२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

१००औं खेलमा नेपालको शानदार जित

shivam cement
२०८२ असार १५ गते २०:४२
Shares
१००औं खेलमा नेपालको शानदार जित

काठमाडौं : नेपालले एएफसी महिला एसियन कप छनोटमा लाओसलाई ९–० ले हराउँदै शानदार जित हासिल गरेको छ । कप्तान सावित्रा भण्डारी ‘साम्बा’ले खेलमा पाँच गोल गर्दै टोलीको जितमा प्रमुख भूमिका निभाइन् ।

नेपालले खेलको सुरुवातमै अग्रता बनायो । १२औं मिनेटमा अनिता बस्नेतले सविता राना मगरको क्रसमा हेडर गोल गरिन् । त्यसपछि पहिलो हाफको ४४औं मिनेटमा साम्बाले अनिताको क्रसमा हेडर गोल गर्दै नेपाललाई २–० गोलले अगाडि बढाइन् ।

दोस्रो हाफको सुरुवातमै नेपालले तेस्रो गोल थप्यो । दोस्रो हाफ सुरु भएको दोस्रो मिनेटमा रेनुका नगरकोटेले दिएको बलमा साम्बाले उत्कृष्ट पास दिन खोज्दा रश्मि घिसिङले त्यसलाई नजिकबाट गोलमा परिणत गर्न नसके पनि सरु लिम्बूले आफ्नो ५०औं अन्तर्राष्ट्रिय खेलमा गोल गर्दै ३–० गोलको अग्रता दिलाइन् ।

खेलको ५५औं मिनेटमा साम्बाले व्यक्तिगत दोस्रो गोल गरिन् । लामो थ्रु पासमा उनले किपरसँगको एक्लो भिडन्तमा गोल गरिन् । त्यसको एक मिनेटमै रश्मि घिसिङले पनि गोल थपिन् र नेपालले ५–० को फराकिलो अग्रता बनायो ।

त्यसपछि नेपालले केही खेलाडी परिवर्तन गर्‍यो । प्रीति राई, पुजा राना र अनिता केसीले क्रमशः सरु, अनिता बस्नेत र रश्मिलाई रिप्लेस गरे भने रेखा पौडेल र विमला बिकेलाई पनि मैदानमा पठाइयो ।

खेलको ७५औं र ७६औं मिनेटमा साम्बाले लगातार दुई गोल थप्दै ह्याट्रिक पुरा गरिन् र व्यक्तिगत चौथो गोल पनि गरिन् । ८३औं मिनेटमा अनिता केसीले पनि गोल गर्दै नेपाललाई ८–० को अग्रता दिलाइन् । खेलको ८८औं मिनेटमा साम्बाको प्रहार लाओसका खेलाडीको खुट्टामा लागेर गोलमा परिणत भयो ।

यो खेल नेपालको १००औं अन्तर्राष्ट्रिय खेल हो । जुन खेलबाट कप्तानको जिम्मेवारी पाएकी साम्बाले आफ्नो कप्तानी जिम्मेवारी निभाउँदै टिमलाई शानदार जीत दिलाइन् । नेपालले यस जितसँगै छनोटमा तीन अंक जोडेको छ ।

ताजा खबर

सम्बन्धित खबर