सप्तरी : सप्तरीको चन्ही मलहनियाँ प्रहरी चौकीले भन्सार छलि गरी ल्याइएको ठूलो परिमाणका सामग्री बरामद गरेको छ । बुधबार बिहान बरामद गरिएको ती सामग्री भारतबाट गैरकानुनी रूपमा नेपाल भित्र्याइएका थिए ।
चन्ही प्रहरी चौकीका प्रमुख प्रहरी सई हरेन्द्र यादवको नेतृत्वमा खटिएको प्रहरी टोलीले बलान बिहुल गाउँपालिका–१ स्थित चौकीबाट करिब १ किलोमिटरको दूरीमा चेकजाँचका क्रममा ती सामग्रीसहितको सवारी साधन रोकेको थियो ।
प्रहरीका अनुसार गाडीबाट विभिन्न चार्जेबल उपकरण, विद्युत बल्ब, तथा अन्य फ्रेम लगायतका सामानहरू बरामद गरिएको छ । ती सामानहरू भन्सार नतिरी अवैध रूपमा बेल्ही नाका हुँदै नेपाल भित्र्याइएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।
बरामद गरिएका सबै सामग्री जिल्ला प्रहरी कार्यालयमा बुझाइएको छ । साथै, घटनासँग संलग्न रहेका दुई जना व्यक्तिलाई समेत नियन्त्रणमा लिई आवश्यक कानुनी कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।