२०८२ असार १५ गते आइतवार / Jun 29 , 2025 , Sunday
२०८२ असार १५ गते आइतवार
Ads

इन्डोनेसियाविरुद्ध नेपालको ३७० रनको फराकिलो जित

shivam cement
मध्यान्ह
२०८२ असार १५ गते १४:०१
इन्डोनेसियाविरुद्ध नेपालको ३७० रनको फराकिलो जित

काठमाडौं : मलेसियामा जारी एसीसी यु-१६ इस्ट जोन कप क्रिकेट प्रतियोगितामा नेपालले इन्डोनेसियाविरुद्ध फराकिलो जित हात पारेको छ । ओपनिङ ब्याटर प्रसिद्ध जैसीको शतक तथा कप्तान बिपिन प्रसाद शर्माको ६ विकेटमा नेपालले इन्डोनेसिविरुद्ध ३७० रनको फराकिलो जित हात पारेको हो ।

नेपालले दिएको ४२१ रनको विशाल लक्ष्य पछ्याएको इन्डोनेसिया २४.३ ओभरमा ५० रनमा बनाउँदै अलआउट भयो । इन्डोनेसियाका लागि केभिन निरजले सर्वाधिक १५ र डिभिट नन्दले १४ रन जोडे भने अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपालका कप्तान विपिनप्रसाद शर्माले ६ विकेट लिए । यस्तै, शुभमन खनाल र सुगम बुढाथोकी समान १-१ विकेट लिए ।

त्यसअघि क्वालालम्पुरस्थित सेलेङ्गोर टर्फ क्लबमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ४२० रन बनाएको थियो । नेपालका लागि ओपनर प्रशिद्ध जैसीले १३२ रनको शतकीय इनिङ खेले । प्रशिद्धले ११४ बल खेल्दै १५ चौका र १ छक्का प्रहार गरेका थिए ।

नेपालका लागि रौनक श्रीवास्तवले ८८, परिमार्जन यादवले ७१ र जोय थापाले ५७ रनको योगदान दिए । यसैगरी, सुगम बुढाथोकी ३९ र रोशन शाही १० रनमा अविजित रहे ।

इन्डोनेसियाका लागि केटुक डर्माले २, रिहान रिजा, महेन्द्र अजि र केभिन निरजले समान १-१ विकेट लिए ।

समूह 'ए'मा रहेको नेपाल शीर्ष स्थानमा रहेको छ । नेपालले हालसम्म खेलेका सबै तीन खेलमा जित हात पारेको छ । यसअघि नेपालले पहिलो खेलमा सिंगापुरलाई ६ विकेटले हराएको थियो भने दोस्रो खेलमा जापानलाई ९ विकेटले हराएको थियो ।

समूह 'ए'मा नेपालभन्दा १ खेल बढी खेलेको सिंगापुरले ४ खेलबाट ३ जितसहित ६ अंक जोडेको छ । जापान र इन्डोनेसियाको २-२ अंक रहेको छ । यता भने भुटान अंकविहीन छ ।

नेपालले अब भुटानसँग खेल्ने छ । समूहका शीर्ष २ टोली सेमिफाइनलमा प्रवेश गर्ने छन् ।

ADV

सम्बन्धित खबर

Advertise