काठमाडौं : पूर्वअर्थमन्त्री एवं नेकपा माओवादी केन्द्रका सांसद वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट बलियो सरकारले ल्याएको कमजोर बजेट भएको बताएका छन् ।
आइतबार प्रतिनिधिसभा बैठकमा “आर्थिक वर्ष २०८२/०८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल”मा भाग लिँदै उनले यस्तो बताएका हुन् ।
उनले संसद्को गणितीय हिसाबले करिव दुई तिहाइको सरकारले ल्याएको बजेटमा मिहिनेत नपुगेको बताए । उनले वर्तमान सरकार गठन हुँदै गर्दा संविधान संशोधन, राजनीतिक स्थायित्व, सेवा प्रवाहमा कडाइ र अर्थतन्त्रमा सुधारको प्रतिवद्धता जनाए पनि बजेट कमजोर आएको जिकिर गरे ।
उनले एजेन्डाहरूलाई नारासहित विषयमा केन्द्रित, बजेटलाई प्याकेजिङ र ब्रान्डिङ गरेर एकीकृत रूपले बजेट ल्याएको खण्डमा मात्रै प्रभावकारी हुने धारणा राखे ।
नेकपा माओवादी केन्द्रका उपमहासचिव समेत रहेका पुनले बजेट निर्माणमा अर्थमन्त्रीको मिहिनेत नपुगेको बताउँदै दुई ठूला दलहरूले गर्नुपर्ने मिहिनेत पनि नगरेको आरोप लगाए ।
आगामी बजेट राजनीतिक नेतृत्वले मिहिनेतका साथ नभइ प्रशासकीय तहले नियमितरूपमा बनाउने बजेटको रूपमा देखिएको उनले जिकिर गरे ।