२०८२ असार १० गते मङ्गलवार / Jun 24 , 2025 , Tuesday
२०८२ असार १० गते मङ्गलवार
Ads

 ‘लालीबजार’मा स्वस्तिमाको गर्भवती लुक्स

shivam cement
मध्यान्ह
२०८२ असार १० गते १२:२९
 ‘लालीबजार’मा स्वस्तिमाको गर्भवती लुक्स

काठमाडौं : ‘जात्रा’ शृंखलामार्फत स्थापित भएको ब्यानर षट्कोण आर्ट्सले निर्माण गर्ने नयाँ फिल्म ‘लालीबजार’मा अभिनेत्री स्वस्तिमा खड्काले अभिनय गर्ने भएकी छिन् । ‘जात्रा’, ‘जात्रै जात्रा’, ‘महापुरुष’ र ‘महाजात्रा’ निर्माण गरेर दर्शक र प्रदर्शकको विश्वास जितिसकेको उक्त ब्यानरले मंगलबार अभिनेत्री खड्का फिचर्ड पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति आगामी फागुन १ गतेलाई तय गरेको छ ।

सार्वजनिक पोस्टरमा अभिनेत्री खड्का भिन्न देखिएकी छिन् । गर्भवती महिला देखिएता पनि उनको शृङ्गार र हाउभाउले फरक चित्रण गरेको छ । अर्थात् उनको शारीरिक अवस्था र उनको चाहना पोस्टरमा भिन्न देखाइएको छ । यम थापाको लेखन तथा निर्देशनमा तयार हुने ‘लालीबजार’लाई रवीन्द्रसिंह बानियाँ र म्याक्स दीपेस खत्रीले निर्माण गर्दैछन् भने यसका कार्यकारी निर्माता प्रदीप भट्टराई हुन् ।

अभिनेत्री खड्काले फिल्मको कथावस्तु र निर्माण टिमका कारण आफू नयाँ फरक रुपमा प्रस्तुत हुन तयार भएको बताइन् । उनले भनिन्, ‘मेरा अघिल्ला फिल्म भन्दा यसमा भिन्न स्वस्तिमा दर्शकले देख्नुहुनेछ । सार्वजनिक गरिएको पोस्टरले पनि धेरै कुरा भनिरहेको छ, म यो पात्रलाई जीवन्त बनाउन निकै उत्साहित छु ।’

निर्माता बानियाँका अनुसार षट्कोण आर्ट्सले स्क्रिप्ट खोजीकै क्रममा निर्देशक थापासँग सहकार्यको सुरुवात गरेको हो । उनले भने, ‘हामी अन्य लेखक तथा निर्देशकसँग सहकार्य गर्न छलफलमा थियौं । राम्रो कथा दर्शकसम्म जानबाट बञ्चित नहोस् भनेर हामीले केही लेखक तथा निर्देशकसँग सहकार्यका लागि छलफल गरेका थियौं । सोही क्रममा निर्देशक थापाले पठाउनुभएको स्क्रिप्टले हामीलाई आकर्षित गर्‍यो । उहाँले स्क्रीप्ट लिएर काम गर्नुस् भन्नुभएको थियो तर हामीले नै निर्देशन गर्न आग्रह गर्‍यौं ।’

निर्देशक थापा पनि आफ्नो करिअरलाई ‘लालीबजार’ले नयाँ उचाई दिनेमा विश्वस्त छन् । निर्देशनमा केही समय विश्राम लिएका निर्देशक थापाले यसपटकको कार्यशैलीले आफ्नो कामलाई झनै परिपक्क बनाएको बताए । उनले भने, ‘मेरो एक भेटमा निर्देशक भट्टराईसँग काम गर्ने विषयमा छलफल भएको थियो । सोही क्रममा म षट्कोण आर्ट्समा आइपुगेको हुँ, यहाँ आएपछि मसँग भएको एउटा आइडिया सेयर गरें । उहाँहरूलाई मन परेपछि हामीले काम अगाडि बढाएका हौं, निर्देशनको जिम्मेवारी पनि मलाई नै दिनुभएको छ । यो मेरा लागि अवसर र चुनौती दुवै हो ।’

उनले फिल्मका अन्य कलाकार र विषयवस्तुका बारेमा क्रमशः जानकारी दिँदै जाने बताए । सार्वजनिक गरिएको पोस्टरमा केशव पाण्डेको फोटोग्राफी रहेको छ भने रोयल भीमसेन (ट्राइडेन्ट कन्सेप्ट) ले पोस्टर तयार पारेको हुन् ।

आगामी दशैंलगत्तै छायांकन गरिने ‘लालीबजार’ षट्कोण आर्ट्स एकल निर्माता भएर निर्माण गरिरहेको पाँचौं फिल्म हो । षट्कोण आर्ट्सले यसबाहेक ‘टल्कजंग भर्सेस टुल्के’, ‘डाकिनी’, ‘सुपर मंक’ लगायतका फिल्ममा अन्य ब्यानरसँग सहकार्य गरेको छ ।

ADV

सम्बन्धित खबर

Advertise