काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) का नेता तथा पूर्वसांसद अशोक यादवले मधेश कुनै न कुनै दिन नेपालबाट अलग हुने भन्दै आपत्तिजनक अभिव्यक्ति दिएका छन् । नेपाल प्रहरीले पक्राउका लागि पक्राउपूर्जी जारी गरेपछि फरार रहेका यादवले भिडियो सन्देशमार्फत आपत्तिजनक अभिव्यक्ति दिँदै भारतीय पक्षसँग सहयोगको याचना गरेका छन् ।
"मधेश आज नभए भोलि नेपालबाट अलग हुन्छ, म रहुँ या नरहुँ," भिडिओ सन्देशमा उनले भनेका छन् । ‘जय बिहार, जय नेपाल, जय भारत’ भन्ने उद्घोषसहित सुरु भएको भिडियोमा यादवले नेपालमा मधेशीमाथि दमन र शोषण हुँदै आएको आरोप लगाएका छन् । उनले भने, "यी नस्लवादी, खसवादीहरूले मधेशीलाई दोस्रो दर्जाको नागरिक बनाएका छन् ।"
भिडियोमा यादवले भारतको बिहार राज्यका प्रहरी र प्रशासनसँग आफूलाई पक्राउ नगर्न आग्रह गरेका छन् । "नेपालका एसपीको आग्रहमा कुनै पनि कदम नउठाउनु," भन्दै उनले सितामढीका एसपी र अन्य अधिकारीलाई अनुरोध गरेका छन् ।
उनले भनेका छन्, "बिहारका छोरीहरू जसको नेपालमा विवाह हुन्छ, ती महिलाहरूको र उनीहरूका सन्तानको नागरिकता बन्दैन। म त्यसविरुद्ध लड्दैछु ।"
सर्लाहीका तत्कालीन प्रहरी प्रमुख (एसपी) योगेन्द्र कुमार खड्कालाई टेलिफोनमा धम्की दिएको आरोप लागेपछि फरार भएका यादवले भिडियोमा आफूलाई पक्राउ गर्न खोज्ने प्रहरीले "गुण्डागर्दी" गरेको दाबी गरेका छन् ।
"म प्रहरी कार्यालय पुगेपछि एसपीले मलाई ‘साले’ भनेर गाली गरे । मैले पनि आन्दोलनकारी हुँ, केही शब्द निस्किए," उनले भने । उनले प्रहरी प्रशासनले राति कार्यालय खोलेर कमिसन उठाउने र आफन्तको घरमा छापा मारेको आरोप समेत लगाएका छन् ।
यादवले आफू ‘मधेश जनविद्रोह’को अभियन्ता भएको बताउँदै राजनीतिक कारणले आफूलाई निशाना बनाइएको दाबी गरेका छन् । उनले नेपालमा आफूजस्ता आन्दोलनकारीमाथि दमन भइरहेको र भारतले यस्ता आन्दोलनकारीलाई सधैं शरण दिँदै आएको दाबीसमेत गरेका छन् ।