२०८३ असोज २६ गते सोमवार / Oct 12 , 2026 , Monday
२०८३ असोज २६ गते सोमवार

केवाइसी अपडेटको बहानामा ५० लाख ठगी, तीन जना पक्राउ

Nada
सत्येन्द्र प्रताप सिंह
२०८३ असोज २६ गते १८:१७
Shares
केवाइसी अपडेटको बहानामा ५० लाख ठगी, तीन जना पक्राउ

रौतहट : बैंक तथा डिजिटल वालेटको केवाइसी अपडेट गर्ने बहानामा सर्वसाधारणबाट करिब ५० लाख रुपैयाँ ठगी गरेको आरोपमा एक भारतीय नागरिकसहित तीन जना पक्राउ परेका छन् ।

ncell

जिल्ला प्रहरी कार्यालय रौतहटले सोमबार पत्रकार सम्मेलन गरी पक्राउ परेका तीन जनालाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा भारतको बिहारस्थित सीतामढीका २४ वर्षीय मोहम्मद साहिल र २२ वर्षीया सलोनी कुमारी सोनी तथा रौतहटको गौर नगरपालिका–५ का १८ वर्षीय नितेश कुशवाहा छन् ।

प्रहरीका अनुसार उनीहरूलाई असोज २३ गते गौर नगरपालिका–३ को पोखरिया टोल र वडा नं. ५ कोइरी टोलबाट पक्राउ गरिएको हो । हालसम्म यस घटनासम्बन्धी २२ वटा उजुरी परेका छन् भने वित्तीय अनुसन्धानबाट ४९ लाख ८७ हजार ३३३ रुपैयाँ ठगी भएको खुलेको प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिए ।

No description available.

प्रहरीले पक्राउ परेकाहरूको साथबाट एक लाख ६२ हजार २१० रुपैयाँ नेपाली र तीन हजार २३६ रुपैयाँ भारतीय नगद, सात थान मोबाइल, ११ थान सिमकार्ड, एटिएम कार्ड, चेकबुक, बैंक भौचर तथा अन्य डिजिटल र कागजी प्रमाण बरामद गरेको जनाएको छ । बरामद सामग्रीमा विभिन्न बैंकका १६ हजार र २० लाख रुपैयाँका चेकसमेत छन् ।

प्रारम्भिक अनुसन्धानअनुसार गिरोहले बैंक तथा डिजिटल वालेटका कर्मचारी भएको भन्दै फोन गर्ने, सेवा अवरुद्ध हुने डर देखाउने र अपरिचित एप डाउनलोड गर्न वा मोबाइलको स्क्रिन सेयर गर्न लगाउने गरेको थियो । त्यसपछि पीडितको बैंकिङ पहुँच नियन्त्रणमा लिएर रकम अन्य खातामा स्थानान्तरण गर्ने गरेको प्रहरीको भनाइ छ ।

घटनामा अन्य व्यक्तिको संलग्नता र ठगी गरिएको रकमको कारोबारबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरूमाथि ठगी तथा संगठित अपराधसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ ।

प्रहरीले केवाइसी अपडेटका नाममा आउने अपरिचित फोनमा विश्वास नगर्न, अनधिकृत एप डाउनलोड नगर्न तथा ओटीपी, पिन र पासवर्डजस्ता गोप्य विवरण कसैलाई नदिन सर्वसाधारणलाई आग्रह गरेको छ ।

ताजा खबर

सम्बन्धित खबर