर्को सहर चिंग्दाओ भ्रमण गर्ने अवसर पनि प्रदान ग¥यो, जसले चीनको विविधता र सौन्दर्य झल्कायो । नान्जिङ ऐतिहासिक रूपमा चीनको शिक्षा, संस्कृति र सभ्यताको केन्द्र रहँदै आएको छ । यो सहर मिंग वंशको राजधानी भएकोले वास्तुकला र सांस्कृतिक विकासमा उल्लेखनीय प्रगति गरेको छ । यस क्रममा नान्जिङको सहर पर्खाल ठूलो र सुरक्षित प्राचीन पर्खालहरूमध्ये एक हो । साथै, यहाँ कन्फुसियस शिक्षणको परम्परा रहँदै आएको छ र आज पनि नान्जिङ विश्वविद्यालयजस्ता प्रतिष्ठित शैक्षिक संस्थाहरूले यसको गहिरो सांस्कृतिक जरा प्रस्तुत गरिरहेका छन् ।
हाम्रो भ्रमणको मुख्य आकर्षण भनेको नान्जिङ सूचना विज्ञान तथा प्रविधि विश्वविद्यालयमा सञ्चालन भएका शैक्षिक कक्षाहरू थिए । यो विश्वविद्यालय विशेषगरी मौसम विज्ञान, वातावरण अध्ययन र डाटा विश्लेषणमा अग्रणी मानिन्छ । यसको आधुनिक शैक्षिक संरचना र अन्तर्राष्ट्रिय सहयोगले यसलाई चीनमा मात्र नभई विश्वभर लोकप्रिय बनाएको छ । विश्वविद्यालयको क्यान्टिनमा स्वादिष्ट र सस्तो भोजन पाइन्थ्यो, जुन पंक्तिकारको लागि सबैभन्दा मन पर्ने स्थान बन्यो । तर, स्थानीय जनतासँगको अन्तरक्रियामा केही कठिनाइ अनुभव गर्नुप¥यो । धेरैजसो स्थानीय मानिसहरू संवाद गर्न उत्सुक थिएनन्, जसले गर्दा स्थानीय जीवनशैली र संस्कृति नजिकबाट बुझ्न पूर्ण अवसर प्राप्त भएन ।
त्यसबाहेक, भ्रमणका क्रममा कर्मचारी र प्रशासनिक पक्ष अत्यन्तै सहयोगी र स्वागतयोग्य थिए, जसले हामीलाई सम्मान र आदरको अनुभूति
गरायो । नान्जिङको इतिहास अत्यन्तै महत्त्वपूर्ण छ, तर त्यहाँ एक दुःखद घटना पनि छ — १९३७ को नान्जिङ हत्याकाण्ड । यो घटना जापानी सैन्य आक्रमणको क्रममा सहरमा भएको मानवता विरुद्धको अपराध हो, जसमा हजारौँ निर्दोष मानिसहरूको हत्या गरिएको थियो । यो घटना नान्जिङ हत्याकाण्ड स्मारक हलमा श्रद्धासाथ राखिएको छ र यो घटनाले युद्धको क्रूरता र मानवीय धैर्यतालाई स्पष्ट पार्दछ ।
आजको नान्जिङ एक आधुनिक, आर्थिक र औद्योगिक केन्द्रको रूपमा विकसित भइसकेको छ । यहाँ उत्पादन, वित्तीय सेवा, प्रविधि र शिक्षाको क्षेत्रमा तीव्र विकास भएको छ । सहरमा सुव्यवस्थित सडक, सफा वातावरण र आधुनिक पूर्वाधार छन् । यसले नान्जिङलाई चीनका अन्य मुख्य सहरहरू र विश्वका विभिन्न भागसँग जोडेको छ ।
सांस्कृतिक दृष्टिले पनि नान्जिङले पुरानो र नयाँलाई सुन्दर रूपमा मिश्रण गरेको छ । मिंग सियालिङ माउसलियम, कन्फुसियस मन्दिर र सन यातसेन म्युजियम जस्ता स्थलहरूले यसको समृद्ध इतिहासलाई प्रतिबिम्बित गर्छन् भने आधुनिक कला, वास्तुकला र सांस्कृतिक कार्यक्रमहरूले यसलाई जीवित र सजीव बनाइरहेका छन् ।
समग्रमा, हाम्रो भ्रमण अत्यन्तै सफल र स्मरणीय रह्यो । पंक्तिकारलाई नान्जिङको सांस्कृतिक, ऐतिहासिक तथा शैक्षिक पक्षलाई नजिकबाट बुझ्न पाएकोमा गर्व छ । भ्रमणपछि पनि पंक्तिकार नान्जिङको यादमा डुबेको छ र भविष्यमा पुनः त्यो सुन्दर सहर भ्रमण गर्ने इच्छा राख्दछ । नान्जिङ एउटा यस्तो सहर हो जहाँ इतिहासले आधुनिकतालाई अँगालेको छ । यसको समृद्ध इतिहास, उत्कृष्ट शैक्षिक संस्थानहरू र आधुनिक पूर्वाधारहरूले चीनको सांस्कृतिक गौरव र विकासको सन्देश दिन्छ । यो भ्रमण मेरो लागि व्यक्तिगत र शैक्षिक रूपमा एक महत्त्वपूर्ण अनुभव रह्यो, जसले मेरो दृष्टिकोणलाई फराकिलो बनाएको छ ।