रौतहट : रौतहटका ३ पालिकाले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुका साथै आगामि आर्थिक वर्षका लागि बजेट ल्याएका छन् । मौलापुर नगरपालिकाले कुल ३९ करोड ५० लाखको बजेट ल्याएको छ । नगर सभा एवं ९औं बजेट अधिवेशनमा उपमेयर नागेन्द्र यादवले नीति तथा कार्यक्रम एवं बजेट प्रस्तुत गरेका थिए । नगरपालिकाको आ.व. २०८२/०८३ मा ३९ करोड ५० लाखको बजेट प्रस्तुत गरिएको छ ।
मौलापुर नगरपालिकामा हरेक वर्षझै यस वर्ष पनि शिक्षा क्षेत्रमा अत्याधिक बजेट विनियोजन गरेको छ । शिक्षा क्षेत्रमा मौलापुरले कुल बजेटको ४० प्रतिशत भन्दा बढी रकम छुट्याएको मेयर रिना कुमारी साहले बताइन् ।
मौलापुरमा नगर प्रहरीको सट्टा नगर शिक्षक र चिकित्सक रहेको छ । शिक्षा क्षेत्रमा मोडेल बन्दै गइरहेको मौलापुर नगरपालिका देशमै उत्कृष्ट काम गरेवापत १ महिना अघि पोखरामा आयोजित एक कार्यक्रममा सम्मानित समेत भएको छ ।
यस्तै मौलापुरले छोरीसँग मेयर कार्यक्रमलाई समेत निरन्तरता दिएको छ । यो कार्यक्रम अन्तर्गत विवाहको समयमा हरेक छोरीलाई ३० हजार नगद सहयोग पालिकाले गर्दै आएको छ । यसैगरी मौलापुरले नमुना एकीकृत दलित बस्ती निर्माण, धुँवा चुलोमुक्त अभियानलाई निरन्तरता दिएको छ ।
अधिवेशनमा पूर्व मन्त्री प्रभु साह, पूर्व सांसद समिना हुसैन, मेयर रिना कुमारी साह, सिडियो बिनोद कुमार खड्का, सशस्त्रका एसपी सन्तोष कुमार बस्नेत, राष्ट्रिय अनुसन्धनका एसपी कुमार बुढाथोकी, मालपोत कार्यालय मौलापुरका प्रमुख कौशलकिशोर झा, प्रमुख प्रशासकीय अधिकृत रामबाबु साह, आजपा नेता मनोज यादव,उमेश कुशवाहा, विद्युत प्राधिकरण मौलापुर प्रमुख दिनेश यादव लगायत नगरका निर्वाचित सम्पूर्ण जनप्रतिनिधि, कर्मचारी, नागरिक समाज लगायतको उपस्थिति रहेको थियो ।
यस्तै गुजरा नगरपालिकाले ७९ करोड ५३ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको छ । नगर प्रमुख सन्तलाल चौधरीको अध्यक्षतामा भएको १२ औं नगरसभाको उद्घाटन सत्रमा नगर उपप्रमुख रत्नलामाले अगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेकी थिइन् ।
प्रस्तुत बजेटमध्ये चालुतर्फ २१ करोड ६९ लाख रुपैयाँ र पुँजीगततर्फ १७ करोड ६० लाख रुपैयाँ रहेको छ । बजेटको स्रोतमध्ये आन्तरिक राजस्वबाट ३ करोड २९ लाख ६० हजार राजस्व बाँडफाँटबाट १२ करोड ९५ लाख ६५ हजार ९० र सशर्त अनुदान पुजिँगत १ करोड रहेको छ ।
यस्तै परोहा नगरपालिकाको ९औं नगरसभामा नगर प्रमुख शेख वकिलले ५३ करोड ६७ लाख ८२ हजार ६४ रुपैयाँको बजेट प्रस्तुत गरेका थिए । नगरपालिकाले शिक्षा, स्वास्थ्य, रोजगार, कृषि तथा महिला तथा बाल विकास जस्ता क्षेत्रहरूमा विशेष प्राथमिकता दिएको छ ।